Posts

लघुकथा : हड्डी

Image
लघुकथा : हड्डी                      ✍️ मुरारीराज मिश्र किशाेरजी खानाकाे एकदमै शाेखिन । माछामासुका परिकार उनको प्रीय थियो । घरमा प्राय: खसी, कुखुरा र माछा पाक्ने भएतापनि श्रीमतीजीले ल्याउन नदिने भएकाले घरमा ठूलो खसी (राँगा) काे मासु भने पाक्दैनथ्याे । विद्यालयमा जाडाेकाे बिदा भएको थियोे । छाेराछाेरीले मामाघर जाने इच्छा गरेकाले छाेराछाेरी सहित केही दिनकाे लागि श्रीमतीजी माइती गएकाेले किशोरजी घरमा एक्लै थिए । उनकाे मनमा साथीहरुसंग बसेर घरमा खानपिन गर्ने मुड चल्यो । आज, मज्जाले ठूलो खसीको मासु पकाउनु पर्‍यो भनेर उनी बजारतर्फ लागे । नजिकैको पसलमा मासु किन्दा पछि श्रीमतीले थाहा पाउने डरले उनी घरभन्दा अलि परकाे पसलमा पुगेर एक किलाे मासु मागे । यत्तिकैमा ''ओहाे, मलाई त थाहै थिएन, किशाेरजी पनि ठूलाे खसीको मासु खानुहुँदाे रैछ !" भन्दै एक परिचित टुप्लुक्क पसल अगाडि आइपुगे ! श्रीमतीले थाहा पाउने डरले किशाेरजीले "हैन, घरमा पालेको कुकुरको लागि हाे" भनेर फ्याट्ट उत्तर फर्काए । त्याे संवाद सुनेर मासु...

लघुकथा: समुद्रीफल

लघुकथा: समुद्रीफल              ✍️ मुरारीराज मिश्र न्वारानकाे परम्परागत पूजादि कार्य सकिएकाे थियोे । खाना पाक्ने क्रममा रहेकाले पुरेतबाजे सहित परिवारका सदस्य तथा निम्तालुहरु चिया पिउँदै गफ गर्दै थिए ।  गफकाे बिषयवस्तु राजनीति देखि धर्मसम्म, देश-बिदेश, साकाहार-मांसाहार लगायत सबै थियोे । पुरेतबाजेले धर्म, दर्शन र साकाहारकाे पक्षमा दह्रो तर्क राख्नुभयाे ।  सबैजना पुरेतबाजेकाे कुरा चाख मानेर सुन्दै थिए । यसै बेला भान्साबाट खाना तैयार भएकोले खान आउने जनाउ आयाे । पुरेतबाजेलाई अघि लगाएर गफ गर्न बसेका मानिसहरु भान्सामा पसे । पुरेतबाजे अरुले नछाेईने गरी अरुभन्दा छुट्टै ठाउँमा बस्नुभयाे । खाना खाने र थप्ने क्रम चल्दै थियोे । घरकी आमैले माछाकाे परिकार बाँड्दै गर्दा पुरेतबाजेले `दुई टुक्रा माछा यता हाल्नुस् त आमै´ भनेर आफ्नो थाल थाप्नुभयाे । त्याे देखेर छाेराेले आश्चर्य मान्दै भन्याे `गुरु, तपाईं त साकाहारी हैन र ?´ `हाे बाबु म खसीको मासु खान्न, माछा त`समुद्रीफल´ हाे, यसलाई `पानी तरुल´ पनि भनिन्छ ! त्यसैले माछा चाहिँ खान्छु´ प...

लघुकथा: खुशी

Image
 लघुकथा: खुशी                     ✍️ मुरारीराज मिश्र म बजारमा सामान किन्दै थिएँ । मैले किनमेल गर्दै गरेको पसल नजिकै एउटा बालक पनि बेलुनहरुमा हावा भरेर बेच्दै थियोे । बुबाआमासंग बजार आएको अर्को बालकले बेलुनहरु देखेर आफ्नो बुबासंग हावा भरिएको बेलुन किनिदिनका लागि जिद्दी गर्‍याे । बुबाले बालकलाई बेलुन किन्नबाट टार्न निकै सम्झाए, तर बालकले मानेन । बालहठ अगाडि केही नचलेपछि बुबाले बालकलाई पैसा दिएर पठाए । बालकले बेलुन किनेर हातमा लियो । किन्ने-बेच्ने दुबै बालक खुशी देखिन्थे ! याे सबै घटनाक्रम नियालिरहेकाे मलाई लाग्याे, खुशी परिस्थितिमा निर्भर हुँदाे रहेछ ! किनकि, एउटा बालक बेलुन किन्दा खुशी देखिन्थ्याे भने, अर्को बालक बेलुन बेच्दा ।                           *** (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) हिमाली गुराँसमा प्रेषित 

भजन

 #प्रार्थना  पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। गर्न जान्दिन पाठ-पूजा म, गर्न जान्दिन ध्यान । कसरी गर्ने तिम्रो साधना, छैन प्रभु क्यै ज्ञान ।। बुद्धि बिनाकाे बालक ठानी, भक्ति गर्न सिकाऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। छुट्न सकेन लाेभ र माेह, रिस, राग र दम्भ । मर्दा सम्पत्ति लान्छु जस्तै, गर्छ मन याे अचम्म !! ज्ञानरुपकाे दीप जगाई, मायाजाल मेटाऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। ------------------------------------ ✍️ मुरामि

लघुकथा: मतदान✔️

लघुकथा: "मतदान"              ✍️ मुरारीराज मिश्र मतदानका लागि आएका एक बृद्धले मतदाता नामावलीमा आफ्नो नाम रुजु गराए पश्चात् मतदान अधिकृतलाई साेधे - "बाबू, मेराे छाेराे दुखीप्रसाद नेपाली अहिले भाेट हाल्न यहाँसम्म आउन सक्दैन । मिल्छ भने मेराे भाेट तपाँईले नै राम्रो उम्मेदवारलाई दिनुस् है बुबा भनेकाे छ, मिल्छ हाेला त !" "भाेट हाल्न ब्यक्ति आफैं उपस्थित हुनुपर्छ, नत्र अरु कसैले हाल्न मिल्दै मिल्दैन ।" रुखाे स्वरमा निर्वाचन अधिकृतकाे जवाफ आयाे । याे संवाद सुनिरहेका एकजना उम्मेदवारका बुथ प्रतिनिधिले त्यस अवधिमा नामावली चेक गरेछन् र बृद्धतर्फ हेर्दै भने - "तपाँईले आफ्नो छाेराकाे नाम दुखीप्रसाद नेपाली भन्नुभएको हैन बुबा ? उहाँले अघि नै आएर भाेट हालिसक्नु भएको देखिन्छ त यहाँ !" याे सुनेर अचम्मित बृद्धले निर्वाचन अधिकृतलाई भने - "ब्यक्ति आफैं नआई भाेट हाल्न मिल्दै मिल्दैन भन्नुभएको हैन अधिकृतज्यू ! मेराे छाेराे त राेजगारीकाे सिलसिलामा गत तीन बर्षदेखि अरबमा पाे छ त !!" (उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७) छछल्का, लघुकथासङ्ग्रहमा प्र...

लघुकथा : छट्पटी

✍️ मुरारीराज मिश्र अरुणजी हेर्दा खाईलाग्दाे युवा । पेशाले शिक्षक । एक दशक भन्दा अघि देखि उहाँकाे परिवार हामीकहाँ बस्दै आएको थियोे । यतिलामो समय एकैसाथ रहँदा उहाँमा कुनै स्वास्थ्य समस्या देखिएकाे थाहा थिएन । एकदिन रातकाे समय पेटकाे समस्याका कारणले उहाँ छट्पटीन थाल्नुभयाे । उहाँको छट्पटाइ देख्दा गम्भीर प्रकृतिको लाग्थ्यो । हामी सबै आत्तियाैं । तत्कालै ट्याक्सी खाेजेर उहाँको दाइ, श्रीमती र म सहित शिक्षण अस्पताल पुग्याैं । अस्पतालकाे आकस्मिक कक्षमा कागजी प्रक्रिया पूरा गरे पश्चात् उपचार सुरु भयाे । स्लाइन पानी चढाइए । विभिन्न परीक्षण गरिन थाले । करीब दुई घण्टा बित्याे । दुखाइ कम हुने ओैषधीका कारणले बिरामीकाे पीडा कम भएको देखिन्थ्योे । डाक्टरहरु बिरामीकाे रिपोर्ट हेर्दै के के सल्लाह गर्ने गर्थे । तर हामीले साेध्दा प्रष्ट केही नभनी उपचार हुँदैछ मात्र भन्थे । सात-आठजना डाक्टरहरुकाे निरन्तरकाे छलफल देख्दा, कुनै निकै नै गम्भीर राेगकाे आशंकाले हामीहरूकाे छट्पटी भने प्रतिक्षण बढ्दै थियाे । यसैबीच डाक्टरले हामीलाई बाेलाए । एउटा कागज हातमा दिंदै बिरामीलाई तुरुन्त गंगालाल अस्पताल लैजानु भने । हामीले...

मुक्तकहरु २

Image
घाउ गाेडामा छ, पाखुरामा मल्हम दल्दैछन् लाग्छ सबै विद्वान्‌हरु, रिमाेटबाट चल्दैछन् खै, याे प्रभाव राजनीतिकाे हाे वा माैसमकाे घिराैंलाकाे बाेटभरी, तितेकरेला फल्दैछन् !!                                            एकातिर टाठाबाठाहरु, सत्ताकाे आडमा माेजमस्ति गर् छन् अर्कातिर सर्वसाधारणहरु, सिटामाेलै नपाएरै मर्छन् प्राथमिकतामा `अस्पताल´ कहिल्यै पनि परेन याे देशमा नेता भने भ्यूटावर र शालिक, बनाउन मात्रै अघि सर्छन् ! संघर्ष हाे जीवन, काेही हार्छन् कसैले बाजि मार्छन्  काेही काेकाेहाेलाे गरि बस्छन्, काेही मन शान्त पार्छन्   आखिर एउटै त हाे नि, पीडा र वेदना सबैकाे  फरक यै छ - कोही आँसु झार्छन्, कोही हाँसेर टार्छन् !! आशाको डाेरी समाऊ, आँखाकाे आँसु लुकाऊ, खुच्चिङ् भन्ला समाजले ढाेका खाेल्दा मुस्कुराऊ । प्रजातान्त्रिक भनिने, संस्कार खै कता गाे ? सबैतिर, टीके र हुकुमी प्रथा हावी भाे ! पाउँदा चुप, नपाए मात्रै रुने हुन् सबै अलिकति भएनि, लाज त लाग् नै पर्ने हाे ! कतै ...