कथा: मुटु
✍️ मुरारीराज मिश्र
रातको करिब एघार बजेको थियो ।
काठमाडौंको आकाश दिनभरदेखि थामिएको पानीलाई बल्ल-बल्ल बिसाउँदै थियो । झ्यालका सिसामा पानीका थोपा निरन्तर ठोक्किइरहेका थिए । सडकमा गुड्ने गाडीका हेडलाइटले भिजेको सडकलाई एकछिन उज्यालो पार्थे र फेरि अँध्यारोले निलिहाल्थ्यो । चिसो हावा झ्यालको सानो प्वालबाट छिरेर पर्दालाई हलुका हल्लाइरहेको थियो ।
घरभित्र भने रातको शान्ति पसिसकेको थियो ।
त्यही शान्तिलाई अचानक एउटा अस्वाभाविक आवाजले चिर्यो ।
“आ...!”
केही क्षण मौनता ।
फेरि आवाज आयो-
“साह्रै दुख्यो...!”
म झसङ्ग भएँ ।
आवाज तल्लो कोठाबाट आएको थियो । म हतारिँदै त्यहाँ पुगेँ ।
अरुणजी ओछ्यानमा दोब्रिएर पेट समातिरहनुभएको थियो । केही बेरअघिसम्म सामान्य देखिएको उहाँको अनुहार एकाएक फुङ्ग उडेको थियो । निधारमा पसिनाका मसिना थोपा थिए । ओठ सुक्खा थिए । आँखाहरू पीडाले चिम्लिएका थिए ।
उहाँकी श्रीमती आत्तिँदै छेउमै उभिएकी थिइन् ।
“के भयो, अरुणजी ?” मैले सोधेँ ।
उहाँले तुरुन्त उत्तर दिन सक्नुभएन । केही बेरपछि मुस्किलले भन्नुभयो-
“पेट... साह्रै दुख्यो...”
“कहिलेदेखि ?”
“केही अगाडिदेखि... सुरुमा त सामान्य थियो । अहिले त सहनै गाह्रो भयो ।”
उहाँका दाइ पनि कोठामा आइपुग्नुभएको थियो ।
“अस्पताल लैजानुपर्छ,” उहाँले दृढ स्वरमा भन्नुभयो ।
कसैले विरोध गरेन ।
अरुणजी हाम्रो घरका लागि केवल सँगै बस्ने परिवारका सदस्य हुनुहुन्नथ्यो । एक दशकभन्दा लामो समयदेखि उहाँको परिवार हामीकहाँ बस्दै आएको थियो । एउटै छानोमुनि यति लामो समय बितेपछि सम्बन्धहरू कागजमा लेखिएका नाताभन्दा गहिरा हुँदारहेछन् । सुखमा सँगै हाँस्ने र दुःखमा शब्द नखोजी छेउमा बसिदिने सम्बन्ध ।
पेशाले शिक्षक हुनुहुन्थ्यो अरुणजी ।
उमेरले खाइलाग्दो, हँसिलो र मिलनसार । बिहान चिया पिउँदै पत्रिकाको समाचार पढ्नु उहाँको पुरानो बानी थियो । कुनै समाचारले छोयो भने चियाको कप टेबुलमा राख्दै भन्नुहुन्थ्यो, “यो देशमा मान्छे बुझ्न अझै धेरै बाँकी छ ।”
विद्यार्थीका कुरा गर्दा उहाँको अनुहारमा अर्कै उज्यालो देखिन्थ्यो ।
एकपटक जाडोको बिहान विद्यालय जान लाग्दा उहाँको हातमा एउटा पुरानो स्वेटर देखेर मैले सोधेको थिएँ-
“यो स्वेटर ?”
“मेरो कक्षामा एउटा केटो छ । जाडोमा पनि पातलो कमिजमै आउँछ । यो उसकै लागि हो ।”
“आफ्नै स्वेटर दिन लाग्नुभएको ?”
उहाँ मुस्कुराउनुभयो ।
“मेरो एउटा स्वेटर कम भयो भने अर्को किनिहाल्छु । उसको जाडो त अहिले नै हो नि ।”
उहाँले यति सहजतासाथ भन्नुभयो, मानौँ स्वेटर होइन, आफ्नै न्यानोपनको एउटा टुक्रा दिन लाग्नुभएको हो ।
सायद त्यही भएर उहाँलाई सबैले मन पराउँथे ।
त्यो रात भने उहाँको शरीरलाई बुझ्न हामी सबै असमर्थ भएका थियौँ ।
त्यसबेला अहिलेका जस्ता पठाओ, इनड्राइभजस्ता अनलाइन सुविधा थिएनन् । रातको समयमा ट्याक्सी खोज्नु आफैँमा अर्को परीक्षा हुन्थ्यो । बाहिर पानी झन् बढिरहेको थियो । घरमा गाडी भएका चिनेजानेका मानिस र चालकलाई मोबाइलबाट एकपछि अर्को गर्दै फोन गर्यौँ । कतिले फोन उठाएनन्, कतिले “अहिले आउन सक्दिनँ” भने ।
आखिर एक जना चालक आउन तयार भए ।
हामीले अरुणजीलाई बिस्तारै बाहिर निकाल्यौँ ।
गाडीमा राख्ने क्रममा उहाँले मेरो हात समात्नुभयो ।
“धेरै डराउनुभएको त छैन नि ?”
मैले हाँस्ने प्रयास गर्दै भनेँ-
“तपाईंलाई केही हुँदैन । अस्पताल पुगौँ, सबै ठीक हुन्छ ।”
त्यो वाक्य मैले उहाँलाई भन्दा आफूलाई बढी भनेको थिएँ ।
इमर्जेन्सी बत्ती बाल्दै गाडी गुड्यो ।
वर्षाले सडक पखालिरहेको थियो । वाइपर अगाडिको सिसा पुछ्दै थियो, तर पानी केही सेकेन्डमै फेरि सिसामाथि फैलिन्थ्यो ।
पछाडिको सिटमा अरुणजी दुबै आँखा चिम्लेर बसिरहनुभएको थियो । उहाँकी श्रीमतीले उहाँको हात समातिरहेकी थिइन् ।
“अब अलि कम भयो?” उनले सोधिन् ।
“उस्तै छ,” उहाँले बिस्तारै भन्नुभयो ।
उहाँको अनुहारमा बेचैनी र छट्पटाहट स्पष्ट देखिन्थ्यो ।
म बारम्बार पछाडि फर्केर हेर्थेँ ।
सामान्यतया हामीले दैनिक जीवनमा देख्ने मानिस अचानक बिरामी हुँदा उसको परिचित अनुहार पनि अपरिचितजस्तो लाग्दोरहेछ । हिजोसम्म आफ्नैजस्तो लागेको अनुहारभित्र अचानक कुनै अज्ञात भय देखिन थाल्दोरहेछ ।
त्यो रात मेरो मनमा पहिलोपटक एउटा अनौठो विचार आयो-
मानिसलाई स्वस्थ देख्नु र मानिस साँच्चिकै स्वस्थ हुनु एउटै कुरा रहेनछ ।
शिक्षण अस्पतालको आकस्मिक कक्षमा रातको आफ्नै संसार थियो ।
कतै स्ट्रेचर गुडिरहेको थियो । कतै नर्सहरू हतारिँदै थिए । कतै कसैको रुवाबासी सुनिन्थ्यो । औषधिको गन्ध, सेतो बत्तीको कठोर उज्यालो र मानिसहरूको अनुहारमा टाँसिएको चिन्ताले अस्पताललाई अस्पतालभन्दा बढी प्रतीक्षाको घर बनाएको थियो ।
कागजी प्रक्रिया पूरा गरेपछि अरुणजीलाई भित्र लगियो ।
स्लाइन पानी चढाइयो । रगतको नमुना लिइयो । विभिन्न परीक्षणहरू सुरु भए । हामी बाहिर बस्यौँ ।
पहिलो आधा घण्टा आशाले बित्यो ।
“ग्यास्ट्रिक होला,” कसैले भन्यो ।
“हो, कहिलेकाहीँ ग्यास्ट्रिकले पनि साह्रै दुखाउँछ,” अर्कोले थप्यो ।
हामीले त्यसैलाई सत्य मान्न खोज्यौँ ।
तर समय बित्दै जाँदा त्यो विश्वास कमजोर हुँदै गयो ।
एक घण्टा ।
डेढ घण्टा ।
दुई घण्टा ।
दुखाइ कम गर्ने औषधिका कारण होला, अरुणजीको छट्पटाइ केही कम भएको देखिन्थ्यो । तर डाक्टरहरूको अनुहारमा भने झन् गम्भीरता बढिरहेको थियो ।
सात-आठजना डाक्टर एउटै रिपोर्ट वरिपरि उभिएर छलफल गरिरहेका थिए ।
कहिले एउटाले केही भन्यो ।
अर्काले रिपोर्टतिर औँला देखायो ।
तेस्रोले टाउको हल्लायो ।
फेरि अर्को रिपोर्ट आयो ।
फेरि छलफल सुरु भयो ।
हामी टाढैबाट त्यो दृश्य हेरिरहेका थियौँ ।
उहाँका दाइले बिस्तारै मेरो कानमा भन्नुभयो-
“यति धेरै डाक्टर किन चाहियो ?”
मैले सामान्य देखिने प्रयास गर्दै भनेँ-
“रिपोर्टबारे छलफल गर्दै होलान् ।”
तर मनले मेरो आफ्नै उत्तर स्वीकार गरिरहेको थिएन ।
अचानक मेरो मनमा एकपछि अर्को डरका ढोका खुल्न थाले ।
कतै पेटको समस्या मात्र होइन ?
कतै भित्रैबाट रक्तस्राव त भएको छैन ?
कतै मुटुको समस्या त होइन ?
‘मुटु’ शब्द मनमा आउनेबित्तिकै मैले त्यसलाई धपाउन खोजेँ ।
तर डरलाई धपाउन खोज्दा डर झन् बलियो भएर फर्कँदोरहेछ ।
त्यत्तिकैमा एक जना डाक्टर हाम्रोतिर आउनुभयो ।
“अरुणजीका आफन्त ?”
हामी तीनै जना उठ्यौँ ।
डाक्टरले हातमा भएको कागज अगाडि बढाउँदै भन्नुभयो-
“उहाँलाई तुरुन्त गंगालाल अस्पताल लैजानुहोस् ।”
हामीले एकअर्काको अनुहार हेर्यौँ ।
“गंगालाल ?”
उहाँकी श्रीमतीको स्वर काँप्यो ।
“हो ।”
मैले सोधेँ-
“तर उहाँलाई त पेट दुखेको हो । मुटुको अस्पताल किन ?”
डाक्टर केही क्षण मौन रहनुभयो ।
“त्यहाँ पुगेपछि सबै कुरा बुझ्नुहुन्छ । अहिले ढिला नगर्नुहोस् ।”
“डाक्टर, के भएको हो ?”
यसपटक पनि स्पष्ट उत्तर आएन ।
“अहिले उहाँलाई गंगालाल पुर्याउनु नै ठीक हुन्छ ।”
बस् ।
त्यति मात्र ।
तर ती थोरै शब्दले हाम्रो मनमा ठूलो आँधी उठाइदिए ।
पेटको दुखाइले मुटुको अस्पतालसम्म पुर्याउने अवस्था ?
अब हामीले अरुणजीलाई पेट समातेर छट्पटाइरहेको मात्र देखिरहेका थिएनौँ ।
हामी उहाँको छातीभित्र केही खोजिरहेका थियौँ ।
अस्पतालकै एम्बुलेन्सको व्यवस्था भयो।
साइरन बज्यो ।
रातको सुनसान सडकलाई चिर्दै एम्बुलेन्स गंगालालतिर दौडियो ।
एम्बुलेन्सभित्र सेतो बत्ती बलिरहेको थियो । अरुणजी स्ट्रेचरमा हुनुहुन्थ्यो । उहाँकी श्रीमती उहाँको टाउकोनजिकै बसेकी थिइन् । दाइ चुपचाप अगाडि हेरिरहनुभएको थियो ।
मैले झ्यालबाट बाहिर हेरेँ ।
पानीले चम्किरहेका सडकहरू पछाडि छुटिरहेका थिए ।
तर मेरो मनमा एउटै शब्द अगाडि दौडिरहेको थियो-
मुटु ।
मुटु ।
हामीले त्यसलाई प्रेमको प्रतीक बनाएका छौँ । गीतमा गाएका छौँ । कवितामा लेखेका छौँ । कसैलाई असाध्यै माया गर्दा भनेका छौँ- “तिमी मेरो मुटु हौ ।”
तर त्यही मुटु एकपटक धड्किन छोड्यो भने ?
त्यसपछि बाँकी रहन्छ के ?
स्मृति ?
तस्बिर ?
नाम ?
वा केही पनि होइन ?
एम्बुलेन्सको साइरनले मेरो सोचाइलाई बीचैमा चिरेको थियो ।
मैले अरुणजीतिर हेरेँ ।
उहाँ आँखा चिम्लिरहनुभएको थियो ।
मलाई पहिलोपटक लाग्यो- मानिसको जीवन कति पातलो धागोमा झुन्डिएको हुँदो रहेछ !
गंगालाल अस्पताल पुग्नेबित्तिकै शिक्षण अस्पतालबाट दिएको कागज हेरेर त्यहाँका डाक्टरहरू गम्भीर भए ।
एक जनाले अर्का डाक्टरलाई बोलाए ।
अर्कोले फेरि तेस्रोलाई ।
केही मिनेटमै बिरामी वरिपरि डाक्टरहरूको संख्या बढ्दै गयो ।
“तपाईंहरू बाहिर बस्नुस्,” एक जना स्वास्थ्यकर्मीले भने।
अरुणजीलाई भित्र लगियो ।
ढोका बन्द भयो ।
हामी तीन जना बाहिर बस्याैं ।
त्यो ढोका त्यतिबेला साधारण अस्पतालको ढोकाजस्तो लागेन ।
त्यो ढोकाको अर्कोपट्टि अरुणजीको जीवन थियो ।
यतापट्टि हाम्रो प्रतीक्षा ।
उहाँकी श्रीमती कुर्सीमा चुपचाप बसिरहेकी थिइन् । हातमा भएको रुमाल पटकपटक मुठ्ठी पार्दै खोल्दै । उहाँका दाइ कहिले उठ्नुहुन्थ्यो, कहिले फेरि बस्नुहुन्थ्यो ।
बरण्डामा मानिसहरू आउँथे, जान्थे । स्ट्रेचरका पाङ्ग्राहरू घर्षणको आवाज निकाल्दै गुड्थे । नर्सको सेतो पोसाक टाढाबाट आउँथ्यो र फेरि अर्को मोडमा हराउँथ्यो ।
भित्तामा झुन्डिएको घडीको सेकेन्ड काँटा टिक्... टिक्... गर्दै घुमिरहेको थियो ।
तर हामीलाई समय घुमिरहेको जस्तो लागिरहेको थिएन।
“केही त थाहा पाए हुन्थ्यो,” उहाँका दाइले बिस्तारै भन्नुभयो ।
मैले भनेँ-
“डाक्टरहरूले हेरिरहेका छन् ।”
तर मेरो आफ्नै आवाजमा विश्वास थिएन ।
एकछिनपछि उहाँकी श्रीमतीले बिस्तारै सोधिन्-
“यदि मुटुको समस्या रहेछ भने ?”
मसँग उत्तर थिएन ।
केही क्षणपछि मात्र भनेँ-
“पहिले रिपोर्ट आउन दिनुस् ।”
उहाँले केही बोल्नुभएन ।
टाउको झुकाउनुभयो ।
त्यो क्षण अस्पतालको बरण्डामा हामीले एउटा कुरा बुझिरहेका थियौँ- काेठा भित्र बिरामीकाे उपचार भइरहेको हुन्छ, तर बाहिर पनि एउटा अदृश्य उपचार चलिरहेको हुन्छ । बिरामीलाई औषधि दिइन्छ; आफन्तलाई आशा दिइन्छ । बिरामीको पीडा कम गर्न औषधि चाहिन्छ; आफन्तको डर कम गर्न एउटा विश्वासिलो शब्द ।
तर त्यस रात हामीसँग त्यो शब्द पनि थिएन ।
एक घण्टा बित्यो ।
ढोका खुलेन ।
फेरि केही मिनेट बिते ।
कुनै खबर आएन ।
घडीको काँटा अघि बढिरह्यो ।
सायद त्यो जीवनकै सबैभन्दा लामो एक घण्टा थियो ।
अन्ततः ढोका खुल्यो ।
“अरुणजीका आफन्त ?”
हामी तीनै जना एकैपटक उठ्यौँ ।
डाक्टरले हामीलाई भित्र बोलाउनुभयो ।
हामी हतारिँदै अगाडि बढ्यौँ ।
सायद हाम्रो अनुहारमा डर यति स्पष्ट थियो कि डाक्टरले कुनै भूमिका बाँध्न आवश्यक ठान्नुभएन ।
उहाँले सीधै भन्नुभयो-
“नआत्तिनुस्। उहाँलाई खासै गम्भीर समस्या छैन ।”
हामी केही क्षण एकअर्काको अनुहार हेरिरह्यौँ ।
डाक्टरले रिपोर्ट हातमा लिएर भन्नुभयो-
“सामान्यतया मानिसको मुटु देब्रेतिर हुन्छ…।”
हामी चुपचाप सुनिरहेका थियौँ ।
“तर हजारौँ मानिसमध्ये कसैकसैको मुटु जन्मजात नै दाहिनेतिर पनि हुन्छ ।”
मैले अचम्म मान्दै सोधेँ-
“दाहिनेतिर ?”
“हो ।”
डाक्टरले सहज रूपमा टाउको हल्लाउनुभयो ।
“अरुणजीको मुटु पनि दाहिनेतिर रहेछ ।”
केही क्षणसम्म हामी कसैले केही बोल्न सकेनौँ ।
सायद मनले हामीलाई ठूलै रोगको खबर सुन्न तयार पारेको थियो, तर शरीरको एउटा अनौठो रहस्य सुन्न तयार पारेको थिएन ।
डाक्टरले थप्नुभयो-
“यसलाई चिकित्सकीय भाषामा डेक्स्ट्रोकार्डिया (Dextrocardia) भनिन्छ । यो दुर्लभ जन्मजात अवस्था हो । उहाँको हकमा यसले दैनिक जीवनमा खासै समस्या पारेको देखिँदैन । उहाँ सामान्य जीवन बाँचिरहनुभएको छ ।”
उहाँकी श्रीमतीले पहिलोपटक लामो सास फेरिन् ।
“त्यसो भए अहिले मुटुको समस्या होइन?”
“होइन ।”
डाक्टर मुस्कुराउनुभयो ।
“अहिलेको समस्या त ग्यास्ट्रिक बढेर भएको रहेछ ।”
हामीले एकैसाथ राहतको सास फेर्यौँ ।
अहिलेसम्म शरीरभरि जमेको डर एकाएक पग्लिएर आँखाबाट पानी बन्न खोजेजस्तो भयो ।
डाक्टरले फेरि सम्झाउनुभयो-
“तर उहाँको मुटु दाहिनेतिर भएको कुरा भने अबदेखि सम्झेर राख्नुहोस् ।”
“किन ?” उहाँका दाइले सोध्नुभयो ।
“भविष्यमा उहाँलाई कुनै अस्पतालमा उपचार गर्नुपर्यो, आकस्मिक अवस्था आयो वा कुनै प्रक्रिया गर्नुपर्यो भने चिकित्सकलाई यो जानकारी उपयोगी हुन्छ । त्यसैले उहाँले आफैँ पनि यो कुरा सम्झनुपर्छ ।”
उहाँकी श्रीमतीले टाउको हल्लाइन् ।
“हुन्छ, डाक्टरसाब ।”
“अहिले भने चिन्ता गर्नुपर्ने अवस्था छैन । औषधि दिइएको छ । घर लैजान सक्नुहुन्छ ।”
त्यो वाक्यसँगै हाम्रो काँधबाट मानौँ कुनै ठूलो पहाड झर्यो ।
घर फर्कंदा बिहानी प्रहर सुरु भइसकेको थियो ।
वर्षा रोकिइसकेको थियो ।
सडकहरू चिसा र सुनसान थिए । सडकबत्तीको उज्यालो भिजेको बाटोमा फैलिएको थियो । केही बेरअघि हामीलाई असह्य लामो लागेको त्यही सडक अब अनौठो रूपमा परिचित लागिरहेको थियो ।
गाडीभित्र अब पहिलेको जस्तो तनाव थिएन ।
अरुणजी पछाडिको सिटमा अडेस लगाएर बसिरहनुभएको थियो ।
मैले हाँस्दै भनेँ-
“अरुणजी, तपाईंलाई त आफ्नै मुटु कहाँ छ भन्ने पनि थाहा रहेनछ !”
