लघुकथा : ऐना
✍️ मुरारीराज मिश्र
मध्यरातमा फोन बज्यो । "भाइ, बुबालाई सास फेर्न गाह्रो भयो । अस्पताल लाँदैछु, तुरुन्त आऊ !" दाजु प्रकाशको काँपिरहेको स्वर सुनियो । रमेश हतारिँदै निस्कियो । अस्पतालतर्फ दौडँदा बुबाले बाल्यकालमा सुनाउनु भएको भानुभक्तको रामायण झल्झली सम्झियो । उसलाई लाग्यो, भाइ हुनु भनेको संकटमा लक्ष्मणझैँ दाजुको साथमा उभिनु हो । अस्पताल पुग्दा आकस्मिक कक्षबाहिर प्रकाश बेचैन थिए । "दाजु, नआत्तिनुस् । जति खर्च लागे पनि म बेहोर्छु । पहिले बुबालाई बचाऔँ ।" प्रकाशले भाइलाई अँगालो हाले, "तिमीजस्तो भाइ छाै र त मलाई ढुक्क छ। नत्र, म एक्लैले के गर्न सक्थे र ।” तीन घण्टापछि डाक्टरले भने, "अब खतरा टर्यो ।" दुवैले राहतको सास फेरे । प्रकाश बुबालाई हेर्न आईसीयूभित्र पसे । रमेश बिल तिर्न काउन्टरतिर लाग्दा भुइँमा एउटा मोबाइल देख्यो । हतारमा कसैको खसेको होला भन्दै उठाएर खल्तीमा राख्यो । बिल तिरिसकेपछि मोबाइल बज्यो । निकालेर हेर्दा त्यो प्रकाशकै रहेछ । स्क्रिनमा नयाँ सन्देश देखियो । उसको नजर त्यसमै अडियो । त्यत्तिकैमा, आईसीयूको ढोका खुल्यो । प्रकाश आँखा पुछ्दै बाहिर आए । "बिल तिरिस् ?" उनले सोधे । रमेशले कुनै उत्तर दिएन । मोबाइल चुपचाप उनको हातमा थमाइदियो । प्रकाशको अनुहार एकाएक निस्तेज बन्यो । उनले झटपट मोबाइल खल्तीमा हाले । नजिकैको भित्तामा झुन्डिएको ऐनामा दुवैको प्रतिबिम्ब सँगसँगै उभिएको थियोे । त्यहाँ एउटाको अनुहार आँसुले भिजेको देखिन्थ्यो भने अर्काको चरित्र । रमेशकाे आँखामा भने मोबाइलको सन्देशका अक्षरहरू झलझल्ती नाचिरहेका थिए - "प्रकाशजी, बुबा पूर्ण होसमा आउनुअघि तयार गरिएको बकसपत्रमा उहाँको औँठाछाप गराइहाल्नुहोस् । ढिलो भयो भने कानुनी झन्झट हुन सक्छ । - वकिल”
Comments
Post a Comment