कविता: हे भानुभक्त
✍️ मुरारीराज मिश्र
हे भानुभक्त,
तिम्रो “रामायण” पल्टाउँदा लाग्छ -
त्यो केवल देवकथा होइन,
मानवताको शाश्वत आलाेक हो ।
त्यहाँ वचन प्राणभन्दा भारी थियो,
कर्तव्य अधिकारभन्दा उच्च थियो,
भाइचारा राज्यभन्दा विशाल थियो,
प्रेम स्वार्थभन्दा निर्मल थियो ।
आज समय फेरिएको छ ।
सम्पत्ति बढेको छ, सन्तोष घटेको छ ।
सूचना बढेका छन्, विवेक पातलिएको छ ।
सम्बन्ध बाँकी छन्, विश्वास क्षीण हुँदै गएको छ ।
सायद तिमी आजसम्म बाँचेका भए
आफ्नै “रामायण” बन्द गरेर सोध्थ्यौ -
"मैले देखाएका ती आदर्शहरू
समयको कुन घुम्तीमा हराए ?"
हे भानुभक्त,
तिमीले चित्रित गरेकाे त्यागमय भ्रातृत्व कहाँ छ ?
वनवासलाई पनि उत्सव बनाउने
आत्मीयता कहाँ छ ?
आदर्श पत्नीको अटल निष्ठा,
वचनका लागि सर्वस्व त्याग्ने पिताको दृढता,
धर्मका निम्ति राज्य त्याग्ने सन्तान -
आज कथामा छन्, पात्र विरलै छन् ।
र तिम्रो “घाँसी” ?
अरूका लागि कुवा खनेर अमर हुने त्यो परोपकार
आज आफ्नै वरिपरि पर्खाल उभ्याउन व्यस्त छ ।
कामभन्दा प्रचार ठूलो भएको यो समयमा
निस्वार्थ कर्म आफैँ दुर्लभ हुँदै गएको छ ।
तर अझै आशा बाँकी छ ।
जबसम्म तिम्रा शब्दहरू जीवित छन्,
त्याग, सत्य, करुणा र परोपकारका बीउ
मानवहृदयमा पूर्णतः बाँझिएका छैनन् ।
हे भानुभक्त,
तिम्रो “रामायण” आज पनि महाकाव्य मात्र होइन -
हाम्रो समयसँग निरन्तर संवाद गरिरहेको एउटा ऐना हो ।
त्यस ऐनामा आफूलाई ढाल्ने कला भने
हामीले अझै सिक्न बाँकी छ ।
कुमारीगाल, काठमाडौं -७
Comments
Post a Comment