लघुकथा: तरकारीको स्वाद

   


लघुकथा:
       तरकारीको स्वाद
            ✍️ मुरारीराज मिश्र
'तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति मीठाे हुन्छ ? मैले पकाएको बेलामा यस्ताे स्वादिलो कहिल्यै हुँदैन त !' खाना खाँदै गर्दा रमेश आफ्नी श्रीमती सुशीलालाई प्रायः यही प्रश्न गर्ने गर्थ्यो ।

'तपाईं संधै मीठो मानेर खाईदिनु हुन्छ त्यसैले हाेला नि !' सुशीला हाँसेर जवाफ दिन्थिन् ।

'उही तरकारी, पकाउने तरिका पनि उस्तै, हाल्ने मसला पनि उही तर स्वादमा भने यस्तो अन्तर कसरी त !' रमेश छक्क पर्थ्याे ।

'तरकारी पकाउँदा म अलिकति माया समेत मिसाउँछु क्या !' सुशीला पनि यसरी नै भन्थिन् ।

आज फेरि रमेशले उस्तै प्रश्न सहित तरकारीको स्वादकाे तारिफ गर्‍यो ।

बिहे गरेकाे छ महिना देखि यस्तै प्रश्न झेलिरहेकी सुशीलाले यसपटक भने रमेशलाई नढाँट्ने बिचारले भनिन् 'तपाईं साकाहारी, मलाई भने सानैदेखि माछामासु मनपर्ने । भान्सामा मासु पाकेको बेलामा, म मासुकाे अलिकति झाेल तपाईंको तरकारीमा पनि मिसाईदिन्थे त्यसैले फरक स्वाद लागेको हाे तपाईंलाई ।'

भात खाँदै गरेको रमेशले एकछिन वाल्ल परेर श्रीमतीको मुखमा हेर्‍यो । 'झाेल त पहिलेदेखि नै ख्वाउँदै आएकै रहिछाै, अब के बार्नु ? लाै दुईवटा टुक्रा पनि हाल्देऊ यसमा !' उसले थाल अघि बढाउँदै भन्याे !

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं- ७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...