लघुकथा: न्याय हराएको बस्ती
✍️ मुरारीराज मिश्र
"कति हाेहल्ला, झगडा, लुछाचुँडी, ताेड्फाेड् ... ! साह्रै खराब बस्ती रहेछ याे ! एकछिन शान्तिपूर्वक थकाइ मार्न पनि पाइएन । हिंड जाउँ, यहाँ नबसाैं ।" घुम्दै बाँदरकाे बस्तीमा आएकाे खरायोले आफ्नी पत्नीसंग भन्यो ।
नजिकैको झाडीबाट एउटा बाँदरले खरायो दम्पतीका सम्बाद सुनिरहेकाे थियोे । जब उनीहरू जान लागे, उसले खरायोलाई राेक्दै भन्याे "पख ! यी मेरी पत्नी हुन्, तिमीले कहाँ लान लाग्याै यिनीलाई ?"
आफ्नी पत्नीमाथि बाँदरकाे दावी देखेर, खरायोले छक्क पर्दै भन्यो "के भनेको बाँदरभाइ तिमीले ! यिनी त मेरी पत्नी हुन्, कसरी तिम्री भइन् ?"
बाँदरले आफ्नो दावी छाेडेन । उसले सबै बाँदर जम्मा पार्यो । विवाद छिनोफानोकाे लागि पञ्च भलाद्मी बाेलायाे । खरायो दम्पती जिल्ल पर्दै थिए ।
न्याय निरुपण गर्न पञ्च भलाद्मीकाे बैठक बस्याे । उनीहरूका बिच आपसी छलफल चल्यो ।
"याे त खरायोकै पत्नी हाे नि ।" एउटाले भन्याे ।
"निश्चय नै हाे ।" अर्कोले सही थाप्याे । अरु दुईवटाले पनि त्यसै भने ।
मुख्य भलाद्मीले गम्भीर हुँदै भन्याे "खरायोपत्नी भन्ने कुरा त थाहै छ । तर, हामी यही समाजमा बस्नुपर्छ, मर्दा-पर्दा आफ्नै सजातीय चाहिन्छ । खरायोकाे पक्षमा फैसला गर्दा हाम्रा दाजुभाइ सबै चिढिन्छन्, हाे कि हाेइन भन्नुस् त ?" याे भनाइमा सबैले सहमति जनाए । बाँदरकाे पक्षमा फैसला भयाे ।
अन्यायमा परेको खरायो फर्कन लाग्दै थियो, उसलाई बाँदरले बाेलायाे र हाँस्दै भन्यो "यिनी तिम्रै श्रीमती हुन्, लैजाऊ ।"
"अनि, यत्रो नाटक किन त ?" खरायोले साेध्याे ।
"याे त साह्रै खराब बस्ती रहेछ, भनेका थियौ नि तिमीले, त्यसैको जबाफ दिन ।" बाँदरले भन्यो ।
खरायाेले नबुझेको भावले बाँदरतर्फ हेर्यो ।
"हेर, कुनै पनि बस्ती वा समाज आफैंमा खराब हुँदैन । जात, धर्म र आफन्तका पक्षमा काम गर्ने, यस्तै विवेकहीन नेतृत्वका कारणले खराब देखिन्छ ।" बाँदरले गम्भीर हुँदै भन्यो ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
laghukatha sansar ma prakashit
Comments
Post a Comment