लघुकथा : हकदार
✍️ मुरारीराज मिश्र,
स्वर्गबाट प्रकाशित हुने दैनिक पत्रिकामा सूचना छापिए बमोजिम, ताेकिएकाे दिन चित्रगुप्तकाे कार्यालयकाे हलमा मानिस जम्मा हुन थाले ।
एक, दुई ... गर्दै हजारौं नेपाली थुप्रिए । सानो हलमा त्यतिका मान्छे अटाउने कुरै थिएन । भित्र नअटेपछि आगन्तुकहरुले आयाेजकलाई घेराउ गरे । "सम्मानका लागि बाेलाएर हामीलाई बस्ने ठाउँ समेत नदिने !" भन्दै नारावाजी र ताेड्फाेड् समेत हुनथाल्याे ।
असहज स्थिति र अराजकता बढ्दै गएपछि चित्रगुप्तकाे मध्यस्थतामा वार्ता टाेली बनेर तत्कालै छलफल सुरु भयो ।
"हामीले चारजना सहिदकाे सम्मान कार्यक्रम पाे राखेका हाैं त, तपाईंहरुलाई सम्मान गर्ने भनेर कस्ले भनेकाे थियोे र ?" छलफलकाे क्रममा आयाेजकले भने ।
याे सुनेर आन्दोलनकारी टाेलीकाे प्रतिनिधि कड्किंदै बाेल्याे "हामी पनि सहिद हाैं, त्यसैले सम्मानका हकदार हाैं ! लागूपदार्थ सेवन, लुटपाट, आगजनी, हत्या या सवारी दुर्घटनामा, जसरी मरेपनि हामीलाई सरकारले सहिद घाेषणा गरेकै छ त !"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
लघुकथा संसारमा प्रकाशित
प्रहरीमा प्रेषित

Comments
Post a Comment