कविता :सगरमाथाको मौन आर्तनाद
✍️ मुरारीराज मिश्र,
प्रकृतिले
जब आफ्नो समग्र सौन्दर्य,
समग्र रहस्य
र समग्र वैभवलाई
एउटै बिन्दुमा केन्द्रित गर्न चाही,
त्यसबेला जन्मिएको थियो -
“सगरमाथा” ।
पृथ्वीको निधारमा
श्वेत ज्योतिसरि टल्किएको
त्यो सर्वोच्च शिखर -
जहाँ,
आकाशले पहिलोपटक
धरतीलाई चुमेको अनुभूति हुन्छ,
जहाँ,
हिमभित्र निदाइरहेका छन्
अनन्त युगका मौन इतिहासहरू ।
उ केवल हिमाल होइन,
सभ्यताभन्दा पुरानो
एउटा जीवित साक्षी हो ।
उ
असंख्य नदीहरूको पिता हो,
पृथ्वीवासी प्राणीहरूको
जीवनदायिनी जलको
महामूल स्रोत हो ।
धर्मले उसलाई देवता भन्यो,
आस्थाले शिर झुकायो,
विश्वले विस्मयले हेर्यो -
किनकि
उ रहस्यमय थियो,
अद्भूत थियो,
अजेय थियो,
र
विराट थियो ।
कति शताब्दीहरू बिते -
उ
आफ्नो हिममुकुटभित्र
ध्यानस्थ ऋषिजस्तो
निर्विकार बसिरह्यो ।
उसले कहिल्यै
मानिससँग केही मागेन,
बरु
आफ्नो छाती पगालेर
मीठो पानी दियो,
जीवन दियो,
शीतलता दियो ।
तर -
मानिसले
प्रेम गर्न सिकेन,
सरलता सिकेन,
केवल जित्न सिक्यो ।
आज,
सगरमाथा अशान्त छ ।
उ बिचलित छ ।
किनकि
उसको एकान्तमा
अब ध्यानको निस्तब्धता छैन,
मानिसहरूकाे कोलाहल र
असभ्य भीड छ ।
“आरोहण” का नाममा
दैनिकजसो
हजारौँ बुटहरू
उसको छातीमाथि बज्रिन्छन् ।
फलामका काँटीहरू
शरीरमा गाडिन्छन् ।
उसका कोमल हिमशिराहरू
निर्दयतापूर्वक चिरिन्छन् ।
मानिस
उसलाई टेकिरहेको मात्र छैन -
उसको अस्तित्वमाथि
आक्रमण गरिरहेको छ ।
फोहोरका थुप्रा,
अक्सिजनका खाली सिलिन्डर,
प्लास्टिकका वस्तु
टिनका बट्टा,
र
मानिसका महत्वाकाङ्क्षाका
कुरूप अवशेषहरूले
आज
सगरमाथाको पवित्र शरीर
ढाकिँदै गएको छ ।
कस्तो विडम्बना !
जसलाई हामी
देवता मानेर पूजा गर्छौँ,
त्यही देवताको छातीमाथि
हामी फोहोर फ्याँक्छौँ ।
के मानिसलाई थाहा छैन र -
हिमालले फोहोर पचाउन सक्दैन भनेर ?
थाहा छ ।
तर मानिस
आफ्नो अहंकारमा यति अन्धो छ
कि
उसले सगरमाथाको मौनतालाई
कमजोरी ठानेको छ ।
सायद
मानिसलाई लागेको छ -
सगरमाथामाथि उभिएपछि
उ स्वयं सगरमाथाभन्दा अग्लो हुन्छ ।
तर
उचाइमा उभिँदैमा
कोही महान् हुँदैन ।
महान् त
त्यो हुन्छ
जो उचाइलाई पनि सम्मान गर्न जान्दछ ।
आज
मानिसको यही उन्मत्त अहम्ताले
सगरमाथामा
“ट्राफिक जाम” सिर्जना गरेको छ ।
कल्पना गर्नुस् -
जहाँ
हिमबतास मात्र बहनुपर्ने थियो,
त्यहाँ
मानिसहरूको भीड
लाइन बसेर
स्वर्ग नाप्न खोजिरहेको छ ।
त्यसैले त कहिलेकाहीँ
सगरमाथालाई पनि असह्य हुन्छ होला !
उ बोल्दैन,
किनकि हिमालहरूको भाषा
मौन हुन्छ ।
तर
जब पीडा सीमा नाघ्छ,
त्यसबेला
उसले आफ्नै हिमकाखभित्र
केही घमण्डीहरूलाई
सदाका लागि सुताइदिन्छ ।
तर,
त्यो प्रतिशोध होइन -
त्यो प्रकृतिको चेतावनी हो ।
उसै त
पर्यावरणीय असन्तुलनले
उसको हिमदेह विरलिँदैछ ।
हिउँ दिनदिनै पातलिँदैछ ।
श्वेतता धमिलिँदैछ ।
तैपनि
मानिस भने अझै
उसको शिरमाथि
विजयको झण्डा गाड्न व्यस्त छ ।
हामीले बुझ्नुपर्छ -
सगरमाथा
चढेर जित्ने वस्तु होइन,
टाढैबाट निहुरिएर सम्मान गर्ने
एक विराट अस्तित्व हो ।
यदि हामीले
उसको कुमारित्व जोगाएनौँ भने,
भोलिका पुस्ताले
सगरमाथा
वास्तविकतामा होइन,
केवल तस्वीरमा देख्नेछन् ।
त्यसैले -
आउनुस्,
अब सगरमाथामाथिको
यो निर्मम अतिक्रमण रोकौँ ।
उसको रहस्य बचाऔँ,
उसको सौन्दर्य बचाऔँ,
उसको मौन गरिमा बचाऔँ ।
किनकि
हिमालहरू
जब रोइरहेका हुन्छन्,
त्यसबेला
सभ्यताहरू धेरै दिन बाँच्छन् भन्ने
कुनै ग्यारेन्टी हुँदैन ।
—- समाप्त —-
Comments
Post a Comment