Posts

लघुकथा : हतार

Image
            ✍️ मुरारीराज मिश्र, "तीन बजे देखि निम्तोमा बाेलाएर पाँच बजिसक्दा पनि बार नखाेल्न त भएन नि !" छिमेकीको छाेराकाे विवाहको पार्टीमा साथीहरूसंग बसेर कुखुराको सपेटाे चपाइरहेकाे महेश एक्कासी भुत्भुतायाे । "साँझ परेकै छैन ! रात सिङ्गै बाँकी छ ! व्यर्थै किन हतारिएकाे हँ तँ !" दिनेशले हाँस्दै साेध्याे । "जरुरी काममा जानु छ, त्यसैले यसाे एकदुई पेग लगाएर निस्किहालुँ भनेको, हतारै भैसक्याे ! तेरो कुरा त छिमेकीले मान्छ क्यार ! बरु, बार छिटै खाेल्ने ब्यवस्था मिला न गएर !" महेशले अनुरोध गर्‍यो । "अहँ, जान्न म ! एकैछिन कुुर् न, खाेलिहाल्छन् नि ! हैन, हतारिएर हिँडिहाल्नुपर्ने त्यस्ताे कारण चाँहि के पर्‍यो हँ तेराे ? दिनेशले जवाफसंगै प्रश्न तेर्स्यायाे । "कति कुर्नु भन्या ! अहिले बेलुका पल्लो गाउँमा सत्यनारायणकाे पूजा गराईदिन जानु छ क्या मलाई !" महेशले हतारिंदै भन्याे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लहरा मा प्रकाशित

ललितपुरस्थित कैलाश पर्वतकाे सेरोफेरोमा

Image
 यात्रा वृत्तान्त:                                  ✍️ मुरारीराज मिश्र, पट्यारलाग्दाे एकनासे दैनिकीबाट थाेरै समय भएपनि छुटकारा पाउँदा मन निकै प्रफुल्लित हुन्छ । तर, गरिखानु पर्ने  बाध्यताले संधै याे सम्भव हुँदैन । तापनि, यात्राले उर्जा दिने भएकाले माैका मिल्दा घुमिहाल्नु पर्छ भन्ने मेरो मान्यता छ । गत: जेठ महिनामा दुईदिन कालिन्चाेक पुगेर आईएकाे थियोे । दशैंकाे समयमा रारा जाने सम्पूर्ण प्रवन्ध मिलाएर पनि जाने तीनदिन अघि मात्र अकस्मात् साे भ्रमण कार्यक्रम रद्द गर्नु परेको थियोे । त्यसबेला, गाडीलाई दिएकाे पेश्की फिर्ता लिन र भ्रमण व्यवस्थापकलाई मनाउन कम्ती गाह्रो परेको थिएन । त्याे सम्झँदा अहिले पनि नमज्जा लाग्छ । पछिल्लोपटक कार्तिकमा एकपटक पलान्चाेकी भगवती र एकपटक खाँडादेवीकाे एकदिने यात्रापछि सामुहिकरुपमा कतै जाने अनुकूल जुरेको थिएन । यस्तैमा, भाउजु शर्मिला मिश्रले "सन्तानेश्वर महादेव मन्दिरमा एकहप्तापछि लाखबत्ती बाल्ने भएका छाैं, त्याे दिन बिदा मिलाउनुस् है बाबु ! सबैजना बिहानै जानुपर्छ" भन्नु...

लघुकथा: दुरदर्शिता

Image
          ✍️ मुरारीराज मिश्र, "यस्तो अपर्झट बैठक के कामका लागि बाेलाईएकाे हाेला है सर ? फेरि म त नयाँ मान्छे, बैठकमा के पाे भन्नु !" दुईदिन अघि मात्रै नियुक्त कर्मचारी रमेशले बैठक हलतर्फ जाँदै गर्दा, आफ्नो सिनियर शिवरामसँग जिज्ञासा राख्यो । "हाेला नि केही ! तर जेसुकै भएपनि, हामीले छलफलकाे क्रममा आफूलाई लागेको कुरा चाँहि संस्थाकाे हित हेरेर प्रष्ट बाेल्नुपर्छ । चाकडी चाप्लुसीबाट परै रहनुपर्छ ।" शिवरामले सिकाउँदै भने ।  "सरजस्तो अनुभवी ब्यक्तिबाट धेरै सिक्नु छ मैले !" रमेशले पनि उत्साहित हुँदै भन्याे ।  "अमूक संस्थाले उपत्यका बन्दकाे कार्यक्रम राखेको रहेछ ! आउन जान अप्ठ्यारो हुने देखेर मैले भाेलि अफिस बन्द गर्ने बिचार गरेकाे छु, तपाईंहरु के भन्नुहुन्छ ?" बैठकमा हाकिमले साेधे ।  "अत्यन्तै राम्रो बिचार । मेराे पनि यस्तै साेचाई हाे । सबैकाे मर्का बुझ्ने हजुरजस्ताे दुरदर्शी हाकिम पाउनु हाम्रो अहाेभाग्य हाे ।" शिवरामले प्रस्तावकाे समर्थन गर्दै भन्याे । बिदा हुने निर्णय भयाे । सबैले तालि पिटे । बैठक सकियाे । अफिस छुट्टि हुनै लागेको थियोे, अकस्म...

प्रार्थना: चुलियाे अहम्‌ता ...

चुलियाे अहम्‌ता, दाैलत र धनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। बिहानै उठे देखि, मन हुन्न शान्त । याे तेराे, याे मेराे, संधैकाे लडान्त ।। पाउन्न रत्ति, आराम् याे तनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। छुटाउन खाेज्छु  म लाेभी प्रवृत्ति । हरेक दिन बढ्छ, घट्दैन कत्ति ।। डुबाउन लाग्यो, अहाे ! स्वार्थीपनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। आफैं रचेकाे, सेरो र फेराे । सर्वत्र देख्छ, मनले अँधेराे ।। कहाँ मिल्छ शान्ति, भनिदेऊ जनले ! हरि नाम जप्न, भुलेकाे छ मनले ।। ~~~~~~~~~~~~~✍️मुरामि

प्रार्थना : थाहा छैन कहिले हान्छ...

थाहा छैन कहिले हान्छ, यमपाशले धक्का ! अहम् त्यागी बाँच्न सिकाैं, मर्नु पर्छ पक्का ।। हुँदैन है संधैभरी, एकैनासकाे दिन । जे हुनु छ भई नै हाल्छ, व्यर्थै चिन्ता किन ? मानिसको जिन्दगी हाे, कुमालेकाे चक्का । सुखदुःख घुमि-घुमि, आउँछ जान्छ पक्का ।। ठूलो-सानाे, धनी-गरीब, किन भेदभाव ? जानुपर्छ खाली हातै, छाेडाैं रिस-राग ।। धाउनु भन्दा- गुम्बा, मन्दिर, मदिना र मक्का । आफैंभित्र खाेज्न थालाैं, ईश्वर मिल्छन् पक्का ।। थाहा छैन कहिले हान्छ, यमपाशले धक्का ! अहम् त्यागी बाँच्न सिकाैं मर्नु पर्छ पक्का ।। ~~~~~~~~~~~ ✍️ मुरामि ~~~~

लघुकथा : हकदार

Image
✍️ मुरारीराज मिश्र, स्वर्गबाट प्रकाशित हुने दैनिक पत्रिकामा सूचना छापिए बमोजिम, ताेकिएकाे दिन चित्रगुप्तकाे कार्यालयकाे हलमा मानिस जम्मा हुन थाले ।  एक, दुई ... गर्दै हजारौं नेपाली थुप्रिए । सानो हलमा त्यतिका मान्छे अटाउने कुरै थिएन । भित्र नअटेपछि आगन्तुकहरुले आयाेजकलाई घेराउ गरे । "सम्मानका लागि बाेलाएर हामीलाई बस्ने ठाउँ समेत नदिने !" भन्दै नारावाजी र ताेड्‌फाेड् समेत हुनथाल्याे । असहज स्थिति र अराजकता बढ्दै गएपछि चित्रगुप्तकाे मध्यस्थतामा वार्ता टाेली बनेर  तत्कालै छलफल सुरु भयो । "हामीले चारजना सहिदकाे सम्मान कार्यक्रम पाे राखेका हाैं त, तपाईंहरुलाई सम्मान गर्ने भनेर कस्ले भनेकाे थियोे र ?" छलफलकाे क्रममा आयाेजकले भने ।  याे सुनेर आन्दोलनकारी टाेलीकाे प्रतिनिधि कड्किंदै बाेल्याे "हामी पनि सहिद हाैं, त्यसैले सम्मानका हकदार हाैं ! लागूपदार्थ सेवन, लुटपाट, आगजनी, हत्या या सवारी दुर्घटनामा, जसरी मरेपनि हामीलाई सरकारले सहिद घाेषणा गरेकै छ त !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्रकाशित प्रहरीमा प्रेषित 

लघुकथा : मानवीयता

Image
            ✍️ मुरारीराज मिश्र, बाटोमा एकसुरले हिडिरहेकाे अमित, छेउको नालीबाट आईरहेकाे आवाज सुनेर नालीतर्फ माेडियाे । निहुरिएर नालीभित्र हेर्‍यो । अनि, पिठ्युँमा बाेकेकाे झाेला हतारहतार भुईंमा राख्याे । जुत्ता फुकाल्याे । कमिजकाे बाहुला र पाइन्टकाे माेता सार्दै नालीतिर ओर्लियाे । एउटा मानिस अचानक त्यसरी नालीमा पस्न लागेकाे देखेर काैतुहलतापूर्वक मानिसहरु झुम्मिए । भीडबाट एउटाले साेध्याे "हैन, के भयाे किन छिरेको नालीमा ?"  "नालीमा बच्चा खसेछ, निकाल्दैछु" उसले तलतिर ओर्लिंदै जवाफ दियाे । उसको जवाफ सुनेर मानिसहरु "कठै बिचरा, कसको बच्चा रहेछ ! जिउँदै त हाेला नि ?" भनेर विस्मात् मान्दै अझै झुम्मिएर हेर्नथाले ।  एकछिन पछि, कुकुरको सानाे बच्चाे हातमा बाेकेर उ नालीबाट निस्कियाे । नसाेचेकाे दृश्य देखेर मानिसहरू भन्न लागे "जाबो एउटा छाउरो बचाउन पनि त्यस्तो फोहोरमा पस्ने, कति मूर्ख रहेछाै तिमी त !" सहज भावमा उसले भन्यो "छाउरो होइन, मैले मानवीयता बचाएको हुँ ।" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) विमलजीलाई तेस्रो सङ्ग्रहका लागि २०८२-०८-०९ मा प...