Posts

Showing posts from October 8, 2023

लघुकथा: पढाइ

        ✍️ मुरारीराज मिश्र, "तीन-चार दिन देखि राम्ररी पढाइ भएको छैन भनेर भन्दैथ्याे छाेरा ! के कारणले हाेला सर ? बुझ्न आएकाे म त !" प्रशान्तले प्रधानाध्यापकलाई प्रश्न गर्‍यो । "त्यस्तो त केही हाेईन, दशै अगाडि विद्यार्थीहरु पनि पढ्ने मुडमा देखिएनन् । निर्धारित काेर्स पनि सकिएको छ त्यसैले उनीहरूका लागि मनाेरञ्जनात्मक कार्यक्रमहरु गरिएकाे हाे ।" प्रधानाध्यापकबाट जवाफ आयाे । "अनि, प्रत्येक साताकाे अन्तिम दिनमा त नियमित पठनपाठन बाहेकका अतिरिक्त क्रियाकलाप मात्रै गराईने गरिएको छ हैन र सर ? उसै पनि विभिन्न बन्द हडतालका कारण यस अघि केही दिन पढाइ छुट्याे !" "त्यसबेलाको क्षतिपूर्ति त शनिबारे बिदाका दिनहरुमा पढाएर गर्‍यौं नि हामीले !" "मेराे जिज्ञासा यहीँनेर हाे सर ! यदि स्कुल खुलेको बेला नपढाउने हाे भने विद्यार्थीकाे मस्तिष्कले आराम पाउनु पर्ने साप्ताहिक बिदाको दिन चाँहि विद्यालय किन खाेल्ने त ?" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा: उपचार

Image
 ✍️ मुरारीराज मिश्र "अब सम्पूर्ण बिरामीले अस्पतालमा निशुल्क स्वास्थ्य सेवा पाउनेछन् । अस्पतालका लागि बजेटकाे कुनै कमी हुने छैन । यहाँहरुको सबै समस्याको अविलम्ब समाधान गर्नेछु । याे मेराे वचन भयाे तपाईंहरुलाई ।" अस्पताल निरीक्षणमा आएका नवनियुक्त स्वास्थ्यमन्त्रीले हाैसिंदै भने ।  - बिरामी र कुरुवाहरु उपचार खर्च बच्ने भाे भनेर रमाए । - करारका स्वास्थ्यकर्मीहरु स्थायीकाे कल्पनामा हराए । - स्थायीहरु बढुवाको आशाले प्रफुल्लित देखिए । - पररररर तालि पड्कियाे ।  - राजसी शैलीकाे स्वागत अभिवादन पाएर मन्त्री खुशी हुँदै फर्किए ।  अस्पताल परिसरमा रहेका सबैजना एकछिन अघि मन्त्रीले पस्केका ख्याली पुलाउकाे स्वादमा रम्दै थिए । कुनै बिरामीकाे कुरुवाले सुन्दै गरेकाे एफएममा समाचार बज्याे - "बजेट अभावकाे कारण सरकारले करारमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई अवकाश दिने निर्णय गरेको छ !"  (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) https://kapanonline.com/archives/155837?fbclid=IwAR3xXXowdeFwWwLwWzMctV9G06EeUORjnC0igJBxyFY27wx24G2r8B6st3s