बालकथा: भोलिको म

विद्यालयबाट घर फर्किएपछि काैशलले पुस्तकको झोला कोठाको कुनामा फुत्त फाल्यो । जुत्ता पनि खोलेर जताततै छाडिदियो । आज किन हो किन, उसलाई पढ्न पटक्कै मन लागेको थिएन । त्यसमाथि उसको मिल्ने साथी सुमनले दिउँसै भनेको थियो, “काैशल, आज बेलुका मेरो घरमा आउनू है ! बाबाले भर्खरै ठूलो स्क्रिनको नयाँ टिभी ल्याउनुभएको छ । त्यसमा रमाइला कार्टुन र गेम पनि छन् ।”

त्यो सम्झेर काैशलको मन झन् फुरुङ्ग भयो ।


“आज गृहकार्य नगरे पनि हुन्छ । भोलि बिहान उठेर गरौँला,” उसले मनमनै सोच्यो ।


हातमुख धोएर ऊ खाजा खान टेबुलमा बस्यो । आमाले उसको अगाडि खाजा राखिदिइन् । काैशलले खाजा खानै लागेको थियो, अचानक उसको नजर टेबुलको छेउमा राखिएको एउटा सेतो खाममा पर्‍यो ।

खाममा ठूलो अक्षरमा लेखिएको थियो-

“काैशलका लागि।”

काैशल छक्क पर्‍यो ।

“मेरो नाममा चिठी ? कसले पठायो होला ?”


उसले खाजा खानसमेत बिर्सेर खाम हातमा लियो । अगाडि-पछाडि पल्टाएर हेर्‍यो । पठाउनेको नाम कतै थिएन । उत्सुकताले उसलाई छोप्दै गयो । उसले हतार-हतार खाम खोल्यो ।

चिठीको पहिलो लाइन पढ्नासाथ ऊ झसङ्ग भयो-

“प्रिय काैशल,

म तिमीभन्दा बीस वर्ष ठूलो छु । अचम्म नमान, म तिमी नै हुँ- तिम्रो भोलिको म ।”

काैशलले आँखा मिचेर फेरि पढ्यो ।

“म... तिमी नै हुँ रे ?”

उसलाई हाँसो पनि उठ्यो, अचम्म पनि लाग्यो ।


उसले चिठी पढ्दै गयो-

“आज तिमीलाई गृहकार्य गर्न मन लागेको छैन । सुमनले नयाँ टिभीमा कार्टुन र गेम खेल्न बोलाएको छ । तिमी गृहकार्य छाडेर उतै जाने सोच्दैछौ । हो नि ?”

काैशलको हात रोकियो ।

“यो कुरा यसलाई कसरी थाहा भयो ?”

उसले झ्याल, ढोका र दराजतिर हेर्‍यो । कतै कसैले लुकेर आफूलाई हेरिरहेको त छैन ? तर कोठामा ऊबाहेक कोही थिएन ।


उसले फेरि चिठी पढ्न थाल्यो-

“काैशल, खेल्नु नराम्रो होइन । रमाइलो गर्नु पनि आवश्यक छ । तर आवश्यक काम छाडेर रमाइलोमा हराउनुचाहिँ ठीक होइन । मैले पनि तिम्रो उमेरमा धेरैपटक ‘पछि गर्छु’ भनेँ । तर थाहा छ ? धेरैपटक त्यो ‘पछि’ कहिल्यै आएन ।”

काैशलले केही बेर साेच्याे । उसले झोलाबाट विज्ञानको कापी निकाल्यो । गृहकार्य बाँकी नै थियो ।

“पहिले गृहकार्य गर्छु,” उसले मनमनै भन्यो, “त्यसपछि सुमनको घरमा जान्छु ।”

ऊ पढ्न बस्यो । केही बेरमै गृहकार्य सकियो । त्यसपछि मात्र ऊ सुमनको घरतिर लाग्यो ।


त्यस दिनदेखि काैशलले त्यो अनौठो चिठीलाई निकै जतन गरेर राख्यो ।

भोलिपल्ट त्यसमा अर्को पाना पनि भेटियो ।

“साथी बनाउँदा असल साथी रोज्नू । सबैसँग मिल्नु राम्रो हो, तर नराम्रो काम गरौँ भन्ने साथीलाई ‘नाइँ’ भन्न पनि सक्नू ।”


अर्को दिन फेरि एउटा पानामा लेखिएको थियो-

“आमाबुबाले कहिलेकाहीँ तिमीलाई रोक्दा रिस उठ्न सक्छ । तर उनीहरू तिम्रो बाटो छेक्न होइन, बाटो सुरक्षित बनाउन खोजिरहेका हुन्छन् ।”


यसैगरी पाना भेटिँदै गए ।

एउटा पानामा लेखिएको थियो-

“परीक्षामा कम नम्बर आउँदा निराश नहुनू । एउटा परीक्षाको नम्बरले तिम्रो सम्पूर्ण भविष्य निर्धारण गर्दैन । गल्तीबाट सिकेर फेरि प्रयास गर्नू ।”


चिठीका ती साना-साना कुराले काैशलको सोच बिस्तारै बदलिँदै गयो । उसले मोबाइल र टिभीमा बिताउने समय घटायो । गृहकार्य समयमै गर्न थाल्यो । आमालाई घरको काममा पनि सघाउन थाल्यो । साथीहरूले नक्कल गर्न आग्रह गर्दा नमानेर आफ्नै उत्तर लेख्न थाल्यो ।


एक दिन चिठीको अन्तिम पाना भेटियो ।

त्यसमा लेखिएको थियो-

“आज राति आठ बजे ऐनाअगाडि उभिएर मलाई खोज्नू ।”

राति आठ बजे काैशल ऐनाअगाडि पुग्यो ।

उसले ऐनामा हेर्‍यो । त्यहाँ कुनै बूढो मानिस थिएन । कुनै अपरिचित व्यक्ति पनि थिएन ।

त्यहाँ काैशल आफैँ थियो ।


उसले चिठीको अन्तिम भाग पढ्यो-

“तिमीले मलाई खोज्दैछौ, तर म टाढा छैन । तिमीले हिजोआज गरेका हरेक राम्रो कामले मलाई अझै राम्रो बनाउँदैछ । तिमी आज अल्छी बन्छौ भने म भोलि कमजोर हुनेछु । तिमी आज इमानदार बन्छौ भने म भोलि असल मानिस हुनेछु । तिम्रो भोलिको जीवन कस्तो हुनेछ भन्ने निर्णय तिमीले आजै गरिरहेका छौ ।

किनकि-

‘भोलिको म’ भनेको नै आजको तिमी हो ।”


काैशल केही बेर ऐनाअगाडि उभिइरह्यो । उसले आफ्नै आँखामा हेर्‍यो । आज ऐनामा देखिएको अनुहार उसलाई हिजोको भन्दा केही फरक लाग्यो ।

ऊ मुस्कुरायो र बिस्तारै भन्यो-

“चिन्ता नगर, भोलिको म । 

म तिमीलाई यसरी नै राम्रो बनाउँदै जानेछु ।”

***

     ✍️ मुरारीराज मिश्र

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म