Posts

Showing posts from May 14, 2023

लघुकथा: तरकारीको स्वाद

Image
                   ✍️ मुरारीराज मिश्र 'तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति मीठाे हुन्छ ? मैले पकाएको बेलामा यस्ताे स्वादिलो कहिल्यै हुँदैन त !' खाना खाँदै गर्दा रमेश प्रायः आफ्नी श्रीमती सुशीलालाई भन्ने गर्थ्यो । 'तपाईं संधै मीठो मानेर खाईदिनु हुन्छ त्यसैले हाेला !' सुशीला जवाफ दिन्थिन् ।   'उही तरकारी, पकाउने तरिका पनि उस्तै, हाल्ने मसला पनि उही तर स्वादमा भने यस्तो अन्तर कसरी !' भन्दै रमेश छक्क पर्थ्याे । 'तरकारी पकाउँदा म अलिकति माया पनि मिसाउँछु क्या' सुशीला हाँस्दै भन्थिन् । आज फेरि रमेशले उस्तै प्रश्न सहित तरकारीको स्वादकाे तारिफ गर्‍यो । बिहे गरेकाे छ महिना देखि यस्तै प्रश्न झेलिरहेकी सुशीलाले रमेशलाई जवाफ दिँदै भनिन् 'तपाईं साकाहारी, म माछामासु खानुपर्ने । मासु पकाएको बेला म मासुकाे झाेल तपाईंको तरकारीमा मिसाईदिन्थे त्यसैले फरक स्वाद भएको हाे ।' 'झाेल त पहिलेदेखि नै ख्वाउँदै आएकै रहिछाै, अब के बार्नु ? लाै दुईवटा टुक्रा पनि हाल्देऊ त' रमेशले हाँसेर थाल अघि बढाउँदै भन्याे ! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं- ७)