बाबुको मुख हेर्ने दिन_पिता, सन्तान र बदलिँदो सम्बन्ध
✍️ मुरारीराज मिश्र
पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।
पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च ।
तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।।
अर्थात् : पिता भनेका धर्म हुन्, पिता स्वर्ग हुन् र पिता नै सबैभन्दा श्रेष्ठ तपस्या हुन् । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन् । जुन सन्तानको सेवा र सद्गुणबाट पिता सन्तुष्ट रहन्छन्, त्यस सन्तानलाई प्रतिदिन गङ्गास्नान गरेको पुण्य प्राप्त हुन्छ ।
उल्लिखित श्लोक जीवनमा पिताको कस्तो महत्त्व छ भन्ने प्रस्ट्याउन पर्याप्त छ । आँखामा आँसु नदेखाई, थकाइ, पीडा र आफ्ना आवश्यकतालाई तिलाञ्जली दिँदै ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासँग मात्रै हुन्छ । हामी आमालाई पृथ्वीसँग तुलना गर्छौं भने पितालाई आकाशसँग । सन्तानका संरक्षक र पालनकर्ता हुन् पिता । यसो भन्दैमा आमा सन्तानकी संरक्षक होइनन् वा आमाको महत्त्व कम छ भन्ने अर्थ नलगाइयोस् । आमाको तुलना कसैसँग हुन सक्दैन ।
पिता केवल जन्मदाता मात्र होइनन्, उनी सन्तानको जीवन निर्माण गर्ने पहिलो संरक्षक, अनुशासन सिकाउने गुरु, सही र गलत छुट्याउन सिकाउने मार्गदर्शक तथा कठिन परिस्थितिमा भरोसा दिने आधार पनि हुन् । पिताको चरित्रमा त्याग, धैर्य, जिम्मेवारी, अनुशासन, संरक्षण र भविष्यप्रतिको चिन्ता एकसाथ जोडिएको हुन्छ । आफ्नो रहरलाई पछि पारेर सन्तानको आवश्यकता पूरा गर्नु, आफूले दुःख सहेर सन्तानलाई सुख दिन खोज्नु र सन्तानको भविष्यका लागि निरन्तर श्रम गर्नु पितृत्वका स्वाभाविक प्रवृत्ति हुन् । त्यसैले पिताको मूल्य केवल उनले कमाएको धन वा सम्पत्तिले होइन, सन्तानका लागि उनले गरेको त्याग, संघर्ष र संस्कारले निर्धारण गर्छ ।
सामान्यतया पिता भन्नाले हामी जन्मदातालाई सम्झन्छौँ । तर, ‘पिता’ शब्दले व्यापक अर्थ बुझाउँछ । संस्कृतमा एउटा श्लोक छ—
‘विद्यादाता, जन्मदाता, कन्यादाता तथैव च,
अन्नदाता, भयत्राता पञ्चैते पितरः स्मृताः ।’
अर्थात् विद्या दिने गुरु, जन्म दिने पिता, कन्या दिने ससुरा, अन्न दिने कृषक वा पालनपोषण गर्ने व्यक्ति र त्रासबाट रक्षा गर्ने व्यक्ति- यी पाँचलाई पञ्चपिताका रूपमा लिइन्छ । यस्तै, हाम्रो धर्म, संस्कृति र परम्पराले बाबुका दाजुभाइ तथा हजुरबुबालाई पनि बाबुसरह नै पूज्य मानेका छन् ।
