लघुकथा: समर्पण
✍️ मुरारीराज मिश्र "कृपया, मलाई स्वीकार" पानीले याचना गर्यो । "जब मलाई तताउँछन्, तिमी त्याे ताप सहन सक्दैनाै । आफ्नो स्वार्थका लागि तिमीलाई संकटमा पार्न चाहन्न म" दूधकाे जवाफ थियोे । "मलाई अंगाल, म कुनै पनि कठिन अवस्थाका लागि तैयार छु" पानीले जिद्दी छाेडेन । "एकपटक गहिरिएर साेच, मलाई तताउँदा उत्पन्न हुने तापले प्रतिक्षण घट्नु (सुक्नु) पर्छ" दूधले सचेत गरायाे । "सबै स्वीकार छ, मेराे अस्तित्व रहुन्जेल हरेक आपतमा तिम्राे रक्षा गर्नेछु" पानी वचनबद्ध भयाे । दुबै मिसिन्छन् । दूधले पानीलाई आफ्नो रंग र रुप दिएर आफूभित्र समाहित गर्छ । त्यही वचन पूरा गर्न, दूध तताउँदा आफू सुकेर पनि दुधकाे रक्षा गर्दैछ पानीले । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७) प्रदीप सापकोटाजीकाे अनलाइन ई-खबरनेट डटकम् मा प्रकाशित