हरित भविष्यको सन्देश बोकेर साइकल यात्रामार्फत् विश्व जोड्दै : शुभप्रसाद शर्मा
✍️ मुरारीराज मिश्र
जलवायु परिवर्तन आज विश्व मानवताकै साझा चुनौती बनेको छ। पृथ्वीको तापक्रम वृद्धिसँगै हिमनदीहरू पग्लिरहेका छन्, जैविक विविधता सङ्कटमा परेको छ र प्राकृतिक विपत्तिहरूको आवृत्ति बढ्दै गएको छ ।
हालै संयुक्त राष्ट्र महासभाले हरितगृह ग्यास उत्सर्जन घटाउने तथा विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा राष्ट्रहरूको दायित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ । अन्तर्राष्ट्रिय न्यायालयले निर्दिष्ट गरेका जलवायु सम्बन्धी दायित्वहरूको पालना गर्न राष्ट्रहरूलाई आह्वान गर्ने उक्त प्रस्तावको पक्षमा नेपालले पनि समर्थन जनाएको छ । यस घटनाले जलवायु संरक्षण अब केवल नैतिक आग्रह नभई विश्वव्यापी उत्तरदायित्वको विषय बनेको स्पष्ट संकेत दिएको छ ।
यही विश्वव्यापी चेतना र दायित्वलाई व्यवहारमा उतार्ने प्रयासका रूपमा नेपालका शुभप्रसाद शर्माले सञ्चालन गरिरहेको ‘भवानी शुभयात्रा विश्वव्यापी साइकल यात्रा तथा वृक्षारोपण अभियान’ विशेष रूपमा उल्लेखनीय देखिन्छ । सम्मेलनका भाषण र कागजी प्रतिबद्धताभन्दा बाहिर निस्केर उनले वातावरणीय सन्देशलाई कर्ममा रूपान्तरण गर्ने साहसिक अभियान अघि बढाएका छन् ।
साइकल आफैंमा वातावरणमैत्री यातायातको प्रतीक हो । जीवाश्म इन्धनको प्रयोग नगरी मानवशक्तिको उपयोग गर्ने यस साधनमार्फत न्यून-कार्बन जीवनशैलीको सन्देश प्रवाह गर्न सकिन्छ । यही विश्वासका साथ शर्माले १४ अप्रिल २०२२ मा काठमाडौं महानगरपालिका वडा नं. ७ मा प्रतीकात्मक वृक्षारोपण गरी अभियानको औपचारिक शुभारम्भ गरेका थिए । अभियानको सुरुवातदेखि हालसम्म उनले एसिया, युरोप र अफ्रिकाका २७ देशहरूमा करिब २८ हजार किलोमिटर साइकल यात्रा पूरा गरिसकेका छन् ।
फुटबल खेलाडी, सामाजिक अभियन्ता तथा सङ्गीतप्रेमी व्यक्तित्वका रूपमा परिचित शर्माको यात्रा नेपालबाट सुरु भएर भारत, बङ्गलादेश, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया, सिङ्गापुर र फिलिपिन्स हुँदै युरोपका विभिन्न देश तथा अफ्रिकाका केन्या, तान्जानिया, युगान्डा, रुवान्डा, बुरुन्डी र मलावीसम्म फैलिएको छ । यो केवल दूरी नाप्ने यात्रा होइन; वातावरणीय चेतना, मानवीय सम्बन्ध र विश्व नागरिकताको भावना जोड्ने अभियान पनि हो ।
यस अभियानको अर्को महत्त्वपूर्ण पक्ष वृक्षारोपण हो । विभिन्न देशका स्थानीय समुदाय, नगरपालिका, विद्यालय, दूतावास तथा सार्वजनिक संस्थाहरूसँगको सहकार्यमा सत्तरीभन्दा बढी रूखहरू रोपिएका छन् । विद्यालयस्तरमा वातावरणीय शिक्षा, स्थानीय समुदायसँग अन्तरक्रिया तथा सार्वजनिक स्थानहरूमा हरियाली विस्तारमार्फत अभियानले वातावरण संरक्षणलाई जनसहभागितासँग जोड्ने प्रयास गरेको छ ।
