प्राचीन बस्ती कुमारीगाल र यस क्षेत्रमा रहेका देवी देवताहरु
✍️ मुरारीराज मिश्र
परिचयः
पबित्र पाशुपतक्षेत्र भित्रका प्रशिद्ध तीर्थस्थलहरु श्री पशुपतिनाथ, गुह्येश्वरी, गौरीघाट, किरांतेश्वर तथा पबित्र नदी बागमतीको उत्तर तथा बौद्धनाथ स्तुपाको दक्षिणभागमा अवस्थित कुमारीगाल, धार्मिक महत्व बोकेको एक प्राचीन बस्ती हो । लिच्छवीकालिन उमामहेश्वरको मूर्ति यसै क्षेत्रमा स्थापना भएको भेटिनुले पनि यस क्षेत्रको प्राचीनतालाई झल्काउंछ ।हालः कुमारीगालको नामले चिनिने यो बस्तीलाई कुनै समय जोगीटार भनिने गरिएको र त्यसपछि सखिञ्चपाल समेत भनिएको जनश्रुति छ । तर यस बस्तीको पूर्बि–उत्तर भागमा त्यस समयमा भिक्षाटन गरेर जीवनयापन गर्ने धेरै जोगी–सन्यासीहरुको बसोवास रहेको कारणले उक्त भागलाई मात्र जोगीटार भन्ने गरिएको हो, पुरै बस्तिलाई जोगीटार भनिएको होईन भन्ने बताउनु हुन्छ स्थानिय नारायणराज मिश्र ।
त्यसबेला यस क्षेत्रको पूर्बि–दक्षिण भागको खेतमा साखिचा नामक सागको निकै उब्जनी हुने गरेकोले उक्त केहि भागलाई त्यस समय साखिचापाल र पछि सखिञ्चपाल भनिएको हुनसक्छ भन्ने स्थानीयहरुको मत छ । तर अहिले पुरै बस्तीलाई कुमारीगाल भनिने गरिन्छ । जुन नामाकरण यस बस्तीमा स्थापना गरिएका कुमारीस्थानहरुकै कारण भएको हो । गहिरो अथवा खाल्टो परेको स्थानलाई गाल भनिने गरिएको र त्यतिबेला स्थापना भएका कुमारीस्थानहरु खाल्टो परेको ठांउमा रहेका कारणले गर्दा यस क्षेत्रलाई कुमारीगाल भनिएको भन्ने कुरा आफूले आफ्ना हजुरबुबा अग्नीहोत्री नारायणप्रसाद लामिछाने (स्व.) बाट सुनेको स्थानीय समाजसेवी प्रवेश लामिछाने बताउनुहुन्छ ।
देशमा पञ्चायतको स्थापना पछि भगवानस्थान आदर्श गाउंपञ्चायतको वडा नंं. १ मा परेको यो क्षेत्र, काठमाडौं नगरपालिका भएपछि यो का.न.पा. वडा नं. ७ मा परेको थियो । हालः काठमाडौं महानगरपालिकाको ७ नं. वडा भित्रको यो स्थान निर्वाचन क्षेत्र ४ मा पर्दछ । देशका बिभिन्न क्षेत्रबाट आएका बिविध जाती–जनजातीहरुको मिश्रित बसोवास रहेको यस क्षेत्रमा करिव दुई हजार घरधुरी रहेका छन् भने जनसंख्या अन्दाजी दशहजारभन्दा माथि रहेको अनुमान छ ।
बस्तीका वरिपरि प्रशिद्ध धार्मिक तीर्थस्थलहरु रहेकै कारणले होला यहाँका बासिन्दाहरुले आफ्नो क्षेत्रमा पनि बिभिन्न देवी–देवताहरुको स्थापना गरेका छन् । जसमा, कुमारीस्थान, उमामहेश्वर मन्दिर, पञ्चमुखी हनुमानस्थान र चन्द्र बिनायक गणेश मन्दिर, चतुर्मुखी नारायण आदि प्रमुख छन् । यहाँका प्रायः पुराना घरहरुमा नागस्थान स्थापना गरि पूजाआजा गर्ने गरेको पाईन्छ ।
कुमारीस्थानः
कुमारीकै नामबाट नामाकरण भएको यस क्षेत्रको बस्तीका पाँच ठाउंमा पहिले पाँचवटा कुमारीस्थान स्थापना भएको जनश्रुति छ । पाँचवटा कुमारीस्थानलाई पञ्चकुमारी भनिन्थ्यो । यी कुमारीस्थानहरु बस्तीका पाँच कुनामा थिए । बस्ती बिस्तारको क्रममा जग्गा अतिक्रमण संगै कालान्तरमा ती पाँच मध्ये तीनवटा कुमारीस्थानहरु हराउन पुगे । ती शायद अझै कसैका घर कम्पाउण्डमा निजी देवताकारुपमा लुकाईएका वा नासिएका दुवै हुन सक्छन । बाँकी कुमारीस्थान मध्ये कुमारीगालको पूर्बतर्फ बौद्धद्वार मार्गमा एउटा र कुमारीगालको उत्तर–पश्चिम टुसाल मार्गमा एउटा गरि दुईवटा कुमारीस्थानहरु बिभिन्न समयमा भएका जग्गा अतिक्रमणको बावजुद अब नासिन नसक्ने गरि हालः अस्थित्वमा रहेका छन् ।यि कुमारीस्थानहरु प्राचीनशीलाको रुपमा पुजिंदै आएको भएतापनि कस्ले स्थापना गरेको हो भन्ने पक्का प्रमाण पाईंदैन । बस्तीको नामाकरण भएको देवीस्थानको नाताले स्थानीयले यस्को संरक्षण र सम्वर्धन गर्दै आएका छन ।
यहाँ रहेका कुमारीहरु यदाकदा बस्तिको बरिपरि घुम्ने गरेको जनबिश्वास यहाँका बासिन्दाहरुमा छ । कुमारीलाई बालरुपमा रातको समयमा छमछम गर्दै हिंडेको आफूले प्रत्यक्ष देखेको बताउनु हुने स्थानिय ८१ बर्षिय गणेश डंगोल कुमारी साक्षात देवी भएको मान्नुहुन्छ । यस्तै अनुभव अन्य कतिपय स्थानियहरुको पनि छ । कुनै बिशेष अवसरमा मेला नलागेपनि शनिवार र नवरात्रीको समयमा बढि दर्शनार्थीहरु आउने र अन्य समयमा यी कुमारीस्थानहरुमा स्थानीयहरुले आ–आफ्नो श्रद्धा अनुसार दर्शन र पूजाआजा गर्ने गर्दछन् ।
उमामहेश्वर मन्दिरः
कुमारीगालको बिचभागमा अवस्थित उमामहेश्वरको मन्दिर यसक्षेत्रको महत्वपूर्ण स्थान हो । उमामहेश्वरको संयुक्त मूर्ति कुंदिएको प्राचीन र आकर्षक मूर्तिले यस क्षेत्रको ईतिहास समेत बताउंछ । पशुपतिनाथ र यस वरपरका अन्य उमामहेश्वरको मूर्तिसंग मेल खाने यो मूर्ति करिव १३–१४ सयबर्ष पुरानो लिच्छवीकालिन मूर्ति भएको कुरा पशुपति क्षेत्र बिकास कोषका सदस्य–सचिव बरिष्ठ संस्कृतिबिद् डा. गोविन्द टण्डनले मूर्ति अवलोकनको क्रममा बताउनु भएको छ । यस मूर्तिको स्थापना यहाँ भएको तथ्यलाई आधार मान्दा यो कुमारीगाल क्षेत्रलाई निकै प्राचीन बस्ति मान्न सकिन्छ ।
उमामहेश्वर मन्दिरः
कुमारीगालको बिचभागमा अवस्थित उमामहेश्वरको मन्दिर यसक्षेत्रको महत्वपूर्ण स्थान हो । उमामहेश्वरको संयुक्त मूर्ति कुंदिएको प्राचीन र आकर्षक मूर्तिले यस क्षेत्रको ईतिहास समेत बताउंछ । पशुपतिनाथ र यस वरपरका अन्य उमामहेश्वरको मूर्तिसंग मेल खाने यो मूर्ति करिव १३–१४ सयबर्ष पुरानो लिच्छवीकालिन मूर्ति भएको कुरा पशुपति क्षेत्र बिकास कोषका सदस्य–सचिव बरिष्ठ संस्कृतिबिद् डा. गोविन्द टण्डनले मूर्ति अवलोकनको क्रममा बताउनु भएको छ । यस मूर्तिको स्थापना यहाँ भएको तथ्यलाई आधार मान्दा यो कुमारीगाल क्षेत्रलाई निकै प्राचीन बस्ति मान्न सकिन्छ ।
