लघुकथा: बलिको नैतिकता
✍️ मुरारीराज मिश्र
“अरे... देवीले बोका खाइन् !”
बोकाको घाँटीमा खुकुरी पर्नासाथ मूर्तिमा स्थिर देवीका दुवै हात एकाएक चलायमान भए । उनले बोकालाई च्याप्प समातिन् र क्षणभरमै मुखभित्र हालिन् ।
खुकुरी समातेको पुजारी ढुङ्गाझैँ जम्यो । भाकल पूरा गर्न बोका ल्याएका धनबहादुरको निधारमा पसिना छुट्यो । भक्तजनहरू फूल, प्रसाद र चप्पलसमेत छाडेर चिच्याउँदै भागे ।
“यो... चमत्कार हो कि प्रलय ?” कसैले काँपेको स्वरमा भन्यो ।
त्यसैबेला अर्को खबर आयो- गणेश मन्दिरमा चढाइएका १००८ लड्डु गणेशजीले आफैँ सफाचट पारिदिएछन् !
निराश अनुहारमा घर फर्किएका धनबहादुरलाई श्रीमतीले सोधिन्-
“बलि चढ्यो ?”
धनबहादुर केहीबेर चुप लाग्यो । अनि गम्भीर अनुहारमा भन्यो-
“अबदेखि बोकाको होइन, नरिवलको बलि चढाउने ।”
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)
Comments
Post a Comment