लघुकथा: प्रतिप्रश्न १.
✍️ मुरारीराज मिश्र
“रुख काट्न हुँदैन... !”
चौतारीमा उभिएर एक युवक चिच्याइरहेको थियो,
“रुख काटे वातावरण विनाश हुन्छ !”
उसको कुरा सुनिरहेका बूढाले सोधे,
“तिम्रो घरमा फर्निचर छैन ?”
“छ ।”
“कहाँबाट आयो ?
लास जलाउँदा दाउरा चाहिँदैन ?
होमादि कार्य गर्दा काठ चाहिँदैन ?”
युवक चुप भयो ।
बूढाले फेरि सोधे,
“के रुख काट्नु मात्रै समस्या हो त ?”
त्यसै बेला चौतारीको रुख सरसरायो र बोल्यो - “प्रश्न रुख काट्ने कि नकाट्ने भन्ने मात्र होइन, बरु काटिएको एउटा रुखको सट्टा कति नयाँ बिरुवा रोप्छौ र तिनलाई संरक्षण गरी कसरी हुर्काउँछौ भन्ने हो ।"
युवकले माथि हेर्यो ।
रुखका पातहरू हल्लिइरहेका थिए, तर युवकको ओठमा जवाफ थिएन ।
रचना: २०८३-०६-०७
***
( उधारो वसन्तमा नपरेको )
Comments
Post a Comment