Posts

प्रार्थना : थाहा छैन कहिले हान्छ...

थाहा छैन कहिले हान्छ, यमपाशले धक्का ! अहम् त्यागी बाँच्न सिकाैं, मर्नु पर्छ पक्का ।। हुँदैन है संधैभरी, एकैनासकाे दिन । जे हुनु छ भई नै हाल्छ, व्यर्थै चिन्ता किन ? मानिसको जिन्दगी हाे, कुमालेकाे चक्का । सुखदुःख घुमि-घुमि, आउँछ जान्छ पक्का ।। ठूलो-सानाे, धनी-गरीब, किन भेदभाव ? जानुपर्छ खाली हातै, छाेडाैं रिस-राग ।। धाउनु भन्दा- गुम्बा, मन्दिर, मदिना र मक्का । आफैंभित्र खाेज्न थालाैं, ईश्वर मिल्छन् पक्का ।। थाहा छैन कहिले हान्छ, यमपाशले धक्का ! अहम् त्यागी बाँच्न सिकाैं मर्नु पर्छ पक्का ।। ~~~~~~~~~~~ ✍️ मुरामि ~~~~

लघुकथा : हकदार

Image
✍️ मुरारीराज मिश्र, स्वर्गबाट प्रकाशित हुने दैनिक पत्रिकामा सूचना छापिए बमोजिम, ताेकिएकाे दिन चित्रगुप्तकाे कार्यालयकाे हलमा मानिस जम्मा हुन थाले ।  एक, दुई ... गर्दै हजारौं नेपाली थुप्रिए । सानो हलमा त्यतिका मान्छे अटाउने कुरै थिएन । भित्र नअटेपछि आगन्तुकहरुले आयाेजकलाई घेराउ गरे । "सम्मानका लागि बाेलाएर हामीलाई बस्ने ठाउँ समेत नदिने !" भन्दै नारावाजी र ताेड्‌फाेड् समेत हुनथाल्याे । असहज स्थिति र अराजकता बढ्दै गएपछि चित्रगुप्तकाे मध्यस्थतामा वार्ता टाेली बनेर  तत्कालै छलफल सुरु भयो । "हामीले चारजना सहिदकाे सम्मान कार्यक्रम पाे राखेका हाैं त, तपाईंहरुलाई सम्मान गर्ने भनेर कस्ले भनेकाे थियोे र ?" छलफलकाे क्रममा आयाेजकले भने ।  याे सुनेर आन्दोलनकारी टाेलीकाे प्रतिनिधि कड्किंदै बाेल्याे "हामी पनि सहिद हाैं, त्यसैले सम्मानका हकदार हाैं ! लागूपदार्थ सेवन, लुटपाट, आगजनी, हत्या या सवारी दुर्घटनामा, जसरी मरेपनि हामीलाई सरकारले सहिद घाेषणा गरेकै छ त !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्रकाशित प्रहरीमा प्रेषित 

लघुकथा : मानवीयता

Image
            ✍️ मुरारीराज मिश्र, बाटोमा एकसुरले हिडिरहेकाे अमित, छेउको नालीबाट आईरहेकाे आवाज सुनेर नालीतर्फ माेडियाे । निहुरिएर नालीभित्र हेर्‍यो । अनि, पिठ्युँमा बाेकेकाे झाेला हतारहतार भुईंमा राख्याे । जुत्ता फुकाल्याे । कमिजकाे बाहुला र पाइन्टकाे माेता सार्दै नालीतिर ओर्लियाे । एउटा मानिस अचानक त्यसरी नालीमा पस्न लागेकाे देखेर काैतुहलतापूर्वक मानिसहरु झुम्मिए । भीडबाट एउटाले साेध्याे "हैन, के भयाे किन छिरेको नालीमा ?"  "नालीमा बच्चा खसेछ, निकाल्दैछु" उसले तलतिर ओर्लिंदै जवाफ दियाे । उसको जवाफ सुनेर मानिसहरु "कठै बिचरा, कसको बच्चा रहेछ ! जिउँदै त हाेला नि ?" भनेर विस्मात् मान्दै अझै झुम्मिएर हेर्नथाले ।  एकछिन पछि, कुकुरको सानाे बच्चाे हातमा बाेकेर उ नालीबाट निस्कियाे । नसाेचेकाे दृश्य देखेर मानिसहरू भन्न लागे "जाबो एउटा छाउरो बचाउन पनि त्यस्तो फोहोरमा पस्ने, कति मूर्ख रहेछाै तिमी त !" सहज भावमा उसले भन्यो "छाउरो होइन, मैले मानवीयता बचाएको हुँ ।" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) विमलजीलाई तेस्रो सङ्ग्रहका लागि २०८२-०८-०९ मा प...

