लघुकथा: पढाइ

        ✍️ मुरारीराज मिश्र,

"तीन-चार दिन देखि राम्ररी पढाइ भएको छैन भनेर भन्दैथ्याे छाेरा ! के कारणले हाेला सर ? बुझ्न आएकाे म त !" प्रशान्तले प्रधानाध्यापकलाई प्रश्न गर्‍यो ।

"त्यस्तो त केही हाेईन, दशै अगाडि विद्यार्थीहरु पनि पढ्ने मुडमा देखिएनन् । निर्धारित काेर्स पनि सकिएको छ त्यसैले उनीहरूका लागि मनाेरञ्जनात्मक कार्यक्रमहरु गरिएकाे हाे ।" प्रधानाध्यापकबाट जवाफ आयाे ।

"अनि, प्रत्येक साताकाे अन्तिम दिनमा त नियमित पठनपाठन बाहेकका अतिरिक्त क्रियाकलाप मात्रै गराईने गरिएको छ हैन र सर ? उसै पनि विभिन्न बन्द हडतालका कारण यस अघि केही दिन पढाइ छुट्याे !"

"त्यसबेलाको क्षतिपूर्ति त शनिबारे बिदाका दिनहरुमा पढाएर गर्‍यौं नि हामीले !"

"मेराे जिज्ञासा यहीँनेर हाे सर ! यदि स्कुल खुलेको बेला नपढाउने हाे भने विद्यार्थीकाे मस्तिष्कले आराम पाउनु पर्ने साप्ताहिक बिदाको दिन चाँहि विद्यालय किन खाेल्ने त ?"

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: