लघुकथा: पुस्तान्तरण

       ✍️ मुरारीराज मिश्र

“मरें नि बाबा !” जङ्गलभित्र आवाज गुञ्जियो । 

चरिरहेका खरायोका बथान आवाज आएतिर दाैडिए । रक्ताम्य टाउको समातेर एउटा खरायो आँपकाे रुखकाे छेउमा लडिरहेको थियो । रुख नजिकैको चाैरमा बाँदरका झुन्ड पाकेका आँप स्वाद लिएर चुसिरहेका थिए ।

“कसरी टाउको फुट्याे हँ तेरो ?” बुढा खरायोले घाइतेलाई साेधे ।

“यता खेल्दै थिएँ, यी बाँदरले आँप झार्न हानेका ढुंगाको झटाराेले लागेर फुट्याे ।” घाइतेले जवाफ दियाे ।

“तिमीहरूका कारण यसको टाउको फुटेछ, त्यसैले, ओैषधी उपचार गराउने र क्षतिपूर्ति तिर्नु तिमीहरूकाे कर्तव्य हाे !” बुढा खरायोले बाँदरहरूतर्फ हेर्दै भने ।

देख्दैमा रिसाहा झैं लाग्ने एक ढेडु बाँदर जङ्गियाे “किन गर्ने हामीले ? यसलाई ढुंगा ताकेर हानेका हाैं र ?” 

ढेडुकाे जवाफमा सहमति जनाउँदै सबै  बाँदरहरू गलल्ल हाँसे ।

“हेर बाबु, आखिर याे घटना तिमीहरूको कारणले नै भएको हाे । जिम्मेवारी त लिनैपर्छ नि !” बुढा खरायोले सम्झाउँदै भने ।

“हाम्राे उद्देश्य आँप झार्नु थियो, झारियाे । अरू कताकता के-के भयाे, कसले कसलाई के-के गरे हामीलाई त्यसको के मतलव ?” ढेडुले आँपकाे बाेक्रा छाेडाउँदै भन्याे । 

“आज थाहा भयाे; आफू कारण बनेर घटेको घट्नाबाट भरपूर फाइदा लिने तर त्यसले पारेको हानी-नाेक्सानीकाे जिम्मेवारी लिने सामान्य नैतिकता र आँट भने पटक्कै नदेखाउने चरित्र, मानिसले आफ्नै पुर्खाबाट पाे सिकेको रैछ !” बुढा खरायोले खुइय्य गर्दै भने ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: