कविता: हे भानुभक्त

✍️ मुरारीराज मिश्र


हे भानुभक्त,

तिम्रो “रामायण” पल्टाउँदा लाग्छ -

त्यो केवल देवकथा होइन,

मानवताको शाश्वत आलाेक हो ।


त्यहाँ वचन प्राणभन्दा भारी थियो,

कर्तव्य अधिकारभन्दा उच्च थियो,

भाइचारा राज्यभन्दा विशाल थियो,

प्रेम स्वार्थभन्दा निर्मल थियो ।


आज समय फेरिएको छ ।

सम्पत्ति बढेको छ, सन्तोष घटेको छ ।

सूचना बढेका छन्, विवेक पातलिएको छ ।

सम्बन्ध बाँकी छन्, विश्वास क्षीण हुँदै गएको छ ।


सायद तिमी आजसम्म बाँचेका भए

आफ्नै “रामायण” बन्द गरेर सोध्थ्यौ -

"मैले देखाएका ती आदर्शहरू

समयको कुन घुम्तीमा हराए ?"


हे भानुभक्त,

तिमीले चित्रित गरेकाे त्यागमय भ्रातृत्व कहाँ छ ?

वनवासलाई पनि उत्सव बनाउने 

आत्मीयता कहाँ छ ?


आदर्श पत्नीको अटल निष्ठा,

वचनका लागि सर्वस्व त्याग्ने पिताको दृढता,

धर्मका निम्ति राज्य त्याग्ने सन्तान -

आज कथामा छन्, पात्र विरलै छन् ।


र तिम्रो “घाँसी” ?

अरूका लागि कुवा खनेर अमर हुने त्यो परोपकार

आज आफ्नै वरिपरि पर्खाल उभ्याउन व्यस्त छ ।

कामभन्दा प्रचार ठूलो भएको यो समयमा

निस्वार्थ कर्म आफैँ दुर्लभ हुँदै गएको छ ।


तर अझै आशा बाँकी छ ।

जबसम्म तिम्रा शब्दहरू जीवित छन्,

त्याग, सत्य, करुणा र परोपकारका बीउ

मानवहृदयमा पूर्णतः बाँझिएका छैनन् ।


हे भानुभक्त,

तिम्रो “रामायण” आज पनि महाकाव्य मात्र होइन -

हाम्रो समयसँग निरन्तर संवाद गरिरहेको एउटा ऐना हो ।

त्यस ऐनामा आफूलाई ढाल्ने कला भने

हामीले अझै सिक्न बाँकी छ ।


कुमारीगाल, काठमाडौं -७


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

संस्मरण: