लघुकथा : आजका नेता
✍️ मुरारीराज मिश्र
उनले चुनाव जिते । कसरी जिते, त्यतातिर नजाओैं !
जिल्लास्तरीय ठूलै नेता बनेकाे खुशीयालीमा पार्टीको विशेष दिन पारेर उनलाई सम्मान गर्ने कार्यक्रम बन्याे ।
निर्धारित दिनमा कार्यक्रमस्थलमा मानिसहरू जम्मा हुँदै थिए । उनी गजक्क परेर मञ्चमा बसेका देखिन्थे ।
कार्यक्रम सञ्चालकले उनलाई कानमा साउती गर्दै भने - 'अब कार्यक्रम सुरु भएपछि हजुरले त्याे टेबुलमा राखिएको तस्बिरमा माल्यार्पण गरेर उहाँको बारेमा केही बाेल्नुपर्छ ।'
उनले अलि अकमकिंदै साेधे - 'त्याे तस्बिर कसकाे हाे र ?' कार्यक्रम सञ्चालकले उक्त तस्बिर पार्टीका संस्थापक नेताकाे भएको भन्दै, उनको नाम, पार्टीमा दिएको याेगदान र आजैकाे दिन स्मृति दिवस परेको जानकारी संक्षेपमा दिए ।
त्यो सुनेर नवनिर्वाचित नेताले मुसुक्क हाँस्दै भने- 'ए, त्यसैले पाे रैछ त, यिनको तस्बिर कताकता देखेको जस्तो लाग्दैथ्याे मलाई पनि !'
(उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा-७)
(न्यूसृष्टि दैनिकमा प्रकाशित २०८२-१०-२५)

Comments
Post a Comment