कथा: मुटु

✍️ मुरारीराज मिश्र


रातको करिब एघार बजेको थियो ।

काठमाडौंको आकाश दिनभरदेखि थामिएको पानीलाई बल्ल-बल्ल बिसाउँदै थियो । झ्यालका सिसामा पानीका थोपा निरन्तर ठोक्किइरहेका थिए । सडकमा गुड्ने गाडीका हेडलाइटले भिजेको सडकलाई एकछिन उज्यालो पार्थे र फेरि अँध्यारोले निलिहाल्थ्यो । चिसो हावा झ्यालको सानो प्वालबाट छिरेर पर्दालाई हलुका हल्लाइरहेको थियो ।


घरभित्र भने रातको शान्ति पसिसकेको थियो ।

त्यही शान्तिलाई अचानक एउटा अस्वाभाविक आवाजले चिर्‍यो ।

“आ...!”

केही क्षण मौनता ।

फेरि आवाज आयो-

“साह्रै दुख्यो...!”

म झसङ्ग भएँ ।

आवाज तल्लो कोठाबाट आएको थियो । म हतारिँदै त्यहाँ पुगेँ ।


अरुणजी ओछ्यानमा दोब्रिएर पेट समातिरहनुभएको थियो । केही बेरअघिसम्म सामान्य देखिएको उहाँको अनुहार एकाएक फुङ्ग उडेको थियो । निधारमा पसिनाका मसिना थोपा थिए । ओठ सुक्खा थिए । आँखाहरू पीडाले चिम्लिएका थिए ।

उहाँकी श्रीमती आत्तिँदै छेउमै उभिएकी थिइन् ।


“के भयो, अरुणजी ?” मैले सोधेँ ।

उहाँले तुरुन्त उत्तर दिन सक्नुभएन । केही बेरपछि मुस्किलले भन्नुभयो-

“पेट... साह्रै दुख्यो...”

“कहिलेदेखि ?”

“केही अगाडिदेखि... सुरुमा त सामान्य थियो । अहिले त सहनै गाह्रो भयो ।”

उहाँका दाइ पनि कोठामा आइपुग्नुभएको थियो ।

“अस्पताल लैजानुपर्छ,” उहाँले दृढ स्वरमा भन्नुभयो ।

कसैले विरोध गरेन ।


अरुणजी हाम्रो घरका लागि केवल सँगै बस्ने परिवारका सदस्य हुनुहुन्नथ्यो । एक दशकभन्दा लामो समयदेखि उहाँको परिवार हामीकहाँ बस्दै आएको थियो । एउटै छानोमुनि यति लामो समय बितेपछि सम्बन्धहरू कागजमा लेखिएका नाताभन्दा गहिरा हुँदारहेछन् । सुखमा सँगै हाँस्ने र दुःखमा शब्द नखोजी छेउमा बसिदिने सम्बन्ध ।


पेशाले शिक्षक हुनुहुन्थ्यो अरुणजी ।

उमेरले खाइलाग्दो, हँसिलो र मिलनसार । बिहान चिया पिउँदै पत्रिकाको समाचार पढ्नु उहाँको पुरानो बानी थियो । कुनै समाचारले छोयो भने चियाको कप टेबुलमा राख्दै भन्नुहुन्थ्यो, “यो देशमा मान्छे बुझ्न अझै धेरै बाँकी छ ।”


विद्यार्थीका कुरा गर्दा उहाँको अनुहारमा अर्कै उज्यालो देखिन्थ्यो । 

एकपटक जाडोको बिहान विद्यालय जान लाग्दा उहाँको हातमा एउटा पुरानो स्वेटर देखेर मैले सोधेको थिएँ-

“यो स्वेटर ?”

“मेरो कक्षामा एउटा केटो छ । जाडोमा पनि पातलो कमिजमै आउँछ । यो उसकै लागि हो ।”

“आफ्नै स्वेटर दिन लाग्नुभएको ?”

उहाँ मुस्कुराउनुभयो ।

“मेरो एउटा स्वेटर कम भयो भने अर्को किनिहाल्छु । उसको जाडो त अहिले नै हो नि ।”

उहाँले यति सहजतासाथ भन्नुभयो, मानौँ स्वेटर होइन, आफ्नै न्यानोपनको एउटा टुक्रा दिन लाग्नुभएको हो ।

सायद त्यही भएर उहाँलाई सबैले मन पराउँथे ।

त्यो रात भने उहाँको शरीरलाई बुझ्न हामी सबै असमर्थ भएका थियौँ ।


त्यसबेला अहिलेका जस्ता पठाओ, इनड्राइभजस्ता अनलाइन सुविधा थिएनन् । रातको समयमा ट्याक्सी खोज्नु आफैँमा अर्को परीक्षा हुन्थ्यो । बाहिर पानी झन् बढिरहेको थियो । घरमा गाडी भएका चिनेजानेका मानिस र चालकलाई मोबाइलबाट एकपछि अर्को गर्दै फोन गर्‍यौँ । कतिले फोन उठाएनन्, कतिले “अहिले आउन सक्दिनँ” भने ।

आखिर एक जना चालक आउन तयार भए ।

हामीले अरुणजीलाई बिस्तारै बाहिर निकाल्यौँ ।


गाडीमा राख्ने क्रममा उहाँले मेरो हात समात्नुभयो ।

“धेरै डराउनुभएको त छैन नि ?”

मैले हाँस्ने प्रयास गर्दै भनेँ-

“तपाईंलाई केही हुँदैन । अस्पताल पुगौँ, सबै ठीक हुन्छ ।”

त्यो वाक्य मैले उहाँलाई भन्दा आफूलाई बढी भनेको थिएँ ।


इमर्जेन्सी बत्ती बाल्दै गाडी गुड्यो ।

वर्षाले सडक पखालिरहेको थियो । वाइपर अगाडिको सिसा पुछ्दै थियो, तर पानी केही सेकेन्डमै फेरि सिसामाथि फैलिन्थ्यो ।

पछाडिको सिटमा अरुणजी दुबै आँखा चिम्लेर बसिरहनुभएको थियो । उहाँकी श्रीमतीले उहाँको हात समातिरहेकी थिइन् ।

“अब अलि कम भयो?” उनले सोधिन् ।

“उस्तै छ,” उहाँले बिस्तारै भन्नुभयो ।

उहाँको अनुहारमा बेचैनी र छट्पटाहट स्पष्ट देखिन्थ्यो ।

म बारम्बार पछाडि फर्केर हेर्थेँ ।


सामान्यतया हामीले दैनिक जीवनमा देख्ने मानिस अचानक बिरामी हुँदा उसको परिचित अनुहार पनि अपरिचितजस्तो लाग्दोरहेछ । हिजोसम्म आफ्नैजस्तो लागेको अनुहारभित्र अचानक कुनै अज्ञात भय देखिन थाल्दोरहेछ ।

त्यो रात मेरो मनमा पहिलोपटक एउटा अनौठो विचार आयो-

मानिसलाई स्वस्थ देख्नु र मानिस साँच्चिकै स्वस्थ हुनु एउटै कुरा रहेनछ ।


शिक्षण अस्पतालको आकस्मिक कक्षमा रातको आफ्नै संसार थियो ।

कतै स्ट्रेचर गुडिरहेको थियो । कतै नर्सहरू हतारिँदै थिए । कतै कसैको रुवाबासी सुनिन्थ्यो । औषधिको गन्ध, सेतो बत्तीको कठोर उज्यालो र मानिसहरूको अनुहारमा टाँसिएको चिन्ताले अस्पताललाई अस्पतालभन्दा बढी प्रतीक्षाको घर बनाएको थियो ।


कागजी प्रक्रिया पूरा गरेपछि अरुणजीलाई भित्र लगियो ।

स्लाइन पानी चढाइयो । रगतको नमुना लिइयो । विभिन्न परीक्षणहरू सुरु भए । हामी बाहिर बस्यौँ ।

पहिलो आधा घण्टा आशाले बित्यो ।

“ग्यास्ट्रिक होला,” कसैले भन्यो ।

“हो, कहिलेकाहीँ ग्यास्ट्रिकले पनि साह्रै दुखाउँछ,” अर्कोले थप्यो ।

हामीले त्यसैलाई सत्य मान्न खोज्यौँ ।

तर समय बित्दै जाँदा त्यो विश्वास कमजोर हुँदै गयो ।


एक घण्टा ।

डेढ घण्टा ।

दुई घण्टा ।

दुखाइ कम गर्ने औषधिका कारण होला, अरुणजीको छट्पटाइ केही कम भएको देखिन्थ्यो । तर डाक्टरहरूको अनुहारमा भने झन् गम्भीरता बढिरहेको थियो ।

सात-आठजना डाक्टर एउटै रिपोर्ट वरिपरि उभिएर छलफल गरिरहेका थिए ।

कहिले एउटाले केही भन्यो ।

अर्काले रिपोर्टतिर औँला देखायो ।

तेस्रोले टाउको हल्लायो ।

फेरि अर्को रिपोर्ट आयो ।

फेरि छलफल सुरु भयो ।

हामी टाढैबाट त्यो दृश्य हेरिरहेका थियौँ ।


उहाँका दाइले बिस्तारै मेरो कानमा भन्नुभयो-

“यति धेरै डाक्टर किन चाहियो ?”

मैले सामान्य देखिने प्रयास गर्दै भनेँ-

“रिपोर्टबारे छलफल गर्दै होलान् ।”

तर मनले मेरो आफ्नै उत्तर स्वीकार गरिरहेको थिएन ।


अचानक मेरो मनमा एकपछि अर्को डरका ढोका खुल्न थाले ।

कतै पेटको समस्या मात्र होइन ?

कतै भित्रैबाट रक्तस्राव त भएको छैन ?

कतै मुटुको समस्या त होइन ?

‘मुटु’ शब्द मनमा आउनेबित्तिकै मैले त्यसलाई धपाउन खोजेँ ।

तर डरलाई धपाउन खोज्दा डर झन् बलियो भएर फर्कँदोरहेछ ।


त्यत्तिकैमा एक जना डाक्टर हाम्रोतिर आउनुभयो ।

“अरुणजीका आफन्त ?”

हामी तीनै जना उठ्यौँ ।

डाक्टरले हातमा भएको कागज अगाडि बढाउँदै भन्नुभयो-

“उहाँलाई तुरुन्त गंगालाल अस्पताल लैजानुहोस् ।”

हामीले एकअर्काको अनुहार हेर्‍यौँ ।

“गंगालाल ?”

उहाँकी श्रीमतीको स्वर काँप्यो ।

“हो ।”

मैले सोधेँ-

“तर उहाँलाई त पेट दुखेको हो । मुटुको अस्पताल किन ?”

डाक्टर केही क्षण मौन रहनुभयो ।

“त्यहाँ पुगेपछि सबै कुरा बुझ्नुहुन्छ । अहिले ढिला नगर्नुहोस् ।”

“डाक्टर, के भएको हो ?”

यसपटक पनि स्पष्ट उत्तर आएन ।

“अहिले उहाँलाई गंगालाल पुर्‍याउनु नै ठीक हुन्छ ।”

बस् ।

त्यति मात्र ।

तर ती थोरै शब्दले हाम्रो मनमा ठूलो आँधी उठाइदिए ।

पेटको दुखाइले मुटुको अस्पतालसम्म पुर्‍याउने अवस्था ?


अब हामीले अरुणजीलाई पेट समातेर छट्पटाइरहेको मात्र देखिरहेका थिएनौँ ।

हामी उहाँको छातीभित्र केही खोजिरहेका थियौँ ।

अस्पतालकै एम्बुलेन्सको व्यवस्था भयो।

साइरन बज्यो ।

रातको सुनसान सडकलाई चिर्दै एम्बुलेन्स गंगालालतिर दौडियो ।

एम्बुलेन्सभित्र सेतो बत्ती बलिरहेको थियो । अरुणजी स्ट्रेचरमा हुनुहुन्थ्यो । उहाँकी श्रीमती उहाँको टाउकोनजिकै बसेकी थिइन् । दाइ चुपचाप अगाडि हेरिरहनुभएको थियो ।


मैले झ्यालबाट बाहिर हेरेँ ।

पानीले चम्किरहेका सडकहरू पछाडि छुटिरहेका थिए ।

तर मेरो मनमा एउटै शब्द अगाडि दौडिरहेको थियो-

मुटु ।

मुटु ।

हामीले त्यसलाई प्रेमको प्रतीक बनाएका छौँ । गीतमा गाएका छौँ । कवितामा लेखेका छौँ । कसैलाई असाध्यै माया गर्दा भनेका छौँ- “तिमी मेरो मुटु हौ ।”

तर त्यही मुटु एकपटक धड्किन छोड्यो भने ?

त्यसपछि बाँकी रहन्छ के ?

स्मृति ?

तस्बिर ?

नाम ?

वा केही पनि होइन ?

एम्बुलेन्सको साइरनले मेरो सोचाइलाई बीचैमा चिरेको थियो ।

मैले अरुणजीतिर हेरेँ ।

उहाँ आँखा चिम्लिरहनुभएको थियो ।

मलाई पहिलोपटक लाग्यो- मानिसको जीवन कति पातलो धागोमा झुन्डिएको हुँदो रहेछ !


गंगालाल अस्पताल पुग्नेबित्तिकै शिक्षण अस्पतालबाट दिएको कागज हेरेर त्यहाँका डाक्टरहरू गम्भीर भए ।

एक जनाले अर्का डाक्टरलाई बोलाए ।

अर्कोले फेरि तेस्रोलाई ।

केही मिनेटमै बिरामी वरिपरि डाक्टरहरूको संख्या बढ्दै गयो ।

“तपाईंहरू बाहिर बस्नुस्,” एक जना स्वास्थ्यकर्मीले भने।

अरुणजीलाई भित्र लगियो ।

ढोका बन्द भयो ।

हामी तीन जना बाहिर बस्याैं ।


त्यो ढोका त्यतिबेला साधारण अस्पतालको ढोकाजस्तो लागेन ।

त्यो ढोकाको अर्कोपट्टि अरुणजीको जीवन थियो ।

यतापट्टि हाम्रो प्रतीक्षा ।

उहाँकी श्रीमती कुर्सीमा चुपचाप बसिरहेकी थिइन् । हातमा भएको रुमाल पटकपटक मुठ्ठी पार्दै खोल्दै । उहाँका दाइ कहिले उठ्नुहुन्थ्यो, कहिले फेरि बस्नुहुन्थ्यो ।

बरण्डामा मानिसहरू आउँथे, जान्थे । स्ट्रेचरका पाङ्ग्राहरू घर्षणको आवाज निकाल्दै गुड्थे । नर्सको सेतो पोसाक टाढाबाट आउँथ्यो र फेरि अर्को मोडमा हराउँथ्यो ।

भित्तामा झुन्डिएको घडीको सेकेन्ड काँटा टिक्... टिक्... गर्दै घुमिरहेको थियो ।

तर हामीलाई समय घुमिरहेको जस्तो लागिरहेको थिएन।


“केही त थाहा पाए हुन्थ्यो,” उहाँका दाइले बिस्तारै भन्नुभयो ।

मैले भनेँ-

“डाक्टरहरूले हेरिरहेका छन् ।”

तर मेरो आफ्नै आवाजमा विश्वास थिएन ।

एकछिनपछि उहाँकी श्रीमतीले बिस्तारै सोधिन्-

“यदि मुटुको समस्या रहेछ भने ?”

मसँग उत्तर थिएन ।

केही क्षणपछि मात्र भनेँ-

“पहिले रिपोर्ट आउन दिनुस् ।”

उहाँले केही बोल्नुभएन ।

टाउको झुकाउनुभयो ।


त्यो क्षण अस्पतालको बरण्डामा हामीले एउटा कुरा बुझिरहेका थियौँ- काेठा भित्र बिरामीकाे उपचार भइरहेको हुन्छ, तर बाहिर पनि एउटा अदृश्य उपचार चलिरहेको हुन्छ । बिरामीलाई औषधि दिइन्छ; आफन्तलाई आशा दिइन्छ । बिरामीको पीडा कम गर्न औषधि चाहिन्छ; आफन्तको डर कम गर्न एउटा विश्वासिलो शब्द ।

तर त्यस रात हामीसँग त्यो शब्द पनि थिएन ।


एक घण्टा बित्यो ।

ढोका खुलेन ।

फेरि केही मिनेट बिते ।

कुनै खबर आएन ।

घडीको काँटा अघि बढिरह्यो ।

सायद त्यो जीवनकै सबैभन्दा लामो एक घण्टा थियो ।


अन्ततः ढोका खुल्यो ।

“अरुणजीका आफन्त ?”

हामी तीनै जना एकैपटक उठ्यौँ ।

डाक्टरले हामीलाई भित्र बोलाउनुभयो ।

हामी हतारिँदै अगाडि बढ्यौँ ।

सायद हाम्रो अनुहारमा डर यति स्पष्ट थियो कि डाक्टरले कुनै भूमिका बाँध्न आवश्यक ठान्नुभएन ।

उहाँले सीधै भन्नुभयो-

“नआत्तिनुस्। उहाँलाई खासै गम्भीर समस्या छैन ।”

हामी केही क्षण एकअर्काको अनुहार हेरिरह्यौँ ।

डाक्टरले रिपोर्ट हातमा लिएर भन्नुभयो-

“सामान्यतया मानिसको मुटु देब्रेतिर हुन्छ…।”

हामी चुपचाप सुनिरहेका थियौँ ।

“तर हजारौँ मानिसमध्ये कसैकसैको मुटु जन्मजात नै दाहिनेतिर पनि हुन्छ ।”

मैले अचम्म मान्दै सोधेँ-

“दाहिनेतिर ?”

“हो ।”

डाक्टरले सहज रूपमा टाउको हल्लाउनुभयो ।

“अरुणजीको मुटु पनि दाहिनेतिर रहेछ ।”

केही क्षणसम्म हामी कसैले केही बोल्न सकेनौँ ।

सायद मनले हामीलाई ठूलै रोगको खबर सुन्न तयार पारेको थियो, तर शरीरको एउटा अनौठो रहस्य सुन्न तयार पारेको थिएन ।


डाक्टरले थप्नुभयो-

“यसलाई चिकित्सकीय भाषामा डेक्स्ट्रोकार्डिया (Dextrocardia) भनिन्छ । यो दुर्लभ जन्मजात अवस्था हो । उहाँको हकमा यसले दैनिक जीवनमा खासै समस्या पारेको देखिँदैन । उहाँ सामान्य जीवन बाँचिरहनुभएको छ ।”

उहाँकी श्रीमतीले पहिलोपटक लामो सास फेरिन् ।

“त्यसो भए अहिले मुटुको समस्या होइन?”

“होइन ।”

डाक्टर मुस्कुराउनुभयो ।

“अहिलेको समस्या त ग्यास्ट्रिक बढेर भएको रहेछ ।”

हामीले एकैसाथ राहतको सास फेर्‍यौँ ।

अहिलेसम्म शरीरभरि जमेको डर एकाएक पग्लिएर आँखाबाट पानी बन्न खोजेजस्तो भयो ।


डाक्टरले फेरि सम्झाउनुभयो-

“तर उहाँको मुटु दाहिनेतिर भएको कुरा भने अबदेखि सम्झेर राख्नुहोस् ।”

“किन ?” उहाँका दाइले सोध्नुभयो ।

“भविष्यमा उहाँलाई कुनै अस्पतालमा उपचार गर्नुपर्‍यो, आकस्मिक अवस्था आयो वा कुनै प्रक्रिया गर्नुपर्‍यो भने चिकित्सकलाई यो जानकारी उपयोगी हुन्छ । त्यसैले उहाँले आफैँ पनि यो कुरा सम्झनुपर्छ ।”

उहाँकी श्रीमतीले टाउको हल्लाइन् ।

“हुन्छ, डाक्टरसाब ।”

“अहिले भने चिन्ता गर्नुपर्ने अवस्था छैन । औषधि दिइएको छ । घर लैजान सक्नुहुन्छ ।”

त्यो वाक्यसँगै हाम्रो काँधबाट मानौँ कुनै ठूलो पहाड झर्‍यो ।


घर फर्कंदा बिहानी प्रहर सुरु भइसकेको थियो ।

वर्षा रोकिइसकेको थियो ।

सडकहरू चिसा र सुनसान थिए । सडकबत्तीको उज्यालो भिजेको बाटोमा फैलिएको थियो । केही बेरअघि हामीलाई असह्य लामो लागेको त्यही सडक अब अनौठो रूपमा परिचित लागिरहेको थियो ।

गाडीभित्र अब पहिलेको जस्तो तनाव थिएन ।

अरुणजी पछाडिको सिटमा अडेस लगाएर बसिरहनुभएको थियो ।

मैले हाँस्दै भनेँ-

“अरुणजी, तपाईंलाई त आफ्नै मुटु कहाँ छ भन्ने पनि थाहा रहेनछ !”

उहाँले आँखा खोलेर मलाई हेर्नुभयो ।

केही क्षण चुप लाग्नुभयो ।

त्यसपछि मुस्कुराउँदै भन्नुभयो-

“मलाई के थाहा त दाइ ? मुटु त मुटु नै हो भनेर बसेँ ।”

गाडीभित्र हाँसो गुञ्जियो ।

केही घण्टाअघि मृत्युको आशङ्काले थरथराएका हामीहरू त्यही रात एउटा साधारण वाक्यमा हाँसिरहेका थियौँ ।

उहाँकी श्रीमतीले भनिन्-

“अबदेखि त जहाँ गए पनि भन्नुपर्छ- मेरो मुटु दाहिनेतिर छ भनेर ।”

अरुणजीले ठट्यौली गर्नुभयो-

“त्यसैले होला, म कहिलेकाहीँ अलि उल्टो सोच्दोरहेछु ।”

फेरि हाँसो ।

तर म भने चुप रहेँ ।

गाडीको झ्यालबाट बाहिर हेर्दै थिएँ ।


काठमाडौंको रात फेरि सामान्य भइसकेको थियो ।

तर मेरो मनमा एउटा कुरा गहिरिएर बसेको थियो ।

हामी मानिसलाई देख्छौँ- उसको अनुहार, शरीर, बोली, चालढाल, हैसियत र व्यवहार । तर ती सबैभन्दा भित्र एउटा यस्तो संसार हुन्छ, जुन आँखाले देखिँदैन ।

अरुणजीको मुटु देब्रेतिर थिएन ।

तर उहाँको माया देब्रेतिर थिएन र ?

उहाँको हाँसो देब्रेतिर थिएन र ?

जाडोमा स्वेटरविहीन विद्यार्थीलाई आफ्नो स्वेटर दिने त्यो मन देब्रेतिर थिएन र ?

मुटुको स्थान फरक हुन सक्छ ।

धड्कनको अर्थ फरक हुँदैन ।

त्यो रात मैले महसुस गरेँ- मानिसको शरीरभित्र कति रहस्य लुकेका हुन्छन् ! हामी वर्षौँसँगै बसेको मानिसको शरीरभित्र रहेको यस्तो असामान्य कुरा हामीलाई थाहा थिएन । बाहिरबाट ऊ बिल्कुल सामान्य थियो । सायद त्यसैले हामीले कहिल्यै उसको शरीरभित्र झाँकेनौँ ।


अस्पतालको त्यो रातले एउटा अर्को कुरा पनि सिकायो- मानिसको स्वास्थ्यलाई बाहिरी रूपले मात्र अनुमान गर्नु हुँदैन । आफ्नो शरीरबारे जान्नु, आवश्यक स्वास्थ्य परीक्षण गराउनु र आफूभित्रको कुनै विशेष अवस्थाबारे चिकित्सकलाई जानकारी दिनु आफ्नै जीवनप्रतिको जिम्मेवारी रहेछ ।

त्यो रात हामी मृत्युको डर लिएर अस्पताल गएका थियौँ । फर्किंदा जीवनको एउटा सानो रहस्य बोकेर आयौँ ।


भोलिपल्ट बिहान अरुणजी सधैँझैँ उठ्नुभयो ।

आँगनमा घाम विस्तारै फैलिँदै थियो । उहाँ चियाको कप लिएर बाहिर आउनुभयो । अनुहारमा अघिल्लो रातको कुनै भय थिएन ।

मलाई देखेर मुसुक्क हाँस्दै भन्नुभयो-

“आजदेखि मेरो परिचय फेरियो दाइ । म दाहिने मुटु भएको मान्छे भएँ ।”

मैले उहाँलाई हेरेँ ।

हिजो राति अस्पतालको सेतो बत्तीमा फुङ्ग उडेको त्यही अनुहार आज बिहानको घाममा फेरि उस्तै थियो- परिचित, आत्मीय र हँसिलो ।

मैले पनि मुस्कुराउँदै भनेँ-

“होइन, अरुणजी । तपाईं हिजो पनि त्यही मान्छे हुनुहुन्थ्यो । फरक यति हो- हिजो हामीलाई तपाईंको मुटु कहाँ छ भन्ने थाहा थिएन ।”

उहाँ केही क्षण चुप लाग्नुभयो ।

त्यसपछि चियाको कप ओठमा पुर्‍याउँदै मुस्कुराउनुभयो ।


बिहानको घाम झन् चहकिलाे हुँदै गयो ।

म उहाँलाई हेरिरहेँ ।

र मनमनै सोचेँ-

मानिसको मुटु कहाँ छ भन्ने थाहा पाउनु विज्ञान हो; त्यो मुटु कसका लागि धड्किन्छ भन्ने बुझ्नुचाहिँ जीवनको ज्ञान हो ।


—-अस्तु—-


Comments

Popular posts from this blog

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म