Posts

मुक्तकहरु - ३

Image
#मुक्तक तिम्रा लागि नयाँ फेवा नयाँ रारा बनाई दिन्छु तिम्रा लागि बेग्लै आकाश जुन तारा बनाई दिन्छु एकपटक मात्रै भन, प्रेमले मलाई "मेराे राजा" ताजमहल, रानीमहल, सारा का सारा बनाई दिन्छु केही छिन फुर्सद निकालेर, सम्बन्धहरु गाेड्नु छ बगैंचाभरी उम्रेका, झारपातकाे वर्चस्व ताेड्नु छ जति ढिला गर्‍यो उति, नाश हुने देखियो मलजलकाे अबदेखि सुगन्धहीन, बिरुवा राेप्ने बानी छाेड्नु छ । आफ्नै मान्छे बेकारमा भड्किन सक्छ खाँदा खाँदै घाँटीमा हड्डी अड्किन सक्छ  दशा लागेपछि, के हुन्छ के हुन्न भन्नु खै नभरेकाे बन्दुक पनि अचानक पड्किन सक्छ।  (वैजयन्तीमा प्रकाशित झर्काेफर्काे गरेपनि कर्के आँखा तरेपनि झन्‌झन् राम्रो लाग्दाे रैछ रिसाउँदै पर सरेपनि । पीरै पीरकाे रापले सुक्नु नपराेस् देख्छन् कि कसैले भनी लुक्नु नपराेस् खुशी खुशी बाँच्न पाईयाेस् स्वाभिमानी भै जिन्दगीमा कसै सामु झुक्नु नपराेस् ।  (वैजयन्तीमा प्रकाशित) सहन्छिन् जे परे पनि, धर्ती स्वरुप हुन् आमा माग्दिनन् कहिल्यै दिन्छिन् संधै वृक्ष स्वरुप हुन् आमा  शब्द नै पुग्दैन खै के उपमा दिउँ म आमालाई  चाहे मानिस हाेस् या पशु, देवी स्वरुप...

लघुकथा : माइतीकाे साँचो

Image
             ✍️ मुरारीराज मिश्र दराजमा सामान मिलाउँदै गर्दा सुजयाकाे आँखा एउटा साँचाेमा पर्‍यो । साँचाे हातमा लिँदै गर्दा उनकाे अगाडि आधा महिना अघिमात्र बित्नुभएकाे आमाका यादहरु झल्लली आउन थाले । "तिमीहरू दिनभरि घरमा हुन्नाै, काेही आएर बाेलाए पनि म कान त्यति नसुन्ने र हिंड्न नसक्ने भएकाले ढाेका खाेल्न सक्दिन । त्यसैले, मूलढाेका र भित्री रेलिङ गेटकाे एकएक वटा साँचो बनाएर सुजया दिदिलाई दे है बाबु ।" सुजयाकी आमाले आफ्नो छाेरा सुनिललाई यसरी अह्राएपछि भाइले साँचो बनाएर दिएकाे थियाे । जसले गर्दा चाहेको बेला आमालाई भेट्न सजिलो भएको थियाे । याे कुरा स्मृतिमा आउनासाथ उनको मनमा माइतीकाे ममता उर्लेर आयाे । साेचिन्, बाह्राैं दिनमा आमाको क्रियाकर्म सकेर फर्केकाे । माइतीकाे न्यास्राे लागेको छ । भाइबुहारीसंग भेटघाट भएपछि न्यास्राे पनि मेटिन्छ । आजसम्म भाइकाे क्रियाबिदा नै भएकोले गएर भाइलाई भेट्छु । ढाेकाकाे साँचाे पनि दिनु छ । माइतमा पुग्दा मूलढाेकामा ताल्चा लागेको थियो ।  उनले भाइलाई फाेन गरिन् । उसले आफू बाहिर गएकाे र फर्कन एकघण्टा जति लाग्ने बतायाे । "ठीकै छ ...

दर्शनीय धार्मिक स्थल: हलेसी महादेव

Image
✍️ मुरारीराज मिश्र विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सक्रिय स्थानीय सामाजिक संस्था उमामहेश्वर महिला समूहले, खाेटाङस्थित हलेसी महादेवकाे मन्दिरमा  २०७९  बैशाख २६ गतेका दिन आफ्ना सदस्य परिवारहरुबाट सामुहिकरुपमा पूजाआजा, हवन र सवालाख दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको थियोे । कार्यक्रममा सहभागी हुन ईच्छुकहरुकाे नाम संकलन हुँदै रहेछ । समूहकाे सचिवकाे नाताले घरबाट श्रीमतीजीकाे त जाने तय भईसकेकाे थियोे । यसअघि एकपटक पुगिसकेको स्थान भएतापनि मेराे मनमा पुनः जाने लाेभ पलाएकाेले नाम लेखाएँ । यातायात, खाना र बसाइकाे व्यवस्थापन गर्ने जिम्मा हरिशरण तीर्थयात्रा समितिका प्राेपाइटर माेहनप्रसाद अधिकारीदाइले लिनु भएकाे रहेछ ।  सबै मिलेर पूजा, हवन र सवालाख दीप बाल्न आवश्यक सामाग्री जुटाएर, चालक र ब्यवस्थापन टीमका ६ जना, पुराेहित दुईजना सहित ५२ जना यात्रु गरि जम्मा ५८ जनालाई लिएर  २०७९  बैशाख २५ गते आइतबार बिहान २ वटा बस कुमारीगालबाट हलेसीतर्फ प्रस्थान गर्‍याे । बिहानीकाे समय बाताबरण हल्का चिसाे थियो । बाटोमा दुईदिने यात्राको लागि आवश्यक पर्ने खानेपानी किन्ने र चियापान गर्ने क...

लघुकथा: कन्जुस छिमेकी

   ✍️ मुरारीराज मिश्र रामेश्वर गाँउकै प्रतिष्ठित र सम्पन्न ब्यक्ति । वरिपरि समाजमा उनको बाेलि बिक्थ्याे । घरमा नाेकरचाकर, गाडी सबै भएका र हुनेखाने ब्यक्ति भएकाले हाेला उनकाे व्यवहारमा केही अहम्‌ता देखिन्थ्यो । उनी अरुलाई हेपेर बाेल्थे । छिमेकी दिवाकर, रामेश्वरलाई मन नपर्ने पात्रमध्येका एक थिए । दिवाकर आफ्नो घरकाे धारा, बत्ती, ढल लगायत स-साना मर्मतसंभार र घरायसी काम आफैं गर्थे । उनले काम गरेको देख्दा रामेश्वर भन्थे - "कति कन्जुस्याइँ गरेकाे हँ ? यसरी सबै काम तिमीले नै गरेपछि, बिचरा कामदारले के खान्छन् ! पैसा बचाएर के गर्ने, मरेपछि संगै लान मिल्दैन क्यारे !"  उनी दिवाकरकी तडकभडक मन नपराउने पत्नीलाई पनि पार्टी/जमघटमा भेट्दा "गहना किन नलगाएकाे, दिवाकरले किनिदिएनन् कि क्या हाे ?" भनेर खिसी गर्न पछि पर्दैनथे । तर, रामेश्वरले जतिसुकै हाेच्याएपनि जवाफ फर्काउनुकाे सट्टा दिवाकर दम्पती पटकै पिच्छे फिस्स हाँसेर टारिदिन्थे । एकदिनकाे कुरा हाे, देश दशैंकाे माहोलमा थियाे । नवमीकाे राति रामेश्वरलाई अकस्मात् हृदयाघात भयाे । परिवारले अस्पताल लगे । आपतकालीन अपरेसन गर्नुपर्ने देखिया...

प्रार्थना : छँदा गर्भमा साेच्दथें ...

छँदा गर्भमा, साेच्दथें याे म गर्छु । सबै जीवकाे हितमा, लागिपर्छु ।। जसै जन्मिएँ, त्याे सबै विस्मरण भाे । म हुँ शक्तिशाली, यही मात्र भ्रम भाे ।। न कैले मनैमा, हरिनाम लेखें । न दुखीहरुमा, प्रभुलाई देखें ।। न भाेकाहरुलाई, खाना खुवाएँ  । नराखी दयाभाव, उल्टै रुवाएँ ।। म खाउँ, म बाँचु, रह्यो साेच यत्ति । बन्याे चित्त सानाे, झिंगा-शिर जत्ति ।। न बाँडे कतै प्रेम, बन्दै सुपात्र ।। संधै मै हुँ भन्दै, बनें दम्भी मात्र ।। न संगत गरें साधु, सज्जनहरुकाे । गरि रिस मात्रै, बसें म अरुको ।। फलेको कुनै, बृक्षजस्ताे झुकिन । पूरा गर्न स्वार्थ, म कैले चुकिन ।। न सत्कर्म, शास्त्रादिमा, मन लगाएँ । न भाे पाठपूजा, त्यसै दिन बिताएँ ।। न तीर्थै घुमे म, न गङ्गा नुहाएँ । अहाे ! दिव्य चाेला, फगतमा गुमाएँ ।। भयाे बृद्धकाया, बखत भाे मरणकाे । अनि याद आयाे, प्रभुकाे शरणकाे ।। म बुझ्दैछु बल्ल, झुठो रैछ सृष्टि । परें म चरणमा, प्रभु देऊ दृष्टि ।।                          ...

लघुकथा: "दिव्य दृष्टि"

Image
 ✍️ मुरारीराज मिश्र, "मैले पनि मरणाेपरान्त आँखा दान गरेर आएँ नि दाइ ।" रमेशले प्रफुल्ल मुद्रामा दाजु दिनेशलाई सुनायाे । "पहिले-पहिले मैले यसबारेमा बताउँदा, कानमा बतास लगाएकाे थिईनस् त ! अहिले कहाँबाट बुद्धि पलायो तेराे ?" दिनेशले प्रश्न गर्‍यो । "केही महिना अघिकाे एउटा दुर्घटनामा मेराे साथीकाे नेत्रज्योति गुमेकाे थियोे । आँखा दान गरेकाे कुनै दानीकाे कृपाले, शल्यक्रियाबाट उसले पुनः संसार देख्ने अवसर पायो । म यसैबाट प्रभावित भएँ ।" रमेशले जवाफ दियाे । नजिकै बसेकी उनीहरूकी बृद्ध आमाले, दाजुभाइकाे कुरा सुनेर भनिन् - "मृत्युुपछि शरीरकाे कुनै अङ्ग छुट्याएर जलाएमा, अर्को जन्ममा त्यो मान्छे छुट्याएको अङ्गविना जन्मन्छ रे  ! याे कुरा पण्डित बुद्धिप्रसादले प्रवचनमा भन्नुभएको थियोे बाबु । त्यसैले आँखा दान गरेकाे ठीक लागेन है मलाई त !" आमाकाे उक्त भनाइमा असहमति जनाउँदै दिनेशले भन्याे - "यस्तो हैन आमा, आँखा दान गर्ने भनेको पुरै आँखाको डल्लो झिक्ने नभई आँखामा रहेकाे पातलो जाली मात्रै निकालिने हाे । एकजना मान्छेकाे आँखा दानबाट दुईजना दृष्टिविहीनले संसा...

लघुकथा: सन्तानकाे माया

            ✍️ मुरारीराज मिश्र एक विदेशी कम्पनीसंग राम्रो सेवा सुबिधा सहित तीनबर्षे अवधिका लागि काम गर्ने सम्झाैता सम्पन्न भएकाले दीपक खुशी देखिन्थ्यो । भीसा लगायतका काम पनि कम्पनीकै पहलमा समयमै सकिएकाे थियोे । जानुपर्ने समय छाेटाे भएकोले उ आफूले लाने सरसामानकाे जाेरजाममा व्यस्त थियोे ।  छाेरी विदेशमै रहेको र साथमा रहेको छाेराे पनि विदेश गएपछि एक्लो बस्नुपर्ने खिन्नता भएतापनि छाेराकाे सुखद भविष्यलाई सम्झेर उसका बाबुआमाले पनि मन बुझाएका थिए ।  यसैक्रममा एकदिन घरमा छाेरा नभएकाे बेला पारेर उस्की आमाले पतिसंग भनिन् - "घरमा हामी दुईजना मात्रै हुने भयाैं । साथमा छाेराछाेरी नहुँदा साह्रै शून्य हुन्छ अब । यस्तै सम्झेर खिन्न हुन्छु म त !" "यसरी दिक्क मान्नु हुन्न । हेर, उसकाे प्रगति गर्ने बेला हाे याे । हामीलाई खिन्न देखेर उसलाई पनि नराम्रो लाग्छ नि ! यही सम्झेर मैले कुनै पीर गरेकै छैन, तिमीले देखेकै छाै नि !" पतिले सम्झाउँदै भन्याे । "त्यै त, तपाईंलाई दुख लागेकै रैनछ नि ! हिजाे छाेराकाे काेठामा पसेर, आँखाभरी आँसु पार्दै भीसा लागेको पासपोर्ट हेरेर टाेलाउनु...