Posts

कृष्ण भजन

लुकीलुकी कहाँ जान लाग्याै भन गाेपी ! दही मखन भरिएको ठेकीहरु बाेकी !! चाेरी खायाे दही भनि माता यशाेधालाई ! किन लायाै चुक्ली सबले, गाेकुलमा आई !! पर्ख, तिमीहरूलाई त्यसै कहाँ छाेड्छु ! दही मखन भरिएको ठेकी सबै फाेड्छु !! बजाउन्न आज देखि बाँसुरी म कहिले ! नुहाउन्न यमुनामा भनिदिएँ अहिले !! अब तिमीहरू संग गाई हेर्न जान्न ! बाेल्दिन म खेल्दिन म केही पनि खान्न !! कृष्णजीका कुरा सुनी गाेपीहरु सारा ! रुन थाले, आँखाबाट झारी अश्रुधारा !! भन्न लागे, गल्ती भयाे कृष्ण माफी देऊ ! तिमी बिना बाँच्नु ब्यर्थ बिन्ती हाँसिदेऊ !! फाेड अब ठेकीहरु दही मखन् खाऊ ! लठ्ठपार्ने कर्णप्रीय बाँसुरी बजाऊ !! हाँसे कृष्ण, दही मखन् खाए मख्ख पर्दै !! नाच्न थाले गाेपीहरु कृष्णलीला हेर्दै !!                                      ✍️ मुरामि

पाँच हाइकु

१. मान्छेले जित्यो  बुनाई प्रतिस्पर्धा  हार्‍याे माकुराे ! २. कठै ! छेपाराे के जित्थ्याे मान्छेलाई  रंग फेर्नमा ! ३. ब्वांसाे चरित्र  हावी भयाे मान्छेमा काेखामा दाँत ! ४. बैगुनी मान्छे  कुकुरबाट सिक्दैन ईमान्दारीता ! ५. ओझेलमा छन् कमिला र माहुरी  बारुलो ठालू ! *****साहित्यपाेष्टमा प्रकाशित ******

झुला गीत

Image
दक्षिणायण, बर्षा ऋतु, साउनकाे महिना । चारैतिर हरियाली, गाेकुल वृन्दावनमा ।। नानारंगी फूलहरु वनैभरी फुले । मीठा मीठा फलहरु, बाेटैभरी झुले ।। पुष्पकाे झुलामा, राधाकृष्ण संगै बसेर । झुल्दैछन् सुस्तरी, हेर्छन् गाेपी मख्ख परेर ।। यमुनाजी उर्लि उर्लि, हेर्छिन् कृष्णलीला । गाेपी-ग्वाला जम्मा हुन्छन्, नगरेर ढिला ।। पशुपंक्षी, रुखपात, लठ्ठ परि हेर्छन् । देवहरु स्तुति गर्दै, पुष्पवृष्टि गर्छन् ।। भुलेछन् भंवरा, वृन्दावनकाे फूल फूलैमा । झुले है श्रीकृष्ण, राधासंग पुष्प झुलामा ।। दही-नाैनी चाेरी खाने, ठेकी फुटाउने । कैले काँही गाेपिनीका, वस्त्र लुकाउने ।। अनेक् अनेक् लीला गरि, दुष्ट नाश गर्ने । उनै एक परमात्मा, सबै हर्ने भर्ने ।। कदमकाे रुखैमा, राधाकृष्ण झुल्छन् हाँसेर । साथ दिन्छन् संगीले, गीत गाई संगै नाचेर ।। पुष्पकाे झुलामा, राधाकृष्ण संगै बसेर । झुल्दैछन् सुस्तरी, हेर्छन् गाेपी मख्ख परेर ।। भुलेछन् भंवरा, वृन्दावनकाे फूल फूलैमा । झुले है श्रीकृष्ण, राधासंग पुष्प झुलामा ।। कदमकाे रुखैमा, राधाकृष्ण झुल्छन् हाँसेर । साथ दिन्छन् संगीले, गीत गाई संगै नाचेर । यही ह...

प्रार्थना

Image
हर्दम् याे चित्त मेराे, लागाेस् प्रभु चरणमा । अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।। साह्रै छु सठ् प्रभु म, जान्दिन भाव-भक्ति । आफैंमा छु रमेकाे, ज्ञान् छैन एक-रत्ति ।। सुन्छु प्रभु तिमी छाैं, यहाँ हरेक कणमा । अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।। बस्छु पूजा भनेर, मन डुल्छ यत्रतत्र । जप् गर्छु चिम्लि आँँखा, देखिन्छ सब सचित्र ।। एकाग्रता जगाऊ, चञ्चल् याे मुढ मनमा । अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।। हर्दम् याे चित्त मेराे, लागाेस् प्रभु चरणमा । अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा । ✍️ मुरामि देवाधिदेव महादेव 

ईश्वर प्रार्थना

'यस धर्तीमा पाप बढेर, संकट पर्ला जैले' । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ? ब्याप्त सबैतिर हत्या हिंसा, लाेभ घमण्ड बढ्यो । लुटाैं कसरी अरुकाे भन्ने, मनुमा साेच गढ्याे ।। भयाे मनुष्य, आफु बाँच्न मै, सार्थक ठान्ने अैले । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ? भुल्याे मनुले पूजापाठहरु, भुल्याे संस्कृति धर्म । मात्र ध्यान भाे धनमा उस्काे, बिर्स्याे मानव कर्म ।। स्वार्थी अति भाे मानवजाती, थिएन यस्तो पैले । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ? सृष्टिभरिकाे उत्तम मान्छे, अतिशय क्रुर भयाे । माया, ममता, दया बिर्सियाे, मदले चुर भयाे ।। 'आऊ प्रभु अब धर्म बचाऊ', बिन्ति चढाएँ मैले । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ? 'यस धर्तीमा पाप बढेर, संकट पर्ला जैले' । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ?                                         ✍️ मुरामि

पाँच हाइकु

~एक~ आँखाको भाखा बुझ्नु नि कहिले त बाेल्नै पर्छ र ? ~दुई~ रक्सीले छुन्न प्यून पाए ती ओठ मात्थ्याे कि मन ! ~तीन~ भैगाे पर्दैन  त्यसै राम्री देखिन्छाै शृङ्गार किन ? ~चार~ तिम्रो सामीप्य  प्रेमका कुराहरु छर्लङ्गै रात ! ~पाँच~ बगैंचा भित्र  तिमीलाई देखेर  लजाए फूल !     ~~~       ✍️ मुरारीराज मिश्र नाेट: साहित्यपाेष्टमा प्रकाशित यी हाइकुहरुलाई याे लिंक https://sahityapost.com/2020/07/10611/ मा गएर पनि पढ्न सकिन्छ ।

"अमरावती कान्तिपुरी नगरी"

Image
यहाँ राजनीति, बिजनेस बन्यो, न लगानी कुनै, बसी नाेट गन्याे । भयाे राष्ट्र निजी, धनसार सरि, अमरावती कान्तिपुरी नगरी ।। छ संधै मुखमा, बकवास कुरा, न छ अध्ययनै, बन्याे बिज्ञ पुरा । जनता गफ सुन्छन, जिल्ल परी, अमरावती कान्तिपुरी नगरी ।। न कुनै छ खुबी, न छ तालिम नै, न छ बाेली मीठो, न त सीप कुनै । तर छन् पदमा, अति याेग्य सरी, अमरावती कान्तिपुरी नगरी ।। छ त केवल दृष्टि, संधै धनमा, कसरी लुट्ने, हरदम मनमा । न छ पीर बिकास, गराैं कसरी, अमरावती कान्तिपुरी नगरी ।। बढ्दैछ यहाँ, महंगी प्रतिदिन, न छ शान्ति कतै, खतरा छिनछिन् । पिंधिए जनता, घुन-घट्ट सरी, अमरावती कान्तिपुरी नगरी ।। अति दुर्लभ भाे, यहाँ मानवता, सब स्वार्थी भए, न दया, ममता । छ चकित, थकित, दुखी बिचरी, अमरावती कान्तिपुरी नगरी ।।                       ✍️ मुरारीराज मिश्र              ~~~~~ नाेट: साहित्यपाेष्टमा प्रकाशित याे कविता यस लिंकमा https://sahityapost.com/2020/06/10118/ पनि पढ्न सकिन्छ ।