Posts

लघुकथा : परम्परागत बिहे

Image
 ✍️ मुरारीराज मिश्र, "ल अब कन्यादानकाे समय हुनलाग्याे, तयार हुनुहाेस्" पुराेहितले दुलहीपक्षलाई जानकारी गराए । "कन्यादान भन्ने शब्द प्रयोग नगर्नुस् त गुरु ! के हामी नारी कुनै बस्तु या जनावर हाैं ? मान्छेकाे पनि दान हुन्छ कहीँ ? विदेशतिर त यस्तो चलन छैन ! तपाईंहरु दक्षिणाकाे लागि जेपनि गर्ने ?  याे मलाई पटक्कै मन पर्दैन ।" परम्परागत बिहे गर्नका लागि भनेर विदेशबाट आएकी दुलहीले पुराेहितसंग कड्किंदै भनिन् । दुलहीले भनेका कुराले विवाहमा आएकाहरुकाे ध्यानाकर्षण गर्‍यो । उनीहरू विवाह मण्डप नजिकै झुम्मिएर कहिले दुलाहा, दुलही र कहिले पुराेहितकाे मुख हेर्न थाले । सबैलाई "अब के हुन्छ" भन्ने जिज्ञासा थियोे । दुलहीकाे मुख क्राेधाग्नीका कारण राताे देखिन्थ्यो भने बिचराे दुलहा केही नबुझे झैँ अक्क न वक्ककाे अवस्थामा थियोे । "धुवाँले गर्दा फाेटाे राम्रो आएन- जग्गेमा आगाे नबाल्नुस्, फाेटाे खिच्न समय पुग्दैन- विवाहको विधि छाेट्‌याउनुस्" भन्ने देखि  फाेटाे खिच्दा धकेलमकेल गर्दै पटकपटक यताउता सर्न लगाएपछि, क्यामेराम्यानसंग गुरुकाे यसअघि नै बाझाबाझ परिसकेको थियोे । अहिले...

लघुकथा : बाइककाे साँचाे

Image
   ✍️ मुरारीराज मिश्र, "स्मरण शक्ति कसरी बढाउन सकिन्छ" भन्ने बारेमा तालिम सुरु हुँदै थियोे । संस्थामा कार्यरत सबै कर्मचारीहरु हलमा पुगिसकेका थिए ।  कार्यक्रम सुरु हुनै लाग्दा, तालिम दिन आएका बरिस्ठ प्रशिक्षक "एकै मिनेट कुर्नुस् है" भनेर हलबाट निस्किए ! उनी किन र कता गए भनेर, सबैलाई खुल्दुली लाग्दै थियाे । "माफ गर्नुहाेला, एउटा समस्याले गर्दा तपाईंहरूलाई धेरै कुराएँ मैले" भन्दै निकैबेर पछि उनी तालिम हलभित्र पसे ।  "त्यस्तो के समस्या आइपर्‍याे र सर ?" एकजनाले सहभागीले प्रश्न गरे ।  "हेर्नुस् न, म पनि कस्तो हुस्सु भएछु ! बाइकको साँचाे कता राखें भन्दै एकघण्टा देखि खाेजेकाे खाेज्यै थिएँ, आखिरमा आफ्नै खल्तीमा पाे रहेछ !" प्रशिक्षकले हाँस्दै भने । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) हिमाली बेला मा २०८१-०२-०९ मा प्रकाशित ।

बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...✔️

Image
यात्रा संस्मरण : ✍️ मुरारीराज मिश्र, "जाने भन्दाभन्दै दुई बर्ष पुग्न लागिसक्याे, यसपालि त पक्कै जानुपर्छ है दाइ !" पारिवारिक कार्यक्रममा भेट भएको बेला मधु न्याैपाने भाइले घच्घच्याए । "गुफाभित्र बाघ बस्छ भन्ने प्राचीन जनविश्वास अनुसार" जेठको गैंडुपूर्णिमाका दिन काँडेतार लगाएर गुफाको मुख बन्द गरी कार्तिककाे गाईतिहारे ओैंशीका दिनबाट मात्र खाेलिने गुप्तेश्वर महादेव गुफा जाने सन्दर्भमा हामी फुपू चेला र मामा चेलाका बिचमा यस्तो सम्वाद हुँदै थियोे । गुफाभित्र गुप्तेश्वर महादेवकाे दर्शन गर्दै पंक्तिकार धेरै टाढा नभएपनि ललितपुरकाे दक्षिणी क्षेत्रमा अवस्थित "गुप्तेश्वर महादेव गुफा" पुग्ने पटकपटकको हाम्रो याेजना विविध कारणले सफल हुन सकिरहेकाे थिएन । यस्तैमा, मधुभाइकाे कुराले पुन: उत्साहित बनायो । "यसपाली त जसरी पनि जाने हाे बाबु, भाकल नै भईसक्याे !" नजिकै रहेकी श्रीमतीजीले पनि मधुभाईकाे कुरामा सहि थाप्दै भनिन् ।   "पाेहाेर जाने भन्दाभन्दै समूह नमिलेपछि क्यान्सिल गर्नुपर्‍यो, अब चाँही ढिलाे नगरी जानुपर्छ" मैले भनें । तत्पश्चात सरसल्लाह गरि हामीले मा...

लघुकथा: टरेकाे दुर्घटना...

Image
            ✍️ मुरारीराज मिश्र, "रक्सी लागेर निकै मातिसकेकी छ, आज त जसरी पनि त्यसलाई काेठामा लैजानुपर्छ बुझिस् !"  रेष्टुरेन्टमा छिर्दै गर्दा, ढाेकाकाे आडमा उभिएका दुईजना केटाका बिचमा भएको यी संवाद रमेशले सुन्याे ।  श्रीमती माइत गएकोले रातिको खाना पकाउन अल्छी लागेर उ अफिसबाट फर्कंदै गर्दा खाना लिन रेष्टुरेन्ट छिरेकाे थियोे । याे संवादले रमेशलाई चनाखो बनायो ।  उसले यताउता हेर्‍याे । अलिक पर एउटा टेबुलमा, अर्धनग्न पहिरनकी मदिराले अर्धचेत एक किशोरी देखिइन् । अघिका संवादवाला दुई केटा पनि त्यहीँ पुगिसकेका थिए । झट्ट हेर्दा किशोरी परिचित अनुहारकी झैं लाग्यो रमेशलाई ! उसले अलि नजिकै गएर हेर्‍यो, किशोरी त उसकी श्रीमती रमाकी साथीकी छाेरी नै पाे रहिछन् ।  उसकाे मनमा विभिन्न साेचहरु पलाए । एकछिन साेचेर उसले रमालाई फाेन गर्‍यो । केही कुराकानी भए ।   `.... ए, उसाेभए आज राति आउन्नाै त तिमी ? ल ठीकै छ ।´ उसले फाेन काट्दै भन्याे । श्रीमतीसंगकाे फाेनवार्ता  पछि, उ किशोरी रहेको टेबुलमा पुग्याे । "हैन, के चाला हाे याे तिम्रो नानी !" उसले किश...

