लघुकथा: महिला डाक्टर ३

 ✍️ मुरारीराज मिश्र,

भित्र छिर्नेबित्तिकै उनको आँखा अस्पतालको भित्तामा टाँसिएको सन्देशमा पर्‍यो । लेखिएको थियोे- ‘छोरी बचाऔँ !’

सभ्रान्त परिवारकी शिक्षित बुहारी आर्या दोस्रोपटक पनि गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गराउन सासू दयामतीसँग अस्पताल पुगेकी थिइन् । छोरीलाई जन्म दिने चाहना भए पनि परिवारको सामु उनको आवाज दबिएको थियो । भित्ताको सन्देशले उनकाे मन चसक्क घाेच्याे ।

उपचार कक्षमा पुरुष चिकित्सकहरू मात्र देखेपछि उनी केही असहज भइन् । बुहारीकाे असहजता बुझेर सासूले महिला डाक्टरको माग गरिन् ।

मेडिकल अफिसर डा. सूरजले सोधे, “आमा, बुहारीको कति पटक गर्भपतन गराउन लाग्नुभएको ?”
“दोस्रोपटक,” दयामतीले सहजै भनिन् ।

“दुवैपटक छोरी नै ?”

“हो नि ! नाति खेलाउने रहर छ क्या डाक्टरसाब !”

डा. सूरजको अनुहारमा एउटा गम्भीर व्यङ्ग्यात्मक मुस्कान फैलियो । उनलेे भने, “पुरुष डाक्टरबाट उपचार गराउनचाहिँ अप्ठ्यारो लाग्ने, तर गर्भमा रहेकी छोरीलाई मार्नचाहिँ अप्ठ्यारो नलाग्ने ? यसरी जन्मिनै नपाउने हो भने भोलि महिला डाक्टर कहाँबाट पाउने नि !”
                    *****

Comments

Popular posts from this blog

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश