यात्रा-संस्मरण : वैष्णोदेवीको सेरोफेरोमा दशैंको टीका

२०७५ सालको दशैं । असोज २९ गते, दुर्गापक्षको षष्ठीको दिन ।

बिहान सात बजेको काठमाडौं अझै हल्का चिसो हावामा लपेटिएको थियो । भोलिपल्टको फूलपातीको तयारी र नवरात्रिको अवसरमा शक्तिपीठहरूको दर्शन गर्न निस्केका मानिसहरूका कारण सडकमा दशैंको चहलपहल बढ्दै थियो । त्यही चहलपहललाई पछाडि पार्दै माता वैष्णोदेवीको दर्शनका लागि निस्केको हाम्रो नौजनाको टोली बोकेको ल्याण्डक्रुजरले काठमाडौं छाड्यो ।


बिहानै पूर्वनिर्धारित यात्रामा निस्कँदा मनमा उत्साह थियो । तर उत्साहसँगै एउटा प्रश्न पनि मनमा उठिरहेको थियो-

“तीर्थयात्रा आखिर के हो ? देवताको दर्शन गरेर फर्किनु मात्र कि आफूभित्रको कुनै अँध्यारो हटाएर फर्किनु पनि ?”

प्रश्नको उत्तर त्यतिबेला मसँग थिएन । शायद यात्रा आफैँले त्यसको उत्तर दिनेछ भन्ने लाग्यो ।


नौबिसेमा रोकिएर चिया र त्यसपछि आँपटाडी पुगेर घरबाटै बोकेको खाना खायौँ । बाटोमा पहाडका घुम्तीहरू पछाडि पर्दै गए । भूगोल बदलिँदै गयो, दृश्य बदलिँदै गए । साँझ सुनौली पुग्दा नेपाल पछाडि छुटिसकेको थियो । रात त्यहीँ बितायौँ ।


भोलिपल्ट भारतीय जिपमा गोरखपुर पुग्यौँ । काठमाडौंमै तीन महिनाअघि रेलको बुकिङ गरिसकेकाले टिकटको चटारो थिएन । गोरखनाथको दर्शनपछि हाम्रो रेलयात्रा सुरु भयो । 


रेलको झ्यालबाट बाहिर हेर्दै गर्दा खेत, गाउँ र बस्तीहरू एकपछि अर्को गर्दै पछाडि भागिरहेका थिए । केही समयअघि नेपालका पहाडी बाटामा गुडिरहेको हाम्रो यात्रा अब विशाल भारतीय भूगोल हुँदै अघि बढिरहेको थियो । रेलले हामीलाई दिल्ली पुर्‍यायो । त्यहाँबाट जम्मु र जम्मुबाट अर्को रेल हुँदै अन्ततः कटरा पुग्यौँ ।


लामो यात्राले शरीर थाकेको थियो, तर मनमा उत्सुकता झन् बढेको थियो । कटरा पुगेर सुरक्षा जाँच सकेपछि मनमा एउटा सहज विचार आयो- “अब त माताको धाम धेरै टाढा छैन होला !”


कटरा बजार एउटा विशाल तीर्थको प्रवेशद्वारजस्तो लाग्यो । होटलमा लकर लिएर आवश्यक सामान मात्र साथमा राख्यौँ । हाम्रो टोलीका अग्रज श्री रघुवीर चन्द्रज्यूको सम्पर्कबाट बीएसएफ क्याम्पमा पुगेर विशेष दर्शन पास पनि प्राप्त गरियो । त्यसपछि दुईवटा टेम्पोमा बाणगङ्गातर्फ लाग्यौँ ।


वैष्णोदेवीको उकालो चढ्नुअघि बाणगङ्गामा स्नान गर्ने परम्परा रहेछ । चिसो पानीले शरीर छोएपछि यात्राको थकान मात्र होइन, मनको चञ्चलता पनि केही शान्त भएजस्तो लाग्यो । धार्मिक मान्यताअनुसार वैष्णवीले बाण प्रहार गर्दा जमिनबाट पानी निस्किएको स्थान भएकाले यसको नाम बाणगङ्गा रहन गएको मानिन्छ । नजिकै चरणपादुका पनि रहेछ । मैले माथि जाने बाटोतिर हेरेँ । “अब माताको बाटो सुरु भयो,” मनले भन्यो । चियानास्ता पछि बिहान करिब दस बजे उकालो लाग्यौँ ।


करिब १४ किलोमिटरको पहाडी बाटो । कतै ढुङ्गा छापिएको, कतै पक्की, कतै सिँढी । दायाँबायाँ चिया, कफी, फलफूलका पसलहरू । घोडा, डोका, पालकी र हिँडेरै उक्लिरहेका भक्तजनहरूको लस्कर । कतै थाकेर बसेका यात्रु, कतै उत्साहले दौडिरहेका युवायुवती ।


मैले मन्दिरतिर हेरेँ । भीडको अन्त्य देखिँदैनथ्यो । मनमा प्रश्न उठ्यो-

“यति धेरै मानिस के खोज्दै आएका होलान् ?” कसैले मनोकामना बोकेको होला, कसैले दुःख बिसाउन आएको होला, कसैले विश्वासको सहारा खोज्दै आएको होला । कसैले केवल दर्शन गर्न आएको होला । तर सबैको गन्तव्य एउटै थियो- माताको धाम ।


सबैभन्दा आत्मीय कुरा भने बाटोभरि सुनिने एउटै सम्बोधन थियो-  “जय माता दी !”

हामी पनि जवाफ दिन्थ्यौँ-  “जय माता दी !”

न नाम थाहा, न घर । न परिचय, न नाता । तर ती तीन शब्दले अपरिचित मानिसलाई पनि क्षणभरका लागि आफ्नै बनाइदिँदा रहेछन् ।


बाटोमा निःशुल्क तातो, मनतातो र चिसो पानीको व्यवस्था थियो । थाकेका यात्रुका लागि बस्ने ठाउँ र पर्याप्त शौचालय थिए । अप्ठ्यारोमा परेका यात्रुलाई सहयोग गर्ने मानिसहरू पनि प्रशस्तै देखिन्थे । मनले भन्यो-  “पुण्य भनेको मन्दिरभित्र पूजा गर्नु मात्र होइन रहेछ; बाटोमा थाकेको मानिसलाई सहयोग गर्नु पनि त धर्म नै हो ।”


यात्रा रमाइलोसँग अघि बढिरहेको थियो । हामी दृश्य हेर्दै, फोटो खिच्दै विस्तारै उक्लिरहेका थियौँ । भाउजू सविता ढुङ्गाना र दिदी भवानी अधिकारी भने आफ्नै सुरमा गफ गर्दै अघि बढिरहनुभएको थियो । गफ गर्दागर्दै उहाँहरू हामीभन्दा झण्डै तीन किलोमिटर अगाडि पुगिसक्नुभएको रहेछ ।

त्यो हामीलाई थाहा थिएन । एक ठाउँमा पानी पिउँदै गर्दा शिरोमणि रिसाल दाइले सोध्नुभयो- “सविता भाउजू र भवानी दिदी खोइ ?”

“आउँदै हुनुहुन्छ होला,” सरस्वती रिसाल भाउजूले सहजै भन्नुभयो । तर केहीबेरसम्म उहाँहरू देखिनुभएन । खोजी सुरु भयो । मोबाइल चल्ने अवस्था पनि थिएन । मनमा अनेक आशंका खेल्न थाले- “यत्रो भीडमा कहाँ खोज्ने ? कतै हराउनुभयो भने ?” केही समय कुरेपछि अगाडितिर खोज्ने निर्णय भयो । हामी अघि बढ्यौँ । केही पर पुगेपछि छोरा कौशलले उहाँहरूलाई भेटेछ ।

“बाबा, माइजूहरू त धेरै अगाडि दोबाटोमा कुरिरहनुभएको रहेछ !” यो खबर सुनेपछि बल्ल मन ढुक्क भयो । त्यो सानो घटनाले आजको मानिस प्रविधिसँग कति निर्भर भइसकेको छ भन्ने पनि सम्झायो । मोबाइलले साथ नदिँदा तीन किलोमिटरको दूरी पनि कति लामो हुँदो रहेछ !


मन्दिर नजिकिँदै जाँदा दर्शनार्थीको भीड बाक्लिँदै थियो । मैले मन्दिरतिर हेरेँ । चारैतिर मानिस नै मानिस थिए । अचानक भीडभित्र एउटा परिचित अनुहार देखियो ।

“अरे! उहाँ त रमेश दाइ !” राम्ररी हेरेँ । आफ्नै गाउँटोलका रमेशप्रसाद लामिछाने दाइ र पद्मा भाउजू दर्शनार्थीको लाइनमा उभिरहनुभएको रहेछ ।

मैले छक्क पर्दै साेधें- “दाइ ! तपाईंहरू यहाँ ?” उहाँहरू पनि हामीलाई देखेर छक्क पर्नुभयो ।

“यहाँ भेटिन्छौँ भन्ने त सोचेका पनि थिएनौँ,” भाउजूले भन्नुभयो ।

मैले हाँस्दै भनेँ- 

“माताले नै भेट गराउनुभएको हो भायजू ।”

हजारौँ अपरिचित मानिसको भीडमा आफ्नै गाउँका मान्छे भेटिनु संयोग मात्र थियो कि आस्थाको कुनै अदृश्य खेल ? मनले तत्कालै निर्णय गर्न सकेन ।


नवरात्रिको नवमी भएकाले मन्दिर परिसरमा दर्शनार्थीको असाध्यै भीड थियो । करिब डेढ किलोमिटरसम्म लाइन थियो । लकरमा सामान राख्न पनि दुई घण्टाभन्दा बढी लाग्यो । मोबाइल लगायतका सामान मन्दिरभित्र लैजान पाइँदैनथ्यो । 

त्यहाँको एउटा कुरा भने मलाई विशेष अर्थपूर्ण लाग्यो । हामीले मन्दिरमा चढाउन नेपालबाटै प्रसादहरू लिएर गएका थियौँ । तर आफूखुसी चढाउन नपाइने रहेछ । मन्दिरकै काउन्टरबाट प्रसाद लिनुपर्ने व्यवस्था थियो । मूल्य पनि निश्चित- २५ रुपैयाँको एउटा प्याकेट । कसैले सय रुपैयाँको प्रसाद लिन चाहे चारवटा प्याकेट किन्नुपर्ने । सामान्य नियमजस्तो देखिए पनि यसले मलाई अर्को कुरा सोच्न बाध्य बनायो । भगवान्‌का अगाडि धनी को, गरिब को ?

कसैले हजारौँ रुपैयाँको प्रसाद चढाउने र अर्कोले केही रुपैयाँको चढाउँदा भगवान्‌ले फरक दृष्टिले हेर्नुहुन्छ भन्ने त धर्मले सिकाउँदैन । मनले भन्यो- “मन्दिरको ढोकामा पुगेपछि धनको हैसियत बाहिरै छोडिनुपर्छ; भित्र लिएर जाने भनेको श्रद्धा मात्रै हो ।”


किनेको प्रसाद पनि आफैँले चढाउन नपाइने रहेछ । दर्शनअघि नै ढोकामा प्याकेट बुझाएर टोकन लिनुपर्ने र दर्शनपछि त्यही टोकन बुझाएर प्रसाद पाउने व्यवस्था थियो । त्यो पनि हाम्रा लागि नयाँ अनुभव भयो ।

निकै भीड भए पनि विशेष प्रवेश पासका कारण हामीले सहज प्रवेश पायौँ । राति करिब १०:३० बजे हामी पवित्र गुफाभित्र पुग्यौँ । अगाडि देखिए- तीन प्राकृतिक पिण्डी । महाकाली, महालक्ष्मी र महासरस्वतीका प्रतीकका रूपमा पूजिने ती पवित्र स्वरूप । त्यो क्षणमा न कुनै ठूलो इच्छा मनमा आयो, न लामो प्रार्थना गर्ने सम्झना आयो ।  मनले केवल भन्यो- “माता, यहाँसम्म ल्याउनुभयो । अब बाँकी जीवन सही कर्म गर्ने बुद्धि दिनुहोस् ।” सायद तीर्थयात्रामा माग्नुपर्ने सबैभन्दा ठूलो कुरा यही रहेछ- सही बाटोमा हिँड्ने बुद्धि । नवरात्रिकाे नवमीकाे पवित्र दिनमा माताकाे अपूर्व दर्शन पाउँदा जीवन धन्य भएको महसूस भयाे ।



माताको दर्शनपछि पनि हाम्रो यात्रा सकिएको थिएन । भैरवनाथको दर्शन नगरेसम्म वैष्णोदेवीको तीर्थयात्रा पूर्ण नहुने धार्मिक मान्यता रहेछ । त्यसैले विश्राम गर्नुभन्दा भैरवनाथतर्फ जाने सल्लाह भयो ।

राति नै हामी त्यतातिर लाग्यौँ । बाटोमा थाहा भयो- छोरा कौशल समूहबाट छुटेछ ।

“कौशल छैन त, कहाँ गयो ?” श्रीमती कल्पनाले आत्तिँदै भनिन् । हामीले केहीबेर यताउता हेर्‍यौँ । तर ऊ भेटिएन ।

भीड झन् बढ्दै थियो । हल्लाखल्ला, आउने-जाने मानिस, चारैतिर अपरिचित अनुहार । छिटो-छिटो भैरवनाथ मन्दिर पुगेर माइकबाट सूचना गराएँ । प्रहरी माइकमा कौशलको नाम भनिरहेको थियो । म भने भीडतिर हेर्दै सोचिरहेको थिएँ- “यत्रो मानिसको बीचमा उसले माइकको आवाज कसरी सुन्ला ? सुने पनि हामीलाई कसरी भेट्ला ? हिंडेर धेरै टाढा पो पुगिसक्यो कि ? केही भयो भने ? ऊसँग पैसा पनि छैन...”

आस्था आफ्नो ठाउँमा थियो । तर बाबुको मन त आखिर बाबुकै मन हो ।


“बाबु भेटियो !” केही समयपछि अलिक परबाट आवाज आयो । सतीदिदीको त्यो एउटा वाक्य नै मेरालागि त्यतिबेलाको सबैभन्दा ठूलो समाचार थियो । मनले बल्ल सास फेर्‍यो । सबैले खुशी साट्याैं । भैरवनाथको दर्शन सक्दा रात निकै गहिरिइसकेको थियो । पहाडको अँध्यारोमा हामी बिस्तारै ओरालो झर्दै थियौँ । शरीर थाकेको थियो, तर मनमा दिनभरिका दृश्यहरू चलचित्रझैँ घुमिरहेका थिए- बाणगङ्गा, १४ किलोमिटरको उकालो, छुटेका आफन्तको खोजी, गाउँका दाइ-भाउजूको अप्रत्याशित भेट, प्रसादको समानता, माताको दर्शन र हराएको छोरालाई खोज्दाको छटपटी ।


बिहान साढे आठ बजेतिर बाणगङ्गा हुँदै कटरा फर्कियौँ । त्यो दिन विजयादशमी थियो । नुहाएर टीका तयार गर्‍यौँ । वैष्णोदेवीको फूलप्रसादलाई जमरा बनायौँ । अनि एक-अर्कालाई टीका लगायौँ । घरदेखि टाढा, हजारौँ किलोमिटर पर, माताको धाममा मनाइएको त्यो दशैं अनौठो आत्मीय लाग्यो । त्यहाँ न घरको आँगन थियो, न आफ्नै परिवारका सबै सदस्यको जमघट थियो, न गाउँघरको जस्तो दशैंको चहलपहल । तर हातमा वैष्णोदेवीको फूलप्रसाद थियो र निधारमा दशैंको टीका ।

त्यो क्षणमा घर धेरै टाढा भए पनि दशैं भने मनभित्रै रहेछ भन्ने अनुभूति भयो ।


कटरा छाड्ने बेला मैले त्रिकुट पर्वततिर अन्तिमपटक हेरेँ। मन्दिर देखिँदैनथ्यो । तर मनभित्र भने त्यो गुफा अझै प्रस्ट थियो ।

त्यतिबेला लाग्यो- तीर्थयात्रा देवताको घरसम्म पुग्ने बाटो मात्र होइन रहेछ; त्यो आफ्नै मनसम्म पुग्ने बाटो पनि रहेछ ।

बाणगङ्गाको चिसो पानीदेखि माताको गुफासम्म, भीडमा छुटेका आफन्तदेखि आफ्नै गाउँका मान्छेसँगको आकस्मिक भेटसम्म, र माताको दर्शनदेखि हराएको छोरालाई खोज्दाको व्याकुलतासम्म, यात्राले मलाई बाहिरका धेरै ठाउँ देखायो, तर अन्ततः आफ्नै मनका केही कुरा पनि देखाइदियो । मानिसले जीवनमा जति नै टाढा यात्रा गरे पनि अन्ततः खोज्ने भनेको शान्ति, विश्वास र आफ्नै अस्तित्वको अर्थ नै रहेछ ।


टीका र खानपिन सकेर अर्को गन्तव्यको तयारीमा जुट्यौँ । अबको हाम्रो यात्रा पन्जावको अमृतसरस्थित प्रसिद्ध स्वर्णमन्दिरतर्फ थियो ।


 ✍️ मुरारीराज मिश्र

उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७


Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता