यात्रा संस्मरण : विकास पर्खिरहेको पाँचपाेखरी

✍️ मुरारीराज मिश्र भ्रमण केवल एक कर्मकाण्डीय घुमाइ मात्र होइन, अपितु देश दर्शन, प्राकृतिक, सांस्कृतिक र भाैतिक समृद्धिको अनुभव समेत हो । भ्रमणले आत्मिक तथा मानसिक शान्ति प्रदान गर्नुका साथै स्थानीय बाताबरण, प्राकृतिक सौन्दर्य, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्त्व, ग्रामीण जीवनको वास्तविकता, स्थानीय जीवनशैलीकाे अविस्मरणीय अनुभव संगाल्न पनि मद्दत गर्दछ । भ्रमणलाई जीवन जगत बुझ्ने उपयुक्त पाठशाला पनि मान्न सकिन्छ । पाँचपाेखरीकाे बिहान सबेरैकाे दृश्य करिव तीनहप्ता अघि दाेलखास्थित शैलुङ्काे दुईदिने यात्राबाट फर्के लगत्तै पाँचपोखरीकाे यात्रामा जाने निधाे गरेका भएतापनि हाम्रो भ्रमणको टुंगो भने पाँचदिन अघिमात्रै लागेको थियो । नारायणटार, शिवचाेकमा रहेको आमा याङ्ग्री ह्योल्मो यातायातकाे टिकट काउण्टरबाट सिन्धुपाल्चोककाे भाेताङ, छिम्तीसम्मकाे बस टिकट बुक गरेर हामी भ्रमणको तैयारीमा लाग्यौं । निर्धारित मिति २०८२ जेठ १४ गतेकाे बिहान ६ बजे लक्ष्मी पाण्डे, अञ्जना पाण्डे, कल्पना मिश्र र याे पंक्तिकार कुमारीगालबाट टैक्सी लिएर नारायणटार बसपार्क पुग्यौं । गीता बिष्ट हामीभ...