तर यो अभियानको वास्तविक शक्ति केवल वृक्षारोपण वा साइकल यात्रामा मात्र सीमित छैन; यसको गहिरो मानवीय आयाम पनि उत्तिकै प्रेरणादायी छ । मलेसियाको सीमावर्ती शहर बुकित कायु हितामबाट क्वालालम्पुरतर्फको करिब ४५० किलोमिटर लामो यात्राका क्रममा शर्माले एउटा अविस्मरणीय अनुभव बटुले । राजमार्गमा साइकल चलाउन निषेध गरिएपछि उनी अनजान जङ्गली बाटोमा पुगे । बाटो हराएको अवस्थामा एक चिनियाँ मूलकी मलेसियाली महिला र उनका छोराले उनलाई सही मार्ग देखाइदिए । भाषा, संस्कृति र राष्ट्रियता फरक भए पनि मानवताको भावना साझा हुने तथ्य त्यस घटनाले उजागर गर्यो ।
यात्राको अर्को क्षण अझ भावुक बन्यो । सडक किनारमा भेटिएका एक अपरिचित युवकले सुरुमा केवल एउटा सेल्फी खिचे । केहीबेरपछि भने स्कुटरमा फर्केर आएर उनले शर्माको हातमा १० रिङ्गेट राख्दै केवल यत्ति भने - “Drink water ।” रकम ठूलो थिएन, तर त्यसको मानवीय मूल्य अपार थियो । त्यो सहयोग कुनै दान थिएन; त्यो अपरिचित मनभित्रबाट निस्किएको करुणा र सद्भावको अभिव्यक्ति थियो । त्यस घटनाले शर्मालाई गहिरोसँग स्पर्श गर्यो । उनले महसुस गरे - संसार केवल सिमाना, भाषा र राष्ट्रियताले बनेको छैन; मानिसहरूलाई जोड्ने एउटा अदृश्य मानवीय शक्ति पनि छ ।
वास्तवमा, यस्ता अनुभवहरूले अभियानलाई वातावरणीय आन्दोलनभन्दा अझ व्यापक मानवीय अभियानका रूपमा स्थापित गर्छन् । जलवायु परिवर्तनविरुद्धको संघर्ष प्रकृतिको संरक्षण मात्र होइन, मानिस र मानिसबीचको सहकार्य, विश्वास र साझा जिम्मेवारीको विषय पनि हो । वातावरणीय न्यायको आधारमा निर्माण हुने भविष्य मानवता र करुणाबाटै सम्भव हुन्छ ।
अभियानले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय समर्थन प्राप्त गरेको छ । काठमाडौं महानगरपालिका, नेपाल सरकारका वन तथा वातावरण मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा विभिन्न देशस्थित नेपाली दूतावासहरूले नैतिक र प्रशासनिक सहयोग प्रदान गरेका छन् । बहराइन, युगान्डालगायत विभिन्न देशहरूमा स्थानीय जनप्रतिनिधि र नगरप्रमुखहरूको उपस्थितिमा सम्पन्न वृक्षारोपण कार्यक्रमहरूले अभियानलाई थप विश्वसनीय र प्रभावकारी बनाएका छन् ।
अब अभियानको आगामी चरण क्यानाडा र पश्चिम अफ्रिकातर्फ केन्द्रित हुने योजना छ । विद्यालयस्तरीय वातावरणीय शिक्षा, युवा सहभागिता, सामुदायिक वृक्षारोपण तथा स्थानीय सरकारहरूसँगको सहकार्यलाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ । आज जब विश्व हरित विकास, दिगोपना र वातावरणीय न्यायको खोजीमा छ, तब शुभप्रसाद शर्माको यो अभियान एउटा प्रेरक उदाहरणका रूपमा उभिएको छ ।
महादेशहरूलाई साइकलका पाङ्ग्राले जोड्दै र रूखका बिरुवाहरू रोप्दै अघि बढिरहेको यो अभियानले एउटा गहिरो सन्देश दिन्छ - “जलवायु परिवर्तनविरुद्धको संघर्ष केवल अन्तर्राष्ट्रिय घोषणापत्र वा सरकारी नीतिले मात्र जितिँदैन; त्यो त व्यक्तिगत प्रतिबद्धता, निरन्तर कर्म र मानवताप्रतिको विश्वासले पनि सम्भव हुन्छ ।” हरित भविष्यको सपना देख्नेहरूका लागि यो अभियान केवल यात्रा होइन, विश्वलाई जोड्ने एउटा जीवन्त आन्दोलन पनि हो ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं )





Comments
Post a Comment