लघुकथा: उधारो वसन्त
✍️ मुरारीराज मिश्र
बगैंचाकाे बिचमा एउटा रुख थियो ।
ऊ हरेक बिहान हावासँग आदर्शका गीत गाउँथ्यो । छायाँ, उदारता र परोपकारका कथा सुनाउँथ्यो । चराचुरुङ्गीहरू उसका शब्द सुनेर मुग्ध हुन्थे ।
एकदिन उसले छिमेकी रुखबाट वसन्तकाे केही अंश माग्यो । "पात पलाउनासाथ फिर्ता गरिदिन्छु," उसले भनेको थियो ।
पात पलाए । ऋतु फेरिए । फेरि ऋतु फेरिए । फेरि पनि फेरिए । प्रतिज्ञाभन्दा चार गुणा समय बितिसकेको थियो । तर उधारो वसन्त अझै फर्किएन । बरु ऊ झन् उच्च स्वरमा आदर्श, इमानदारी र नैतिकताको व्याख्या गरिरह्यो ।
एक साँझ छिमेकी रुखले सोध्यो - "सुगन्ध ठूलाे हुन्छ कि सुगन्धको कुरा ?"
रुखले जवाफ दिन सकेन ।
त्यो दिन बगैंचाले एउटा सूत्र भेट्टायो - “वचनको मूल्य जिब्रोले तय गर्दैन, समयमै फर्किएको विश्वासले तय गर्छ ।”
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौ- ७)
हिमाली बेलामा प्रकाशित २०८३-०३-१४

Comments
Post a Comment