उहाँले आँखा खोलेर मलाई हेर्नुभयो ।
केही क्षण चुप लाग्नुभयो ।
त्यसपछि मुस्कुराउँदै भन्नुभयो-
“मलाई के थाहा त दाइ ? मुटु त मुटु नै हो भनेर बसेँ ।”
गाडीभित्र हाँसो गुञ्जियो ।
केही घण्टाअघि मृत्युको आशङ्काले थरथराएका हामीहरू त्यही रात एउटा साधारण वाक्यमा हाँसिरहेका थियौँ ।
उहाँकी श्रीमतीले भनिन्-
“अबदेखि त जहाँ गए पनि भन्नुपर्छ- मेरो मुटु दाहिनेतिर छ भनेर ।”
अरुणजीले ठट्यौली गर्नुभयो-
“त्यसैले होला, म कहिलेकाहीँ अलि उल्टो सोच्दोरहेछु ।”
फेरि हाँसो ।
तर म भने चुप रहेँ ।
गाडीको झ्यालबाट बाहिर हेर्दै थिएँ ।
काठमाडौंको रात फेरि सामान्य भइसकेको थियो ।
तर मेरो मनमा एउटा कुरा गहिरिएर बसेको थियो ।
हामी मानिसलाई देख्छौँ- उसको अनुहार, शरीर, बोली, चालढाल, हैसियत र व्यवहार । तर ती सबैभन्दा भित्र एउटा यस्तो संसार हुन्छ, जुन आँखाले देखिँदैन ।
अरुणजीको मुटु देब्रेतिर थिएन ।
तर उहाँको माया देब्रेतिर थिएन र ?
उहाँको हाँसो देब्रेतिर थिएन र ?
जाडोमा स्वेटरविहीन विद्यार्थीलाई आफ्नो स्वेटर दिने त्यो मन देब्रेतिर थिएन र ?
मुटुको स्थान फरक हुन सक्छ ।
धड्कनको अर्थ फरक हुँदैन ।
त्यो रात मैले महसुस गरेँ- मानिसको शरीरभित्र कति रहस्य लुकेका हुन्छन् ! हामी वर्षौँसँगै बसेको मानिसको शरीरभित्र रहेको यस्तो असामान्य कुरा हामीलाई थाहा थिएन । बाहिरबाट ऊ बिल्कुल सामान्य थियो । सायद त्यसैले हामीले कहिल्यै उसको शरीरभित्र झाँकेनौँ ।
अस्पतालको त्यो रातले एउटा अर्को कुरा पनि सिकायो- मानिसको स्वास्थ्यलाई बाहिरी रूपले मात्र अनुमान गर्नु हुँदैन । आफ्नो शरीरबारे जान्नु, आवश्यक स्वास्थ्य परीक्षण गराउनु र आफूभित्रको कुनै विशेष अवस्थाबारे चिकित्सकलाई जानकारी दिनु आफ्नै जीवनप्रतिको जिम्मेवारी रहेछ ।
त्यो रात हामी मृत्युको डर लिएर अस्पताल गएका थियौँ । फर्किंदा जीवनको एउटा सानो रहस्य बोकेर आयौँ ।
भोलिपल्ट बिहान अरुणजी सधैँझैँ उठ्नुभयो ।
आँगनमा घाम विस्तारै फैलिँदै थियो । उहाँ चियाको कप लिएर बाहिर आउनुभयो । अनुहारमा अघिल्लो रातको कुनै भय थिएन ।
मलाई देखेर मुसुक्क हाँस्दै भन्नुभयो-
“आजदेखि मेरो परिचय फेरियो दाइ । म दाहिने मुटु भएको मान्छे भएँ ।”
मैले उहाँलाई हेरेँ ।
हिजो राति अस्पतालको सेतो बत्तीमा फुङ्ग उडेको त्यही अनुहार आज बिहानको घाममा फेरि उस्तै थियो- परिचित, आत्मीय र हँसिलो ।
मैले पनि मुस्कुराउँदै भनेँ-
“होइन, अरुणजी । तपाईं हिजो पनि त्यही मान्छे हुनुहुन्थ्यो । फरक यति हो- हिजो हामीलाई तपाईंको मुटु कहाँ छ भन्ने थाहा थिएन ।”
उहाँ केही क्षण चुप लाग्नुभयो ।
त्यसपछि चियाको कप ओठमा पुर्याउँदै मुस्कुराउनुभयो ।
बिहानको घाम झन् चहकिलाे हुँदै गयो ।
म उहाँलाई हेरिरहेँ ।
र मनमनै सोचेँ-
मानिसको मुटु कहाँ छ भन्ने थाहा पाउनु विज्ञान हो; त्यो मुटु कसका लागि धड्किन्छ भन्ने बुझ्नुचाहिँ जीवनको ज्ञान हो ।
—-अस्तु—-
Comments
Post a Comment