यस मूर्तिको स्थापना पनि कस्ले गरेको यकिन छैन । भगवानस्थान आदर्श गाउंपञ्चायतको प्रधानपञ्च समेत भईसकेका श्रम राष्ट्रिय मा.वि., कुमारीगालका पूर्व प्रधानाध्यापक विजय सिंह बर्मा परिवारको पिता–पुर्खाको जग्गामा रहेको माटोको ढिस्को खन्ने क्रममा फेला परेको सो मूर्तिलाई स्थानीय बासिन्दाहरुको पहलमा हालःको स्थानमा स्थापना गरिएको भन्ने कुरा आफ्ना बावु बाजेबाट सुनेको स्थानीय ८२ बर्षिय बयोबृद्ध गोविन्द पण्डित स्मरण गर्नुहुन्छ । उहाँका अनुसार यस मन्दिरको नित्यपूजाका लागि उमामहेश्वर खान्की गुठी स्थापना भएको थियो । तर सो को लागि छुट्याएको जग्गा–जमिन र आयस्ताको बारेमा कुनै लिखत नभेटिएकोले स्पष्टता छैन । उमामहेश्वर मन्दिर पण्डित खलकका ईष्टदेवता भएकाले सन्ततीहरुको पास्नी, विहे र ब्रतवन्ध गर्नु पूर्व यहाँ पूजाआजा गर्ने परम्परा रहेको छ ।
पहिले पहिले उमामहेश्वरको मूर्ति वरिपरि धेरै नागहरु रहने र मूर्तिको शिरमा समेत रातो नाग बस्ने गरेकोले यस मन्दिरमा छाना राख्न नहुने चलन चलेकोमा एकपटक मन्दिरमा छाना हाल्ने प्रयास गर्ने ब्यक्तिको शरीर कुंजो परेको भन्ने जनश्रुतिका आधारमा सो मन्दिरको मूर्ति माथि हालः सम्म छानो नहालिएको पण्डितको भनाई छ । यस क्षेत्रमा पहिले खडरी पर्दा पञ्चकन्याद्वारा उमामहेश्वरको पूजा आजा गर्दा पानी परेको र यसै उमामहेश्वरले कुमारीगालको संरक्षण गर्ने भएकाले यस क्षेत्रमा हालः सम्म कुनै रोगको महामारी नभएको कुरा समेत उहाँले बताउनु भयो ।
उमामहेश्वरको यस मूर्ति, तल्लो भागमा करिव ८–९ फिट लामो एउटै शीलाखण्ड सहितको ठूलो भएकैले जिर्णाेद्वारको क्रममा सोझो पार्न नसकिएको र बढि जोड गर्दा भाँचिने डरले अलि बाङ्गो अवस्थामा नै राखेर मर्मत संभार गरिएको कुरा मन्दिर संरक्षणमा अग्रणी भूमिका खेल्नुहुने स्थानीय ध्रुवप्रसाद न्यौपानेको भनाई छ । यहि मन्दिरको नामबाट स्थानीय सडकलाई उमामहेश्वर मार्ग नामाकरण गरिएको छ भने, उमामहेश्वरकै नामबाट महिला समूह गठन भएको छ । जस्ले प्रत्येक एकादशी तिथीमा मन्दिर परिसरमा भजन कीर्तन र शिवरात्री तथा अन्य अवसरमा पूजाआजा र भजन कीर्तन गर्दै आएको छ । यस मन्दिरमा स्थानीय मधुसुदन गौतमको परिवारले आफ्नै तर्फबाट बिहान बेलुका नियमित पूजाआजा र आरती गर्दै आएको छ ।
खरिबोट पञ्चमुखी हनुमान स्थानः
आजभन्दा करिव ७२–७३ बर्ष अघि स्थानीय भेषनाथ रिमाल (स्व.) ले कुमारीगालको पूर्वि–दक्षिण भागमा रोप्नु भएको खरिको बिरुवा जुन अहिले खरिबोटको नामले प्रसिद्ध छ, त्यहि खरिको रुखमा पछि चौतारो निर्माण गरिएको थियो । उक्त स्थानमा नवरात्री, चतुर्मास लगायत चाडपर्वको समयमा स्थानिय पण्डित कृष्णप्रसाद रेग्मी (स्व.) ले भागवत, नेपाल महात्म्य र चतुर्मास पुराण आदि भन्ने गर्नु हुन्थ्याे ।
खुल्ला रुपमा रहेको सोहि चौतारामा स्थानीयको सहयोगमा खरिको रुखलाई बिचमा पारि २०५३ सालमा आएर प्रवचन गर्ने स्थान सहित मन्दिर बनाईएको हो । उक्त मन्दिरमा स्थापना गरिएको पञ्चमुखी हनुमानको मूर्ति स्थानिय केशवप्रसाद घिमिरेले आफ्नै ब्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको हो । सोहि बेला देखि उक्त स्थान खरिबोट पञ्चमुखी हनुमानस्थान भनेर चिनिन थालेको हो ।
२०५३ साल भाद्र १३ गते देखि सो स्थानमा ७ जना बिद्वानहरुले हप्ताको १–१ दिन आएर धर्म र संस्कृतिका बारेमा प्रत्येक दिन साँझ बिना कुनै पारिश्रमिक प्रवचन गर्ने गर्नु भएको छ । जुन कार्य हालः सम्म निरन्तर चलिरहेको छ । प्रवचन दिने बिद्वानहरुलाई प्रत्येक बर्ष गुरुपूर्णिमाको दिन स्थानियहरुको तर्फबाट सम्मान गरिने परम्परा छ ।
स्थापना भएको दुई दशक मात्रै भएको भएतापनि यसक्षेत्रको वरिपरि पञ्चमुखी हनुमानको अन्य मन्दिर नभएकोले यस मन्दिरप्रति स्थानीयको आस्था बढ्दो छ । आफू १०–११ बर्षको हुंदा आफू सहित आफ्ना पिताले रोपेको उक्त खरिको बोट भएको स्थानमा पञ्चमुखी हनुमान स्थापना हुनु र दैनिक प्रवचन हुनु आफ्ना लागि गर्वको कुरा भएको र यस स्थानमा आउंदा आफूलाई पिताको आशिर्वाद पाएको महसूस हुने गरेको स्थानीय बयोबृद्ध ८५ बर्षिय बिश्वनाथ रिमाल बताउनु हुन्छ ।
चन्द्र बिनायक गणेशस्थानः
चन्द्र विनायक मन्दिर (स्थानिय जनबोलीमा गणेशस्थान) यसक्षेत्रको महत्वपूर्ण धार्मिक स्थल हो । तत्कालिन कुमारीगाल युवा मण्डल नामक सामाजिक संस्थाद्वारा २०४१ सालमा प्रकाशित स्मारिकामा, यो मन्दिर करिव १९०–२०० बर्षअघि कुमारीगाल निवासी “पाँडे काजी” बाट स्थापना भएको जनश्रुति पाईएको भन्ने उल्लेख छ । तर, कुनै लिखित दस्तावेज नभएकोले मन्दिर स्थापनाको यथार्थपक्ष अहिले पनि खोजिकै बिषय भएको छ ।
चन्द्र बिनायक गणेशस्थानः
चन्द्र विनायक मन्दिर (स्थानिय जनबोलीमा गणेशस्थान) यसक्षेत्रको महत्वपूर्ण धार्मिक स्थल हो । तत्कालिन कुमारीगाल युवा मण्डल नामक सामाजिक संस्थाद्वारा २०४१ सालमा प्रकाशित स्मारिकामा, यो मन्दिर करिव १९०–२०० बर्षअघि कुमारीगाल निवासी “पाँडे काजी” बाट स्थापना भएको जनश्रुति पाईएको भन्ने उल्लेख छ । तर, कुनै लिखित दस्तावेज नभएकोले मन्दिर स्थापनाको यथार्थपक्ष अहिले पनि खोजिकै बिषय भएको छ ।
गुह्येश्वरीको दर्शन गर्नु पूर्व यिनै गणेशको पूजाआजा गरेपछि मात्र गुहेश्वरीको पूजाआजा र दर्शन गर्नाले इच्छित फल पाईन्छ भन्नेकुरा आफूले सानो छंदा देखिनै सुन्दै आएको, २०३९ सालमा भएको मन्दिर जिर्णाेद्वारको कार्यमा सक्रिय भूमिका निभाउनु भएका स्थानीय अर्जुनप्रसाद गौतम बताउनुहुन्छ । त्यस समयमा बालगोपाल के.सी. लगायत स्थानीय ब्यक्तिहरु बाट पाएकोे सहयोगको कारण मन्दिरको मर्मत कार्य सम्भव भएको उहाँ स्मरण गर्नु हुन्छ ।
यस गणेशको दर्शनले घाउ–खटिरा निको हुने, घरमा मुसाले दुःख नदिने र सुख सम्बृद्धि पाईने जनबिश्वास छ । पशुपति क्षेत्र वरपरका कतिपय नेवारी समुदायमा कुनै पूजाआजा र धार्मिक कार्य गर्दा यिनै गणेशको पूजा गरि गणेशको आज्ञा लिनु पर्ने चलन रहेको कुरामा गणेश डंगोल र बिश्वनाथ रिमाल दुवैको एकमत छ ।
सुरुमा यस स्थानमा स्थापना गरिएको प्राचीन गणेशमूर्ति भने मन्दिरमा अहिले छैन । उक्त मूर्ति चोरी भएको र सो मूर्तिलाई त्यसै समयमा वरपरकै कतै मन्दिरमा स्थापना गरिएको कुरा आफूहरुले सानै छंदा सुनेको समेत उहाँहरु बताउनुहुन्छ । मूर्ति चोरी भए पश्चात सो स्थानमा प्राचीन शीलालाई नै गणेशको रुपमा पूजिंदै आएकोमा मर्मतको क्रममा सेतो स्फटिकको मूर्ति राखिएकोले हालः सो मूर्ति सहित प्राचीनशीलाको समेत पूजाआजा हुंदै आएको छ ।
चतुर्मुखी नारायण (दशावतार) मन्दिरः
करिव २०० बर्षभन्दा अघि काजी अमरसिंह थापाका सन्ततीबाट स्थापना गरिएको यस नारायण मन्दिर बौद्धद्वारमार्गको ७०–८० मिटर दक्षिणतर्फको सांघुरो स्थानमा अवस्थित छ । यस मन्दिर रहेको स्थानमा पहिले जग्गा जमिन सहितको निजीगुठी भएकोमा हालः सानो मन्दिर मात्र रहेको यस स्थानको वरिपरि ३–३ फिटको बाटो बाहेक अरु कुनै जग्गा जमिन बाँकी छैन ।
मन्दिरको बिचमा चतुर्मुखी नारायणको कलात्मक मूर्ति सहित बरिपरि १० अवतारका आकर्षक मूर्तिहरु रहेका छन् । आफूले थाहापाए देखि यस मन्दिरमा पहिले स्थानीय रिमाल थरका ब्राह्मणले नित्यपूजा गर्ने गरेकोमा पछि गुठीको बिषयमा बिवाद परेपछि पूजा रोकिएको कुरा सो मन्दिर स्थापनाकर्ताका बंशज मध्येका एक स्थानीय बिष्णु थापा बताउनुहुन्छ । उक्त मन्दिरलाई स्थानीय ब्यक्तिहरुले संरक्षण गरि मर्मत संभार तथा दैनिक पूजाआजा गर्दै आएका छन् ।
अन्त्यमा,
समग्रमा भन्दा कुमारीगालक्षेत्र सहरोन्मुख प्राचिन ग्रामिण बस्ति हो । उपरोक्त बाहेक पनि यस क्षेत्रमा शिव मन्दिर तथा अन्य देवी देवताका मठ मन्दिरहरु समेत छन् । हालः पञ्चमुखी हनुमानस्थान रहेको खरिबोटको पश्चिम तर्फ एउटा शिवको मन्दिर रहेको थियो भन्ने स्थानीय भुवनकुमार आचार्यको भनाईलाई पुष्टि गर्दै त्यस स्थानमा करिव ५५–६० बर्ष अघि मसान (चिता) सहित एउटा शिवालय र सत्तल समेत रहेको स्थानीय बटुप्रसाद अर्याल बताउनुहुन्छ । तर अहिले त्यसको अवशेष समेत छैन ।
यसरी द्रुत गतिले बिकासको मार्गमा बढिरहेको यस क्षेत्रमा बिकासको नाममा यहाँ रहेका बिभिन्न सांस्कृतिक, धार्मिक प्राचिन सम्पदा मासिंदै गएका छन् जुन गलत हो । यसो गरिनु हुन्न । यथास्थितिमा यिनीहरुको संरक्षण र सम्वर्धन हुनु पर्छ । हामीले सन्ततीलाई दिने भनेको असल चरित्र र संस्कार हो । संस्कृति मासिए संस्कार मासिन्छ र संस्कार मासिए हाम्रो धर्म मासिन्छ र धर्म मासिए हामी मासिन्छौं । त्यसैले हाम्रो वरपरका प्राचीन सम्पदाको संरक्षणमा आजै देखि सामूहिक भावनाले लागि परौं ।
अस्तु
का.म.पा.–७, उमामहेश्वर मार्ग, कुमारीगाल ।
(यो लेख दायित्व साहित्यिक द्वैमासिक पत्रिकाकाे पूर्णाङ्क ११५ / २०७५ मंसिर-पाैष अंकमा प्रकाशित छ)
का.म.पा.–७, उमामहेश्वर मार्ग, कुमारीगाल ।
(यो लेख दायित्व साहित्यिक द्वैमासिक पत्रिकाकाे पूर्णाङ्क ११५ / २०७५ मंसिर-पाैष अंकमा प्रकाशित छ)









Comments
Post a Comment