लघुकथा: जिज्ञासा

Image
            ✍️ मुरारीराज मिश्र, म : त्यहाँ त `हिन्दु धर्मावलम्बीहरुकाे लागि मात्रै मन्दिरभित्र प्रवेश´ भनेर साइनबोर्ड राखेको छ हैन र ? उ : ए, हाे र ! तर, त्यस मन्दिरको सम्पूर्ण व्यवस्थापन हेर्ने तालुकवाला अफिसकाे मुख्य हाकिम नै गैरहिन्दु छन् रे नि त !´ म : अनि ती हाकिमसाहेव चाहिँ मन्दिर भित्र पस्छन् कि पस्दैनन् हाेला हगि !!! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्रकाशित

लघुकथा: गुराँस

Image
             ✍️ मुरारीराज मिश्र, `गुराँस फुलेकाे एउटा हाँगो भाँचिदिनुस् न मेरा लागि´ उनले भनिन् । `हेरेर रमाऊ, तस्बिर खिच, हाँगै किन चाहियाे तिमीलाई !´ मैले भनें । `उता हेर्नुस् त ! यहाँ आएका सबैका जाेडी, गुराँसका राताम्ये हाँगो बाेकेर रमाउँदै हिँडिरहेका छन्, तस्बिर खिच्दैछन् तर तपाईं भने कति निरस मान्छे हँ ! गुराँस फुलेको एउटा हाँगो लाछिदिन पनि नमान्ने ! कस्तो बुढा पाइछु मैले त !´ उनी ठसक्क पर्दै फत्‌फताईन् । मैले फकाउँदै भने `हेर, भीरका रुखहरुमा ढकमक्क फुलेका गुराँसका फूल कति मनमाेहक देखिएका छन् ! भुइँमा छरपस्ट फूल र हाँगाहरुमा त्यो सुन्दरता भेट्छ्याै तिमी ! प्राकृतिक साैन्दर्य त नियाल्न पाे मजा आउँछ ! याे साैन्दर्यता मास्न उद्दत मानवीय प्रवृत्ति देखेर दिक्क लाग्छ मलाई !´ (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७) (शब्दाङ्कुर २०८१ बैशाखमा प्रकाशित ) दाेहन लघुकथासङ्ग्रहमा समावेश 

लघुकथा: भविष्यद्रष्टा

Image
          ✍️ मुरारीराज मिश्र `तेरा मालिक मालिकनी दुवैलाई एकपटक भेट्न खाेजेकाे छु, खबर गरिदे है बाबु ! भनेर बुबाले भनि पठाउनु भएको छ ।´ भन्दै थियाे ड्राइभरले आएर ! एकपटक जाऊँ न त ! ममताले पति सुशीलसंग भनिन् । "किन हाे, साेधिनाै ?" उसले प्रतिप्रश्न गर्‍यो । "उहाँ बिरामी पनि हुनुहुन्छ रे ! जाओैं न, थाहा भईहाल्छ नि !" पत्नीको जवाफ आयो  सुशीलले पत्नीको मुख पुलुक्क हेर्‍यो । नयाँ ग्यारेज बनाएपछि कम्पाउण्डभित्रकाे कुनामा  प्रयाेजनविहीन रहेको पुरानाे ग्यारेजमा दशबर्ष अघि आमाबुुबाकाे अनिच्छाकाे बाबजुद उहाँहरुलाई बेग्लै रााखिदिएकाे थियोे उसले । त्यसपछिका दिनमा बुबाले यसरी बाेलाएकाे याे नै पहिलोपटक थियोे । दुबै जना सिकिस्त अवस्थामा रहेका बुबालाई भेट्न पुगे । सुतिरहेका बुबालाई बाेलाए । बिस्तारै आँखा उघार्दै बुबाले खाटकाे छेउ देखाएर बस्ने इसारा गर्नुभयो ।  सुशीलले साेध्याे "बुबाले बाेलाउनु भएको रहेछ !" "हाे बाबु, केही भन्नु थियाे त्यसैले बाेलाएकाे मैले । याे टहरामा पानी चुहिन्छ । तेरी आमा बाँचुन्जेल रातभर नसुती नसुती चुहिएको पानी थाप्थी, त्यसैले छानाको जस्ता फ...

लघुकथा: समय

Image
                ✍️ मुरारीराज मिश्र, हिजो : उ विद्यार्थी थियोे । चिच्याउँथ्याे “हामीले पढ्न चाहेर मात्रै के गर्नु ! पढाउने राम्रो शिक्षक पनि त चाहियो !!” आज: उ शिक्षक छ । फेरि चिच्याउँदै छ “हामीले पढाएर मात्र के गर्नु ! राम्रा विद्यार्थी पनि त चाहियो !!" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) (शब्दाङ्कुर २०८१ बैशाखमा प्रकाशित )