लघुकथा: पाँचहजार

Image
                 ✍️ मुरारीराज मिश्र, "झण्डै मारेको बजियाले" बृद्ध दीनानाथ काम्दै गरेका हातले बाटोभरी छरपस्ट सामान टिप्दै भुत्‌भुताए । केही समय अघिदेखि उनी त्याे बाटोकाे छेउमा प्लास्टिक ओच्छाएर जडिबुटीहरु बेच्दै आएका थिए । आज एउटा केटाेले चलाएको माेटरसाइकल उनको सामान माथिबाट कुद्‌दा  याे घटना भएको थियोे । बाटो पारीपट्टी रहेका ट्राफिक हवलदारले याे सबै घटना प्रत्यक्ष देखेका थिए । केही साेचेर उनले तत्कालै सञ्चारसेटमा खबर गरे । पाँच मिनेटभित्रै सेटबाट उनलाई सूचना आयाे । उनी माेटरसाइकल लिएर, केटाे गएको बाटो तर्फ घुईँकिए । तीनचार स्टप परकाे चेकपोस्टमा केटाेकाे माेटरसाइकल ट्राफिक प्रहरीले समातेका रहेछन् । हवलदारले त्यहाँ पुगेर प्रहरीसँग केही खासखुस गरे अनि केटाेलाई लिएर छेउतिर लागे ।  उनले केटालाई भने "हेर बाबु, बुढा पनि घाइते छन् र उनकाे सामान पनि सबै नाेक्सान भएको छ । गल्ती गरिहाल्याै, सजायँ त भाेग्नैपर्छ अब । लाइसेन्स त छ नि !" "छ सर" केटाेले खल्तीबाट लाइसेन्स झिक्दै भन्याे । हवलदारले फेरि अत्याउँदै भने "लाइसेन्स भएपनि यस्ताे घटनामा, सवा...

शैलुङ: जहाँ स्वर्गीय सुखानुभूति हुन्छ ।

Image
 यात्रा अनुभव:                 ✍️ मुरारी राज मिश्र "यसपटक शैलुङ जाने सल्लाह भएको छ, तपाईं पनि जानुपर्छ है !" साथी सुभाष अर्यालले कार्यकक्षमा पस्दै भन्नुभयो ।  दुई बर्ष अघि २०७८ चैत १२ मा परिवार सहित रामेछापस्थित सानो शैलुङ पुगेर आएपछि, ठूलाे शैलुङ पुग्ने मेराे चाहना पटकपटकको प्रयासकाे बाबजुद पनि सफल हुन सकिरहेकाे थिएन । यस्ताे अवस्थामा सुभाष सरकाे कुराले मभित्रकाे दमित आकांक्षा पुन: जुर्मुरायाे । जाने सहमति जनाएँ ।  यात्रा भन्नासाथ उर्जा बढेको महसूस भएर मेरो मन प्रफुल्लित भइहाल्छ । बेलुका घरमा आएर उत्साहित हुँदै "म त अफिसका साथीहरूसंग शैलुङ जाने भएँ नि" भनेर श्रीमतीजीलाई सुनाएँ । उनलेे पनि त्यहाँ जान चाहेकी थिइन्, त्यसैले हाेला मुखले नभनेपनि उनकाे मुखाकृतिमा `संगै जान नपाएको भन्ने जस्तो´ हल्का असन्तुष्टिकाे भाव झल्किएकाे महसूस गरें मैले ।  "म गएर आएपछि, कस्तो ठाउँ रहेछ, बसाइ र खानपिनकाे व्यवस्था केकस्ता रहेछन्, अप्ठ्यारो सजिलो कस्तो छ, सबै कुरा बुझिन्छ, अनि फेरि जाउँला नि हामी !" मैले आफूलाई लागेको असजिलो मेटाउने र बाताबरण सहज ...

गजल

Image
बग्दैछ  सपनाको  महल,  अभावका लहरले  कसरी जोत्छ र बाँझो बारी, कमजोर बहरले  । लुटिएर  गाउँ फर्कंदैछु  धरधरी  रुँदै, अहिले आएको थिएँ  अवसर खोज्दै, यहाँ म रहरले । रगत –पसिना  बगाएकै हुँ, यही सहरमा मैले   कहिल्यै  आफ्नो  ठानेन,  मलाई यो   सहरले । मिसावटको  चलन, निकै नै  बढिसकेछ यहाँ  जति  पिउँदा पनि  मान्छे मर्न सकेन जहरले । जिन्दगीको  प्रहारले  चट्टान  बन्यो  यो मुटु  दुख्दैन  मन  कुनै   विघ्न बाधा र  कहरले  ।  °°°°°°°°°°° गाेरखापत्र/२०८०-१२-१७ शनिबार मा प्रकाशित