महाभारतको वनपर्वमा यक्ष–युधिष्ठिर संवादका क्रममा ‘...पिता चोच्चतरं च खात्’ भनेर पितालाई आकाशभन्दा विशाल भनिएको छ । अर्थात् पिताको हृदयाकाशमा आफ्ना सन्तानका लागि जुन असीम माया हुन्छ, त्यसको वर्णन गर्न सकिन्न । पिता र सन्तानबीच कति प्रेम, स्नेह, मोह र त्यागको भावना हुन्छ भन्ने आज्ञाकारी पुत्र श्रवणकुमार तथा राम-लक्ष्मणको वियोगमा प्राण त्यागेका उनीहरूका पिता र पिताको सुखका खातिर आफू आजीवन अविवाहित रहने तथा राजगद्दीमा दाबी नगर्ने भीष्मप्रतिज्ञा गरेका देवव्रतका पौराणिक उदाहरणबाट पनि बुझ्न सकिन्छ ।
हामीले देवता देखेका छैनौँ, तैपनि आपत्-विपत् आइपर्दा रक्षार्थ र सहयोगार्थ देवतालाई नै पुकार्छौँ । हाम्रा हरेक बाधा-व्यवधान फुकाइदिने र आवश्यकता पूरा गर्न हरक्षण साथ दिने पितालाई भने कतिपय अवस्थामा हामी भुलिरहेका हुन्छौँ । वास्तवमा पिता हाम्रा लागि साक्षात् देवतातुल्य स्तुत्य हुन्छन्- ‘सर्वदेवमयः पिता’ ।
तर, पिताको महत्त्व त्यतिबेला मात्र बुझ्ने हो त जब उनी हामीसँग हुँदैनन् ? यो प्रश्न आजको पुस्ताले आफैँलाई सोध्नुपर्ने भएको छ । हिजो सन्तानका लागि आफूलाई समर्पित गर्ने पिता आज वृद्ध भएपछि त्यही सन्तानका लागि ‘बोझ’ बन्नु विडम्बनापूर्ण अवस्था हो ।
हाम्रा धार्मिक ग्रन्थ, वेद, पुराण, शास्त्र र परम्पराले पितालाई यति उच्च स्थान दिँदादिँदै पनि आज भौतिकतावादतिर लम्किरहेको हाम्रो समाजमा मातापिताहरू आफ्नै सन्तानबाट अवहेलित भइरहेका छन् । समाज आधुनिक बन्दै छ, तर आमाबुबाहरू एक्लिँदै छन् । पैतृक धनसम्पत्तिमा हक खोज्ने, तर बुबाआमाप्रतिको कर्तव्य भुल्ने, उचित सम्मान र रेखदेख नगर्ने तथा उनीहरूलाई मार्गदर्शकभन्दा पनि बोझ मान्ने प्रवृत्ति मौलाउँदै गएको छ ।
संयुक्त परिवारको प्रचलन हट्दै गएको सहरी संस्कृतिका कारण पनि आफ्नो पाखुरीमा बल र सम्पत्ति सकिएपछि सन्तानबाट हुने हेला, सन्तानमा पलाएको विदेशमोह र विदेश गएपछि नफर्किने प्रवृत्तिजस्ता कारणले मातापिताको वृद्धावस्था कष्टकर बन्दै गएको छ । तर यो सबै, सन्तानलाई उचित नैतिक शिक्षा र असल चरित्र दिन नसक्नुको परिणाम मात्रै हाे भन्ने पनि नठानाैं । कतिपय अवस्थामा याे आवश्यकता र बाध्यता समेत हुनसक्छ ।
एउटा बाबुले आफ्ना जति नै सन्तान भए पनि अनेक दुःख-कष्ट सहेर कसैगरी हुर्काउँछन् । तर, सबै सन्तान मिलेर पनि बुढेसकालमा आमाबुबालाई राम्ररी राख्न नसकेको देखिन्छ । सन्तान स्वार्थी भएजस्तै मातापिता पनि स्वार्थी भइदिए भने समाज कस्तो होला ? यो कुरा प्रत्येक सन्तानले गम्भीरतापूर्वक बुझ्नु जरुरी छ ।
यद्यपि, वृद्धावस्थामा सबै मातापिता सन्तानसँगै बस्नैपर्छ भन्ने पनि छैन । सन्तानको आफ्नै पारिवारिक परिस्थिति, रोजगारी, विदेश बसाइ वा अन्य बाध्यता हुन सक्छ । त्यस्तो अवस्थामा सम्मानपूर्वक बाँच्ने वैकल्पिक व्यवस्था पनि समाजले सोच्नुपर्छ । सन्तानले हेला गर्ने, अपमान गर्ने वा उचित हेरचाह नगर्ने अवस्था आएमा वृद्ध मातापिताले बाध्य भएर त्यही घरमा दुःख सहेर बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।
यसका लागि ‘स्वेच्छिक सम्मानित वृद्धावास’ को नवीन अवधारणा विकास गर्न सकिन्छ । राज्य, स्थानीय तह वा सामाजिक संस्थाको पहलमा निर्माण गरिने यस्ता वृद्धावास सामान्य आश्रमजस्ता मात्र नभई सुविधासम्पन्न, सुरक्षित र आत्मसम्मानयुक्त आवासका रूपमा विकसित हुनुपर्छ । आर्थिक हैसियतअनुसार निश्चित रकम तिरेर मातापिताले आफूलाई मनपर्ने कोठा वा आवास छनोट गर्न सकून्, त्यहाँ स्वास्थ्य सेवा, पौष्टिक भोजन, मनोरञ्जन, धार्मिक तथा सांस्कृतिक गतिविधि, पुस्तकालय, व्यायाम, बगैँचा र आपत्कालीन उपचारको व्यवस्था होस् । सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यहाँ बस्ने वृद्धले आफू ‘त्यागिएका’ होइन, आफ्नो इच्छाले सम्मानपूर्वक जीवन बिताइरहेको अनुभूति गर्न सकून् ।
यस्तो व्यवस्था सन्तानलाई आमाबुबाबाट पन्छिने बाटो दिनका लागि होइन, बरु असहज परिस्थितिमा वृद्ध मातापितालाई सम्मानसहितको विकल्प प्रदान गर्नका लागि हुनुपर्छ । सम्भव भएसम्म सन्तानले नियमित भेटघाट, आर्थिक सहयोग र भावनात्मक सम्बन्ध कायम राख्नुपर्छ । राज्यले पनि त्यस्ता वृद्धावासलाई नियमन, अनुगमन र आवश्यक सहयोग गर्ने व्यवस्था गर्नुपर्छ ।
मातापिताको सम्मानार्थ समाज र राज्यबाट पनि पहल हुनुपर्ने हो । आमा र बुबाको मुख हेर्ने पर्वका अवसरमा शिक्षण संस्थामा भए पनि सार्वजनिक बिदा दिनु र माध्यमिक तहसम्मको पाठ्यक्रममा नैतिक शिक्षा अनिवार्य गर्नु जरुरी छ । पैतृक सम्पत्तिमा सन्तानको हक लागेझैँ सन्तानको आम्दानी र सम्पत्तिमा पनि आमाबाबुको निश्चित प्रतिशत हक लाग्ने कानुनी व्यवस्थाबारे पनि गम्भीर बहस आवश्यक छ । यसले जन्मदाताप्रतिको कर्तव्य र जिम्मेवारी स्मरण गराउन सक्छ ।
आज हामीले गरेका कर्म र व्यवहारको सिको हाम्रा सन्तानले गर्ने हुन् । त्यसैले समय छँदै विचार पुर्याऊँ । मातापिताको सम्मान उनीहरूको जीवनकालमै गरौँ । ‘जिउँदोमा लात, मरेपछि घिउ-भात’ भनेझैँ मृत्युपछिको आडम्बरले केही अर्थ राख्दैन । जिउँदो छँदा उनीहरूलाई सधैँ रुवाएर मृत्युपश्चात् गोहीको आँसु चुहाउनु व्यर्थ छ ।
पिताको सम्मान केवल एक दिन गरिने औपचारिकता होइन, यो जीवनभर निर्वाह गर्नुपर्ने संस्कार हो । मातापिताको सेवा सन्तानको कर्तव्य मात्र होइन, सभ्य समाजको पहिचान पनि हो । उनीहरूलाई जीवनभर माया, सम्मान र सुरक्षा दिन सक्यौँ भने मात्र हामीले आफ्ना सन्तानलाई असल संस्कार हस्तान्तरण गर्न सकेको ठहरिनेछ ।
Comments
Post a Comment