लघुकथा : पाठक खै ?

                    ✍️ मुरारीराज मिश्र


“तिमी किन यति ठूलो ?” हाइकुले जिज्ञासा राख्यो ।

“किनकि संसार छोटो उत्तरले बुझिँदैन,” बीसौँ पृष्ठको शरीर उचाल्दै कथाले हाँसेर भन्यो ।

उसलाई हेरेर हाइकु मुस्कुरायो ।

कथाले सोध्यो- “अनि तिमी त तीन हरफमै संसार अटाउँछ भन्छौ नि !”

हाइकु केही भन्न खोज्दै थियो । कथाले आफूलाई पल्टाउन थाल्यो । कुनै पानामा युद्ध थियो, कुनैमा प्रेम, कुनैमा मृत्यु र कुनै पानामा सहर जलिरहेको थियो ।

“पढ्यौ ? मभित्र सबै छ- जन्म, प्रेम, घृणा, युद्ध र मृत्यु,” कथाले सगर्व भन्यो ।

“तर तिमीलाई पढ्न निकै समय चाहिन्छ,” हाइकुले भन्यो ।

“समय नै त जीवन हो,” कथा मुसुक्क हाँस्याे ।

“आजका व्यस्त पाठकसँग लामो रचना पढ्ने समय कहाँ छ र ? ल, अब मेरा तीन हरफ सुन,” हाइकुले भन्यो ।

हाइकुले पहिलो हरफ सुनायो-  “पाठक छैनन्…”

कथाका पाना एकाएक स्थिर भए ।

हाइकुले दोस्रो हरफ भन्यो- “साहित्यिक सिर्जना…”

कथा झस्कियो ।

हाइकु केहीबेर रोकियो । अनि तेस्रो हरफ उच्चारण गर्‍यो- “कसले पढ्छ ?”

कथा काँप्यो । उसका सबै पाना आफैँ पल्टिँदै गए र अन्तिम पानामा पुगेर रोकिए ।

त्यहाँ एउटा मात्र वाक्य थियो- “पाठक हराएपछि कथा कसलाई सुनाउने ?”

हाइकु केहीबेर मौन रह्यो ।

उसले आफ्ना तीन हरफतिर हेर्‍यो ।

हेर्दाहेर्दै पहिलो हरफ मेटियो ।

दोस्रो हरफ पनि मेटियो ।

तेस्रो हरफ मात्र बाँकी रह्यो-

“कसले पढ्छ ?”

Comments

Popular posts from this blog

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भजन/श्लोक (भावानुवाद)