लघुकथा: मृत्यु संस्कार

 ✍️ मुरारीराज मिश्र

आज बुबाको मृत्युको तेह्राैं दिन ।
घरमा आफन्तजन र पाहुनाहरुकाे निकै जमघट थियोे ।
एकातिर पुराेहितहरु धार्मिक कर्म गराईरहेका थिए भने अर्कोतिर क्याटरिङवालाहरु अनेकन परिकार पकाउँदै थिए । 

महंगा पलङ्ग, ओच्छ्यान लगायत दिवंगत पितृका मनपर्ने वस्तुहरु दान गरिएका थिए ।
आगन्तुकहरु, मन खाेलेर बुुबाकाे मृत्यु संस्कार गर्ने `मनकारी´ छाेरा-बुहारीकाे प्रशंसा गर्दै थिए ।
धार्मिक र खानपिन कार्य सकियाे । दिवंगत आत्माको मुक्तिकाे कामना गर्दै सबै फर्किए ।
बुबाकाे आत्मा भने, तेह्र दिन अघिसम्म आफू सुतेको चिसाे छिंडी, पातलो बिछ्यौना र छाेराबुहारीकाे ब्यवहार सम्झंदै दान गरिएका महँगा बस्तुहरु र खानाका परिकार जिल्ल परेर नियाल्दै थियोे !

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

साहित्य पाेष्टमा प्रकाशित ।

https://sahityapost.com/aakhyan/short-story-aakhyan/126779/

शारदामा प्रेषित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: