Posts

लघुकथा : नाम

Image
      ✍️मुरारीराज मिश्र, ''सपिङ्ग मलकाे मालिककाे नाम 'गरीबदास' छ, त्यहाँको चाैकिदार चाँही 'धनबहादुर' रे ! कालाे अक्षर भैंसी बराबर ठान्ने राजनीतिक नेतृ 'सरस्वती' नामकी छिन् ! अनि एकबित्ता जग्गाको लागि दाइमाथि मुद्दा हाल्नेकाे नाम भने 'भरत' हुन्छ । नाम भनेको काम र व्यवहार अनुसारको भए पाे राम्रो हुन्छ त !" छिमेकी गाउँमा भएकाे भेलामा समाजसेवी बुढा'बाले भाषण छाँट्दै भने । ''आफ्नाे नामकाे इज्जत त हामीले पनि राख्नुपर्छ नि ! मलाई नै हेर्नुस् न, मेराे नाम 'दयानाथ' हाे । म पुरै धार्मिक छु, कसैको दुख देख्न सक्दिन । सबैप्रति सहयोगी भावना राखेर मैले आफ्नो नामको मर्यादा राखेको छु ।" उनले थपे । ''हैन, यी बुढा काे रहेछन् ? के तपाईं चिन्नुहुन्छ !!" भेलामा सहभागी एकजनाले संगैकाे मान्छेसंग जिज्ञासा राख्याे । "किन नचिन्नु, म उहाँकै गाउँमा बस्छु । साेझा गाउँलेलाई ऋण दिएर चर्को ब्याज असुल्ने पुराना जमिन्दार हुन् । बुढाकाे छाेरा 'शान्तप्रसाद' नामुद जँड्याहा हाे, जाे संधै मात्तिएर सबैसँग झगडा गर्दै हिंड्छ । उनका ना...

लघुकथा: स्वार्थ

Image
          ✍️ मुरारीराज मिश्र, "ए कमल, के छ तिम्रो हालचाल ?" मर्निङवाकबाट फर्कंंदै गर्दा बाटोकाे छेउबाट आएको आवाजले एकसुरमा हिंड्दै गरेको कमल झस्कियाे । फर्केर हेर्‍यो बाल्यकालकाे साथी दीपक रहेछ । "ठीकै छु" कमलले जवाफ फर्काउँदै ओैपचारिकता निभायाे "अनि, तिम्रो खबर के छ नि ?" "मेरो पनि सबै राम्रो छ । धेरै भयो भेटघाट नभएको, अब बसेर भलाकुसारी गर्नुपर्छ है !" दीपकले आत्मीयता दर्शाउँदै भन्याे । उनीहरु सानैदेखिका सहपाठी अनि एकै टाेले बासिन्दा भएपनि उनीहरूका बिच खासै भेटघाट र बाेलचाल हुन्नथ्यो । सामान आयात निर्यात गर्ने धनाढ्य ब्यापारी भएकाले दीपक सरकारी जागिरे कमललाई टाेलछिमेककाे कुनै कार्यक्रममा भेट्दा पनि दाेस्राे दर्जाकाे नागरिक सरह व्यवहार गर्थ्याे । त्यसैले, आज उस्काे आत्मियतापूर्ण हाउभाउले कमल अचम्मित भएको थियोे ! बेलुका अफिसबाट फर्कंदा, आफ्नो घरमा आमासँग गफ गर्दै गरेकाे दीपकलाई देखेर कमल फेरि चकित भयो । दुबै बसेर चियापान र भलाकुसारी गरे । दीपकले बाल्यकालका कुरा सम्झायाे । साथीसाथी बिच आपसी सहकार्य र सहयोग हुनुपर्छ भन्नेमा जाेड दियो । अनि, जाँ...

लघुकथा: स्वभाव

            ✍️ मुरारीराज मिश्र नजिकै अपार्टमेण्टमा बस्ने उसंग निकै दिन देखि देखादेख भइरहेको थियोे । हरेक दृष्टिकोणले ``त्याे मानिस नेपाली नै हाे´´ भन्ने लागेतापनि बाेलचाल भने भएको थिएन ।  ``उसै पनि विदेशमा स्वदेशी भेट्दा आफन्त भेटे जस्तै हुन्छ, एकपल्ट साेध्दैमा त के नै बिग्रेला र ?´´ यस्तो साेचेर एकदिन रमेशले अघि बढेरै उसलाई साेध्याे ``सुन्नुस् त, तपाईं नेपालबाट हाेइन ?´´ प्रश्न सुनेर उसकाे मुखाकृती केही बदलिए झैं देखियाे । नबुझेकाे भान पारेर ``सरी !´´ भन्दै उ फटाफट् अघि बढ्याे । रमेश जिल्ल पर्‍यो । उसलाई लाग्याे ``कतै मैले मान्छे चिन्न गल्ती त गरिन !´´तर उसकाे मन, त्याे मानिस नेपाली हाेइन भनेर मान्न तैयारै भएन । भाेलिपल्ट अफिस समय अगाडि रमेश त्याे मानिसको अपार्टमेण्टमा गयो । उसको ढाेका अगाडि राखिएको जुत्ताहरु उल्ट्याईदिएर नजिकैको भर्‍याङकाे छेकाे पारेर हेर्न थाल्यो ।  एकैछिनमा त्याे मानिस निस्कियाे । ढाेकामा उल्टिएकाे जुत्ताहरु देखेपछि यताउती हेर्‍यो र निहुरिएर सबै जुत्ता सुल्ट्यायाे । अनि बिस्तारै भुत्‌भुतायाे "थुक्क, हिंड्ने बेलामा उल्टाे जुत्त...

लघुकथा: जनआवाज

Image
           ✍️ मुरारीराज मिश्र, "सरकार भनेको यस्तो पाे हुनुपर्छ, जनआवाजकाे पूर्ण कदर गर्ने । धन्यवाद छ सरकारलाई ।" तल्लाघरे काकाले हातकाे माेवाइल हेर्दै श्रीमतीलाई भने । "हैन, के गरेछ र सरकारले त्यस्तो जनआवाज सुन्ने महान काम चाहिँ ?" काकीले प्रश्न तेर्स्याईन् । "जनताले याे ठीक छैन, यसलाई हटाउनुपर्छ भनेर भनेका मात्र के थिए सरकारले फ्याट्टै हटायाे क्या `टिकटक´ !" काकाले जवाफ फर्काए । "नापियाे ! ठीक छैन भनेर त जनताले उहिले देखि नै, `नेता र संघियता´काे बारेमा पनि आवाज उठाउँदै आएका छन् नि हैन र ?" काकीले ओठ लेब्र्‍याईन् !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) हिमाली गुराँसमा प्रेषित 

लघुकथा: फजुलखर्ची

           ✍️ मुरारीराज मिश्र, श्रीमान् राेजगारीकाे क्रममा विदेशमा थिए । घरमा रमिला र चारबर्षे छाेरी मात्रै । श्रीमान्‌काे कमाई राम्रै थियो । विदेशबाट महिना महिनामा रकम पठाउँथे । राेकटाेक गर्ने काेही नभएकाले रमिला माेजमस्तीमा रकम उडाउँथिन् । लाेग्नेकाे पसिनाकाे कमाई उडाउने भई भन्ने चिन्ताले, रमिलाका छिमेकी दम्पतीले पटकपटक सम्झाउँथे । तर उनकाे कानमा बतास लाग्दैन थियोे । उल्टै, उनी हाँस्दै भन्थिन् "हाम्रै लागि कमाएका हुन् क्यारे ! कञ्जुस बनेर दुखजिलाे नगर्नु । राम्रोसँग खानु, लाउनु, रमाउनु र छाेरीलाई पढाउनु भन्नुभएको छ उहाँले पनि । बरु यसाे सरसापट चाहियाे भने अप्ठ्यारो नमान्नु हाेला है !" एकदिन छिमेकी दम्पतीले आपसमा सल्लाह गरे । उनीहरूले पनि रमिलाले मदिरा खाएकाे बेला पारेर पटकपटक उनीसँग रकम मागेर ल्याउन थाले । समय संधै एकनास कहाँ हुन्थ्यो र ! रमिलाका श्रीमान्‌‌ले पनि मन्दीका कारणले कम पैसा पठाउन थाले । रमिलाकाे बानी सुध्रेकाे थिएन । एकाेहाेराे खर्चेपछि कुवेरकाे ढुकुटी त रित्तिन्छ भने उस्काे कतिञ्जेल टिक्थ्याे र ! बचत नहुँदा छाेरीकाे स्कुलकाे शुल्क तिर्न प...

लघुकथा: मृत्यु संस्कार

Image
 ✍️ मुरारीराज मिश्र आज बुबाको मृत्युको तेह्राैं दिन । घरमा आफन्तजन र पाहुनाहरुकाे निकै जमघट थियोे । एकातिर पुराेहितहरु धार्मिक कर्म गराईरहेका थिए भने अर्कोतिर क्याटरिङवालाहरु अनेकन परिकार पकाउँदै थिए ।  महंगा पलङ्ग, ओच्छ्यान लगायत दिवंगत पितृका मनपर्ने वस्तुहरु दान गरिएका थिए । आगन्तुकहरु, मन खाेलेर बुुबाकाे मृत्यु संस्कार गर्ने `मनकारी´ छाेरा-बुहारीकाे प्रशंसा गर्दै थिए । धार्मिक र खानपिन कार्य सकियाे । दिवंगत आत्माको मुक्तिकाे कामना गर्दै सबै फर्किए । बुबाकाे आत्मा भने, तेह्र दिन अघिसम्म आफू सुतेको चिसाे छिंडी, पातलो बिछ्यौना र छाेराबुहारीकाे कर्कस ब्यवहार सम्झंदै दान गरिएका महँगा बस्तुहरु र खानाका परिकार जिल्ल परेर नियाल्दै थियोे ! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) साहित्य पाेष्टमा प्रकाशित । https://sahityapost.com/aakhyan/short-story-aakhyan/126779/ शारदामा प्रकाशित  अमर ज्याेति २०८३ जेठमा प्रकाशित

लघुकथा: देशप्रेम

 ✍️ मुरारीराज मिश्र, - विदेश हैन देशकै माटोमा नङ्ग्रा खियाउनुपर्छ । - स्वार्थका लागि कुनै हालतमा देश त्याग्नु हुन्न । - मातृभूमि भनेकाे आमातुल्य हुन्, हामीले जन्मभूमिकाे ऋण तिर्नुपर्छ । - विदेशिनु भनेकाे अरुकाे गुलाम बन्नु हाे । सबैसँग यस्तै-यस्तै देशप्रेमका ठूलाठूला कुरा गर्थ्याे उ ! जब डीभी पर्‍यो उस्काे राष्ट्रवाद देखियो !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) शारदामा प्रेषित