स्वर्णमन्दिरमा देखेको आस्था र सेवाको संसार

यात्रा-संस्मरण :

२०७५ साल कार्तिक १ गते महानवमीका दिन वैष्णोदेवी माताको चिरप्रतीक्षित दर्शन सम्पन्न गरेपछि मनमा एउटा अनौठो शान्ति थियो । लामो उकालो, भीड, प्रतीक्षा र अनेक कठिनाइ पार गरेर पवित्र गुफाभित्र माताको दर्शन गर्दा थकानभन्दा आस्था बलियो हुँदोरहेछ भन्ने अनुभूति भएको थियो ।


भोलिपल्ट बिहान हामी कटरा फर्कियौँ । शरीर थाकेको थियो, तर मन भने अझै यात्राका नयाँ दृश्य र नयाँ अनुभवतर्फ उत्सुक थियो । कटरा बजारको भीडभाड पार गर्दै हामी सामान राखेको लकर रुम भएको गेस्टहाउसमा पुग्यौँ । नुहाइधुवाइ गरेर खाना खाएपछि सम्झना आयो- आज त विजयादशमी पो त ! घरदेखि टाढा भए पनि दशैँ त आखिर दशैँ नै हो । हामीले एकअर्काको निधारमा रातो टीका लगाउँदै शुभकामना साटासाट गर्‍यौं । केही क्षणकाे लागि सबैलाई आफ्नै घरआँगनमा दशैँ मनाइरहेका छौँ जस्तो भान भयो ।


हाम्रो यात्रा सकिएको थिएन ! अझै केही गन्तव्यले हामीलाई पर्खिरहेका थिए । अबकाे हाम्रो गन्तव्य थियो- पञ्जाबको अमृतसरस्थित विश्वप्रसिद्ध स्वर्णमन्दिर ।


होटलमा रात बिताएर अर्को दिन अमृतसर जाने कि राति नै यात्रा गर्ने ? हामीबीच छलफल चल्यो । समय हाम्रा लागि अमूल्य थियो । त्यसैले टोलीका अग्रज रघुवीर चन्द्रजीको रायअनुसार रात्रिबस चढेर अमृतसर पुग्ने निर्णय गर्‍यौँ ।


खाना खाएर बस चढ्दा नयाँ उत्सुकता थियो । बस साधारण बसजस्तो मात्र थिएन, त्यसमा माथिल्लो तलासमेत थियो र सुत्न मिल्ने स्लिपर सिटको व्यवस्था थियो । हामीमध्ये धेरैका लागि त्यो पहिलो अनुभव थियो । बसभित्रै सानो कोठाजस्तो लाग्ने त्यो सिटमा पल्टिएर सडकको यात्रा गर्नु हाम्रा लागि नौलो र रमाइलो अनुभव थियो । 


बस गुड्न थाल्यो । झ्यालबाहिरका बत्तीहरू पछाडि दौडिरहेका थिए । कतै बजारका उज्याला पसल, कतै अँध्यारा बस्ती, कतै सडक किनारका रूखका छायाँ । केही समयपछि शहरको कोलाहल हराउँदै गयो । यात्रुहरू निदाउन थाले । म भने कहिले बाहिरको अँध्यारो हेर्थें, त कहिले आफू सुतिरहेको अनौठो स्लिपर सिटलाई । साँच्चै, बाटोमा भेटिने यस्ता ससाना नयाँ अनुभवले पनि यात्रालाई सम्झनलायक बनाउँदा रहेछन् ।


बिहान अमृतसर पुग्दा शरीरमा यात्राको थकान भए पनि मनमा नयाँ ठाउँ हेर्ने उत्साह जागिरहेको थियो । होटलको व्यवस्था मिलाएर चियापान गरेपछि हामी स्वर्णमन्दिरतर्फ लाग्यौँ ।


स्वर्णमन्दिरको बारेमा मैले पहिले नै धेरै सुनेको थिएँ । मन्दिर, विशाल सरोवर, दिनरात चल्ने लंगर लगायतका बारेमा मनमा धेरै प्रश्न थिए । तर प्रत्यक्ष स्वर्णमन्दिरको परिसरमा प्रवेश गरेपछि ती प्रश्नका उत्तरहरू आँखैअगाडि एकएक गरेर खुल्दै गए ।



सफा बाटो, कलात्मक संरचना र बीचमा शान्त भएर फैलिएको सुन्दर सरोवर । सरोवरको मध्यभागमा सुनौलो आभाले चम्किरहेको हरमन्दिर साहिब । सेतो सङ्गमरमरको आधारमाथि सुनको पत्रले झपक्क ढाकिएको मन्दिर सूर्यको प्रकाशमा झन् भव्य देखिन्थ्यो ।


मन्दिर प्रवेश गर्ने बाटोमा दर्शनार्थीको भीड थियो । ढोकानजिक मानिसहरू दर्शनार्थीका पाउ धोइदिएर पुण्य कमाउन आतुर देखिन्थे । सुरुमा हामीलाई केही अप्ठ्यारो लाग्यो । तर केहीबेर नियाल्दा त्यो यहाँको श्रद्धा र सेवाको स्वाभाविक परम्परा रहेछ भन्ने बुझियो । भीड ठूलो थियो, तर कोलाहल थिएन । हजारौँ मानिस एकै ठाउँमा हुँदा पनि सबैजना संयमित देखिन्थे । न धकेलाधकेल, न अनावश्यक हतार । वातावरणमा गुरुवाणीको मधुर धुन निरन्तर गुञ्जिरहेको थियो ।


चारै दिशाबाट प्रवेश गर्न सकिने मन्दिर, सरोवरमा परेको सुनौलो प्रतिबिम्ब, सेतो सङ्गमरमरको कलात्मक परिसर र धार्मिक सहिष्णुताको खुला वातावरणले हामीलाई निकै प्रभावित बनायो । गुरुद्वारा सिख धर्मावलम्बीहरूको पवित्र स्थल भए पनि यहाँ सबै धर्म र समुदायका मानिसलाई समान स्वागत गरिँदो रहेछ । भेदभावको कुनै अनुभूति भएन ।


अमृतसरकाे मध्यभागमा अवस्थित करिव ४०० बर्ष पुरानाे स्वर्ण मन्दिर, पञ्जाबकाे सबैभन्दा ठूलाे आकर्षणकाे रूपमा रहेको छ । दरबार साहिब, संवरण मन्दिर, हरमन्दिर साहिब, गाेल्डेन टेम्पल आदि नामबाट पनि चिनिने याे मन्दिरलाई कला, शिल्पकाे बेजोड नमूना मानिन्छ । सिखहरुकाे गुरुद्वार भएतापनि यस्काे नाममा मन्दिर शब्द जाेडिनुकाे अर्थ धार्मिक समानता जनाउनु हाे भन्न सकिन्छ । 


स्वर्णमन्दिरको सबैभन्दा गहिरो प्रभाव भने हामीलाई लंगर- अर्थात् सबैका लागि समान रूपमा उपलब्ध निःशुल्क भोजनले पार्‍यो । चौबीसै घण्टा निःशुल्क खाना खुवाइने यो परम्परा केवल भोजन वितरण होइन, सेवाको जीवित रुप रहेछ । विशाल दुईवटा हलमा एकैपटक हजारौँ मानिसलाई खाना खुवाइँदो रहेछ । मानिसहरू आउँछन्, बस्छन्, खाना खान्छन्, उठ्छन्, अनि त्यही ठाउँ तत्कालै सफा गरिन्छ र केही क्षणमै अर्को समूहका भोजनका लागि तयार हुन्छ ।


खाना खाएर उठ्न लाग्दा त्यहाँका स्वयंसेवकहरूबीच जुठो थाल उठाउने होड नै चल्दो रहेछ । हामीलाई अप्ठ्यारो लागेर आफैँले थाल भाँडा बुझाउने स्थानसम्म लिएर गयौँ । तर भाँडा माझ्ने ठाउँमा पनि त्यस्तै होड देखियो । कसैले थाल समाइरहेको छ, कसैले गिलास-कचौरा जम्मा गरिरहेको छ, कसैले माझिरहेको छ, कसैले कपडाले पुछपाछ गरिरहेको छ । यहाँ सेवा गर्न कुनै पद, परिचय वा प्रतिष्ठा चाहिँदो रहेनछ । ठूलो-सानो, धनी-गरिब, युवक-वृद्ध भन्ने भेदभावभन्दा माथि उठेर मानिसहरू स्वयंसेवा गरिरहेका थिए ।


दैनिक हजारौँ मानिसलाई खाना खुवाउने यस्तो विशाल भण्डारा कसरी निरन्तर चलिरहेको होला भन्ने मेरो मनको पुरानो प्रश्नको उत्तर त्यहीँ भेटियो । स्रोत केवल अन्न र पैसामात्र रहेनछ; विश्वास, स्वयंसेवा, अनुशासन र सामूहिक समर्पण पनि रहेछ । त्यहाँको सेवा-परम्परालाई निरन्तरता दिने अर्को ठूलो आधार श्रद्धालुहरूको स्वेच्छिक सहयोग र दान पनि रहेछ । हामीले पनि लंगर खायौँ । हुन त हेर्दा त्यो सामान्य भोजन नै थियो, तर त्यसको स्वादमा सेवाको मिठास मिसिएको थियो । खाना पेटले खायो, तर त्यसको सेवाभावले मन भरियो ।


अमृतसरपछिको हाम्रो अर्को गन्तव्य उत्तराखण्डको हरिद्वार थियो । रेलबाट हरिद्वार जाने हाम्रो पूर्वनिर्धारित योजना भने अमृतसर पुग्नुभन्दा अघिल्लो रात भएको दुःखद रेल दुर्घटनाका कारण बदल्नुपर्‍यो । रेल सेवा अवरुद्ध थियो र राजनीतिक दलहरूले हडतालको आह्वान गरेका थिए । रेल खुल्ने अनिश्चित समय कुर्नुभन्दा बसबाट दिल्ली हुँदै हरिद्वार जाने निर्णय गर्‍यौँ । 


तर अमृतसर छोड्न मन मानिरहेको थिएन । त्यसैले दिनभरि घुमघाम गरेपछि साँझ फेरि स्वर्णमन्दिर पुग्यौँ । दिउँसो देखेको मन्दिर र राति देखेको मन्दिरबीच आकाश-जमिनको अन्तर थियो । बत्तीको प्रकाशमा स्वर्णमन्दिर धपधपी बलिरहेको सुनको दीपजस्तो देखिन्थ्यो । सरोवरको शान्त पानीमा त्यसको प्रतिविम्ब पनि उत्तिकै चम्किरहेको थियो । मलाई फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ टल्किएको दृश्य सम्झना आयो । फरक यति थियो, त्यहाँ प्रकृतिले चित्र बनाएको थियो भने यहाँ मानव सिर्जनाले । हामी निकैबेर मन्त्रमुग्ध भएर हेरिरह्यौँ । मनले भन्दै थियो- “यस्तो ठाउँलाई छोडेर कसरी जाने ?”


तर यात्राको पनि आफ्नै अनुशासन हुन्छ । हाम्रो लागि भनेर समय कहाँ रोकिन्छ र ! गन्तव्यहरू बदलिँदै जान्छन्, बाटाहरू छुट्दै जान्छन् । अन्ततः हामी होटल फर्कियौँ, सामान उठायौँ र रातिको बस चढ्यौँ ।


अमृतसर पछाडि छुट्दै थियो । झ्यालबाट शहरका बत्तीहरू बिस्तारै टाढिँदै गए । तर स्वर्णमन्दिरको सुनौलो प्रतिबिम्ब भने मनको आँखाबाट हटेको थिएन । त्यो दिन हामीले एउटा मन्दिर मात्र देखेका थिएनौँ- आस्था कसरी सेवा बन्छ, सेवा कसरी संस्कार बन्छ र संस्कारले कसरी हजारौँ अपरिचित मानिसलाई एउटै परिवारझैँ जोड्न सक्छ भन्ने जीवन्त पाठ पनि पढेका थियौँ ।


हाम्रो धार्मिक यात्रा अब हरिद्वारतर्फ मोडिँदै थियो । अगाडि अझै धेरै तीर्थ, धेरै दृश्य र धेरै अनुभव प्रतीक्षामा थिए । स्वर्णमन्दिरले सिकाएको सुनभन्दा उज्यालो मानव सेवाको अर्थ मनभरि संगाल्दै, थकित शरीर भने थाहै नपाई निद्रादेवीको शरणमा परिसकेछ ।


(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)



Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश