लघुकथा: जमेका सम्बन्ध

✍️ मुरारीराज मिश्र

नेत्रप्रसाद अवकाशप्राप्त कर्मचारी । पत्नीको निधन भएको एक वर्ष बितिसकेको थियो । दुई छोरा, बुहारी, नातिनातिना र सबै सुविधा भएको आफ्नै घर, सबै भएर पनि उनीभित्र एउटा गहिरो एक्लोपन थियो ।

जीवनभरको कमाइ र घरजग्गासमेत उनले छोराहरूको भविष्यका लागि उनीहरूकै नाममा गरिदिएका थिए । आफन्त र इष्टमित्रहरू भेट्न आउँदा घरमा केही चहलपहल हुन्थ्यो र उनको एकान्त केही हलुका बन्थ्यो ।

एक रात माथिबाट ओर्लँदै गर्दा जेठो छोराको कोठाबाट कान्छोको आवाज सुनियो-

“दिनहुँ बुबालाई भेट्न आउने मान्छेले घरै अस्तव्यस्त हुन्छ। भाउजू-बुहारी पनि हैरान छन् । बरु बुबालाई वृद्धाश्रम राख्ने कि, दाइ ?”

केही क्षणको मौनतापछि जेठोले भन्यो- “सबैको यही विचार हो भने त सोच्न सकिन्छ ।”

नेत्रप्रसाद चुपचाप आफ्नो कोठामा ओर्लिए । त्यो रात उनीभित्र केही नराम्ररी चर्कियाे तर आवाज निस्किएन ।

एक सातापछि, चिसो बिहान । दस वर्षे नातिले मुख धुँदै भन्यो- “हजुरबुबा, कस्तो चिसो पानी !”

नेत्रप्रसाद मुस्कुराए र भने- “हाम्रो पालामा त पानी जमेर हिउँ बन्थ्यो, बाबु ।”

नातिले कौतूहलले सोध्यो- “अहिले त त्यसरी जम्दैन नि, किन ?”

उनले टाढा कतै हेर्दै बिस्तारै भने- “पहिले चिसोले पानी जम्थ्यो, अहिले स्वार्थले सम्बन्धहरू ।”

वरिपरि चिया पिइरहेका दुवै छोराले एकाएक कप टेबुलमा राखे । उनीहरू एकअर्काको अनुहार हेर्दै मौन भए ।

(उमामहेश्वर मार्ग, कामपा-७, कुमारीगाल)


Comments

Popular posts from this blog

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भजन/श्लोक (भावानुवाद)