महिला शिक्षा

मुरारीराज मिश्र



विद्या ददाति विनयम् विनयाद्याति पात्रताम् ।
पात्रत्वात् धनमाप्नोति धनात् धर्मं ततः सुखम् । ।

माथिको श्लोकको आशय छ कि– विद्याले नम्र बनाउँछ, नम्रभावले योग्य बनिन्छ, योग्य भएपछि धनसम्पत्ति कमाइन्छ, त्यसबाट धर्मकर्म गर्न पाइन्छ र यी सबैबाट सुखप्राप्ति हुन्छ । 

शिक्षा उज्यालोको त्यो स्रोत हो, जसले हामी मानवलाई जीवनको विभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउंंछ । शिक्षाले नै मानिसभित्र आत्मविश्वास र सकारात्मक विचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सबैका लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नुसरह हो । शायद यही तथ्यलाई बुझेर होला सभ्यताको विकासक्रमसँगै मानिसले परापूर्वकालदेखि नै विभिन्न तरिकाबाट सिक्ने र सिकाउने कार्य गर्दै आएको छ । प्राचीनकालमा गुरुकूल, गुम्बा, मदरसा आदिबाट परम्परागतरूपमा दिइने शिक्षा प्रणाली आधुनिक प्रविधिको बिस्तारसँगै हाल कम्प्युटर युगमा पुगिसकेको छ । 

शैक्षिक विकासक्रमको दृष्टिकोणले नेपालमा औपचारिक आधुनिक शिक्षाको सुरुवात रानीपोखरीस्थित दरबार हाईस्कुल
(भानु मा.वि.) को स्थापनासँगै वि.सं. १९१० बाट भएको हो । सुरुमा राणा परिवारका लागि मात्र खोलिएको उक्त विद्यालयमा बिस्तारै सर्वसाधारणले समेत प्रवेश पाउँदै गए । महिलाले घरबाट बाहिर निस्कनु हुन्न भन्ने रुढिवादी परम्परा र सामाजिक सोच भएको तत्कालीन नेपाली समाजमा पुरुषका लागि आधुनिक शिक्षा प्राप्त गर्न केही सहज भए पनि महिलाका लागि यस्तो अवसर पाउनु कठिन नै थियो । 

हाम्रो देशमा बेग्लै विद्यालय स्थापना गरी महिला शिक्षाको सुरुवात गर्ने काम देवशमशेरको पालामा वि.सं. १९५८ वैशाख ३० गते देशका विभिन्न स्थानमा कन्या पाठशाला खोलेर भएको देखिन्छ । यसैगरी चन्द्रशमशेरको प्रधानमन्त्रीत्व कालमा वि.सं. १९८० असार २२ गते काठमाडौँ, पाटन र भक्तपुरमा चार श्रेणीसम्मको पढाइ हुने गरी एक–एकवटा कन्या पाठशाला खोलिएका थिए । ती विद्यालयमा सिलाइ, बुनाइ, कताइ र कटाइसमेत सिकाइन्थ्यो भन्ने कुरा निजामती किताबखानामा भेटिएको तत्कालीन ललितपुर कन्या पाठशालामा शिल्पविद्या सिकाउने शिक्षिका ललितकुमारीको अभिलेखबाट पनि पुष्टि हुन्छ ।

वि.सं. २००३ मा कन्या मन्दिर मा.वि. को स्थापना भयो । नारी शिक्षित नभई समाजको विकास हुन सक्दैन भन्ने कुरालाई मनन गरी तत्कालीन राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेर जबराले वि.सं. २००४ को श्रीपञ्चमीका दिन आफ्नै निजी भवन र १३ रोपनी जग्गामा पद्मकन्या विद्याश्रमको स्थापना गरे । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको पालामा पनि वि.सं. २००७ मा मोहन कन्या मिडिल स्कुल खोलिएको थियो । 

वि.सं. २००७ पछि भने देशभर विद्यालय खोल्ने लहरै चलेको देखिन्छ । नेपाल ‘अधिराज्य’ का डिभिजनल इन्सपेक्टर कार्यालयबाट वि.सं. २०११ जेठ १ गते प्रकाशित भएको विद्यालय तालिकामा रहेका ६५ वटा विद्यालयमध्ये महिलाको मात्रै पढाइ हुने विद्यालयमा कन्या मन्दिर मा.वि., पद्मकन्या विद्याश्रम मा.वि., कान्ति ईश्वरी राज्यलक्ष्मी हाईस्कुल, मदन मेमोरियल गल्र्स हाईस्कुल, शारदा बालिका विद्यालय र कन्या हाईस्कुल धरान उल्लेखित छन् । त्यसताका महिलाका लागि भनी खोलिएकामध्ये कतिपय विद्यालय हालसम्म आइपुग्दा विभिन्न कारणले सहशिक्षामा गइसकेका छन् भने केही विद्यालयले अझैसम्म आफ्नो इतिहास र अस्तित्व जोगाउँदै देशको नारी शिक्षामा महìवपूर्ण योगदान दिँदै आएका छन् । 

वि.सं. २००७ मा नेपालमा प्रजातन्त्रको स्थापना हुँदा नेपालको साक्षरता करिब २५ प्रतिशत थियो । त्यसबेला महिलाको साक्षरता दर बेग्लै गणना गर्ने स्थितिमा नै थिएन । सन् २००१ मा भएको राष्ट्रिय जनगणनामा महिलाको साक्षरता दर ४२ दशमलव ८ प्रतिशत देखिएको थियो । त्यसको एक दशकपछि अर्थात् सन् २०११ को राष्ट्रिय जनगणनाले महिला साक्षरता दर ६५ दशमलव ९ प्रतिशत र पुरुषको साक्षरता प्रतिशत ७१ दशमलव १ प्रतिशत देखाएको छ । १० वर्षको अन्तरालमा प्रतिवर्ष २ दशमलव ३१ प्रतिशतका दरले महिला साक्षरता वृद्धि हुँदै कुल २३ दशमलव १ प्रतिशत बढेको देखिन्छ ।

देशको जनसङ्ख्यामा पुरुषको तुलनामा महिला बढी देखिएको सन्दर्भमा यस तथ्याङ्कलाई हेर्दा महिलाको साक्षरता दर भने पुरुषको भन्दा ५ दशमलव २ प्रतिशतले अझै कम देखिन्छ । यो तथ्याङ्क आफैँमा धेरै निराशाजनक नभए पनि संविधानले अङ्गीकार गरेको समानताको हकको सिद्धान्तअनुरूप यसमा बढोत्तरी हुनु आवश्यक छ । यससम्बन्धी ऐन, कानुन र नियम बनाउँदा यसतर्फ सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ ।
 नाेट: याे लेखलाई तलकाे लिंकमा पनि पढ्न सकिन्छ - http://gorkhapatraonline.com/news/60844 

Comments

Post a Comment

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...