लघुकथा: डुबेका सपना
✍️ मुरारीराज मिश्र
“बाढी आउँदैछ ! सबैजना सुरक्षित ठाउँमा जानुस्… !”
बाहिर माइकिङको आवाज गुञ्जियो ।
केहीछिनअघि मात्र छोराछोरीलाई स्कुल बसमा चढाएर घर पसेकी दिलमायाले झ्यालबाट नदीतिर हेरिन् । नदी सधैँझैँ शान्त थियो - न गड्गडाहट, न छाल । उनी ढुक्क भइन् र मादल कस्न बसिन् । काठमाडौं पठाउनुपर्ने पचास-साठीवटा मादलको अर्डर थियो । नपुग छाला र सामानको जोहो गर्न श्रीमान् हिजै सदरमुकामतिर गएका थिए ।
अचानक जेठानीको चिच्याहट सुनियो -
“दिलमाया ! छिट्टै भाग् ! खोलाले माथ्लो गाउँ सखाप पारिसक्यो रे !”
दिलमाया मादल त्यहीँ छाडेर दौडिइन् ।
सबैजना कान्लातिर उक्लँदै थिए । उक्लँदैगर्दा पानीले उनका गाेडा छोइसकेको थियो । जसोतसो उनी पनि माथि पुगिन् ।
उनले फर्केर हेर्दा जीवनदायिनी नदी रौद्ररूपमा बस्ती निल्दै थियो । बीस वर्षको पसिनाले ठडिएको तीनतले घर पनि केही क्षणमै बाढीभित्र हराइसकेको थियो ।
दिलमाया भक्कानिँदै जेठानीको अङ्गालोमा टाँसिइन् ।
त्यसैबेला भीडमा कसैको फोन बज्यो। फोन उठाउने व्यक्ति एकछिन सुनिरह्यो, अनि आत्तिँदै चिच्यायो -
“लौ न ! स्कुल बस पनि बाढीले बगाएछ !”
दिलमायाको शरीर एकाएक शिथिल भयो।
(२०८३-०६-१० उधारो वसन्तमा नपरेको)
Comments
Post a Comment