Posts

Showing posts from January 21, 2024

लघुकथा : मानवीयता

Image
            ✍️ मुरारीराज मिश्र, बाटोमा एकसुरले हिडिरहेकाे अमित, छेउको नालीबाट आईरहेकाे आवाज सुनेर नालीतर्फ माेडियाे । निहुरिएर नालीभित्र हेर्‍यो । अनि, पिठ्युँमा बाेकेकाे झाेला हतारहतार भुईंमा राख्याे । जुत्ता फुकाल्याे । कमिजकाे बाहुला र पाइन्टकाे माेता सार्दै नालीतिर ओर्लियाे । एउटा मानिस अचानक त्यसरी नालीमा पस्न लागेकाे देखेर काैतुहलतापूर्वक मानिसहरु झुम्मिए । भीडबाट एउटाले साेध्याे "हैन, के भयाे किन छिरेको नालीमा ?"  "नालीमा बच्चा खसेछ, निकाल्दैछु" उसले तलतिर ओर्लिंदै जवाफ दियाे । उसको जवाफ सुनेर मानिसहरु "कठै बिचरा, कसको बच्चा रहेछ ! जिउँदै त हाेला नि ?" भनेर विस्मात् मान्दै अझै झुम्मिएर हेर्नथाले ।  एकछिन पछि, कुकुरको सानाे बच्चाे हातमा बाेकेर उ नालीबाट निस्कियाे । नसाेचेकाे दृश्य देखेर मानिसहरू भन्न लागे "जाबो एउटा छाउरो बचाउन पनि त्यस्तो फोहोरमा पस्ने, कति मूर्ख रहेछाै तिमी त !" सहज भावमा उसले भन्यो "छाउरो होइन, मैले मानवीयता बचाएको हुँ ।" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)