`भोगाइबाट जन्मिएको जीवनबोध´

कृति परिचय :

मानिसको जीवन अनेक अनुभव, भोगाइ, संघर्ष र सिकाइहरूले भरिएको हुन्छ । ती अनुभवहरू समयसँगै स्मृतिमा सीमित भएर हराउन पनि सक्छन् । आफ्ना जीवनका महत्त्वपूर्ण घटना, अनुभूति र स्मृतिलाई शब्दमा उतारेर सुरक्षित राख्ने प्रयत्न नै संस्मरण लेखन हाे ।

संस्मरण व्यक्तिगत स्मृति मात्र होइन, समय, समाज र अनुभवको दस्तावेज पनि हो । यसले व्यक्तिको जीवनयात्रालाई मात्र होइन, त्यस समयको सामाजिक-सांस्कृतिक यथार्थलाई पनि उजागर गर्छ । तसर्थ यसलाई महत्त्वपूर्ण साहित्यिक विधा मानिन्छ । 

यसै क्रममा, नेपाली साहित्यिकफाँटमा जीवनका भाेगाइहरू नामक एउटा संस्मरण कृति थपिएको छ । ७३ बर्षिय साहित्यानुरागी समाजसेवी किरण शर्माद्वारा लिखित याे पुस्तक, उनको बाल्यकालदेखि विद्यार्थी, जागिरे, राजनीतिक र पारिवारिक जीवन भाेगाइको एकमुष्ठ दस्तावेज हो ।

मानिसले जीवनमा भोगेका सुख-दुःख, सफलता-असफलता, भेटघाट र घटनाहरूलाई लेखेर राख्दा ती भावी दिनका लागि स्मरणीय अभिलेख त बन्छन् नै, यसरी लेखिएका संस्मरणले कुनै व्यक्तिको जीवनयात्रासँगै त्यो समयको सामाजिक परिवेश, संस्कार र जीवनशैलीको चित्र पनि प्रस्तुत गर्छ । 

संस्मरण आत्मअभिव्यक्तिको एउटा सशक्त माध्यम पनि हो । लेखनले मन हल्का बनाउनुका साथै आत्मसन्तुष्टि र आफ्नै जीवनलाई नयाँ दृष्टिले बुझ्ने अवसर पनि दिन्छ । यसरी संस्मरण लेखन, आत्मबोध र आत्मचिन्तनको प्रक्रिया पनि बन्न सक्छ ।

व्यक्तिका निजी अनुभव र भोगाइहरूले समाजलाई पनि महत्वपूर्ण पाठ दिन सक्छन् । उसले जीवनमा भोगेको संघर्ष, गरेको गल्ती वा प्राप्त गरेको सफलता अरूका लागि सिकाइ र प्रेरणा बन्न सक्छ । त्यसैले संस्मरणलाई जीवनका व्यावहारिक अनुभवहरू बाँड्ने माध्यम पनि मान्न सकिन्छ । 

संस्मरणको अर्को महत्वपूर्ण पक्ष भनेको नयाँ तथा भावी पुस्ताका लागि मार्गदर्शन गर्नु हो । अघिल्लो पुस्ताले हाम्रो लागि केही गरेनन् भन्ने साेचाइमा हुर्किंदै गरेका नयाँ पुस्ताले यी अनुभवहरू पढ्दा उसले विगतको यथार्थता बुझ्न सक्छ । आफ्ना अग्रजहरूले कसरी संघर्ष गरे, समाज कसरी परिवर्तन भयो र जीवनका मूल्यहरू के थिए भन्ने कुरा थाहा पाउँछन् । यसले भावी पुस्तालाई जीवनप्रति जिम्मेवार र सचेत बनाउने काम पनि गर्छ ।

त्यसैगरी संस्मरणले कुनै समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक अवस्थालाई पनि अभिव्यक्त गर्छ । व्यक्तिगत दृष्टिकोणबाट लेखिएको भएपनि एउटा कालखण्डको जीवनशैली, सोच र घटनाहरूको सजीव चित्र प्रस्तुत हुने भएकाले संस्मरणलाई इतिहास र समाज अध्ययनका लागि पनि उपयोगी सन्दर्भ सामग्री मानिन्छ । 

पुरानो समय सम्झंदै शर्माले लेखेका छन् - “त्यो बेलाको परम्परा कस्तो थियो भने भात खुवाइ (अन्नप्राशन), व्रतबन्ध जस्ता शुभ कार्यहरूमा साकाहारी भोजन मात्र पकाइन्थ्यो । पूर्खाहरूले बचाएर ल्याएको परम्परा, संस्कृतिलाई अहिले हामीले ध्वस्त पारिसक्यौँ ।” हुन पनि, अब त मांस-मदिरा विना कुनै पनि भाेज हुनै छाडिसक्याे । हुँदाहुँदा क्रियाकर्मकाे भाेज समेत पार्टी प्यालेसमा हुन थालेको छ हिजोआज । 

बुबाको मृत्युु सम्झेर उनले लेखेका कुरा - “मान्छे किन मर्छ ? कसरी मर्छ भन्ने कुरा त्यो बेलासम्म मेरो चेतनामा थिएन । घर पुग्दा बाको अनुहार पनि ढाकेर तुलसीको मोठमा सुताइराखेको थियो । र, मैले त्यही दिन बुझै मान्छे मर्नु पनि पर्दो रहेछ ।” मा गहिरो आत्मवाेध र दार्शनिक चेत छ । 

यसैगरी, त्यसबेलाको समाजमा श्रीमतीले श्रीमानको गाेडाकाे पानी खानुपर्ने, गाेडा ढाेग्नुपर्ने र थालमा श्रीमानले छाेडेकाे जुठोपुराे खानुपर्ने चलनलाई लत्याएर उनले सामाजिक कुरीति बिरुद्ध पाइला बढाएका रहेछन् । यस्ताे काम गर्न त्यतिबेला निकै ठूलो छाती र साहस चाहिन्थ्याे । यसलाई नारी-पुरुषबीचको विभेदरहित समानता हुनुपर्छ भन्ने कुराको वकालत पनि मान्न सकिन्छ ।

२७ महिने भाइकाे मृत्युुकाे समयमा एक विधवा नारी र अबाेध बालकले समाजबाट सान्त्वना र मानवीय सहयोग समेत नपाएको कुरा स्मरण गर्दै पुस्तकमा लेखिएको छ - “घाटको कर्म सकिए पछि आमा केही बेर घाटमै सुस्ताउनु भयो । रुनु भयो । अँध्यारो भए पछि हामी घर भित्र पस्यौं । हाम्रो आंसु बैगुनी समाजले देख्न पाएन । धेरै गुमाउँदा पनि आँसु लुकाउन पाउँदा सन्तोष लाग्ने रहेछ !” याे भनाइले पाठकलाई निकै भावुक बनाउँछ ।

बाैद्धिक चाेरीबारे पनि पुस्तकमा उल्लेख छ । नेपाली काँग्रेसका नीति तथा सिद्धान्त समितिकाे सदस्यकाे हैसियतमा महिनाैं लगाएर बडाे दुखले आफूले तैयार पारेको प्रतिवेदनकाे ड्राफ्ट “मलाई राम्रोसँग टाइप गर्न आउँछ म टाइप गरेर ल्याउँछु” भनेर समितिकै अर्का सदस्यले लिएर गएकामा केही समयकाे सम्पर्कविहीनतापछि उनै सदस्यले मैले तयार गरेको हुँ भनेर पार्टीमा प्रतिवेदन बुझाएछन् । यी र यस्तै अवसरवादी व्यवहारबाट आजित भएर उनलाई  राजनीतिप्रति विकर्षण पैदा भएको देखिन्छ ।

जागिरे जीवन र राजनीतिक विकर्षणपछि लेखक शर्मा हाल: पूर्णरूपमा समाजसेवामा सक्रिय छन् । टाेलछिमेक लगायत धादिङ र मकवानपुरका दुर्गम भेगका सामुदायिक विद्यालयमा अध्ययनरत चेपाङ र अन्य पिछडिएका विपन्न तथा सीमान्तीकृत विद्यार्थीहरूकाे शैक्षिक उत्थानका लागि उनी विगत १० बर्षदेखि निरन्तर सक्रिय छन् । उनी र उनको समूहबाट करिव ३०० बालबालिकाले ढुक्कसँग पढ्न पाइरहेका छन् । संक्षेपमा भन्ने हाे भने, राज्यले लिनुपर्ने दायित्व उनले थाेरैमात्रामा भएपनि कम गरिदिएका छन् ।

शर्मा गीत, कविता र कथाहरू पनि लेख्छन् । उनका रचनाहरू मधुपर्क लगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । देश-विदेशका कार्यक्रमहरूमा उनले साहित्यिक प्रस्तुति दिएका छन् । जसबाट उनी भित्र बहुमुखी प्रतिभा रहेको सहजै बुझ्न सकिन्छ । 

केही गर्ने चाहना हुनुपर्छ त्यसपछि उमेर वा भूगोल केहीले छेक्दैन भन्ने बिचार राख्ने शर्मा, अहिले देशमा बुढाहरूबाट केही हुन्न युवा नै सबै थाेक हाे भन्ने भाष्य स्थापित हुँदै गएकोमा चिन्ता ब्यक्त गर्छन् । हुन पनि, मानिसले व्यवहारिकता भाेगेर नै धेरै अनुभव हासिल गर्छ । त्यसैले अनुभव भनेको प्रमाणपत्र विनाको बिशिस्ट याेग्यता हाे । र, यसकाे सक्दाे सदुपयोग विवादरहीत ढंगले गर्नुपर्ने कुरामा कसैको दुईमत हुनु दुर्भाग्यपूर्ण हुन्छ ।

पुस्तकभित्र धेरै उल्लेखनीय र मननीय कुराहरू छन् । जुन याे छाेटाे आलेखमा समेट्न सकिन्न । अन्त्यमा, आफ्नो वैवाहिक स्वर्णमहाेत्सवकाे अवसरमा नवपुस्ता र समाजलाई मार्गनिर्देशन गर्नसक्ने पुस्तक प्रकाशित गरेकामा लेखक किरण शर्मा बधाईका पात्र बनेका छन् । आगामी दिनमा पनि उनका यस्तै महत्त्वपूर्ण कृतिहरू पढ्न पाइयोस् । यसका लागि लेखकलाई धेरै धेरै शुभकामना ।

✍️ मुरारीराज मिश्र,

उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७




Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"