Posts

Showing posts from September 24, 2023

लघुकथा: जवाफ

         ✍️ मुरारीराज मिश्र, 'मसंग तिमीभन्दा धेरैगुना बढि शक्ति छ । ठूलो छु, तर पनि तिमीले जसरी चुपचाप काम फत्ते गर्न सक्दिन । जाेड्न हैन फोड्न मात्रै आउँछ मलाई, त्यो पनि धेरै समय लगाएर मात्र । तिमी सानो छ्यौ, तैपनि छिटो छरितो र सजिलै मैले गर्न नसक्ने काम गर्छेउ ! यस्तो किन हँ ?' उसले प्रश्न गर्‍यो । 'पक्कै पनि तिमी म भन्दा निकै ठूलो र शक्तिशाली छाै । तर आत्मियता र नम्रपना तिमीमा पटक्कै छैन । जोडदैनौ, केवल ताेड्ने स्वभाव छ तिम्रो ! यही कारण तिमीले अरुको मनमा आफ्नो स्थान बनाउन नसकेको हाे । कुनै पनि काम हल्ला गरेर हाेइन, मैले जस्तै चुपचाप मन जितेर गर्न सक्नुपर्छ ।´ साँचोले हथौडालाई जवाफ दियो । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा: जागिरे बुहारी

             ✍️ मुरारीराज मिश्र, `घरमा परिवारहरु पनि छन्, समयमै खाना पकाएर खुवाउनु पर्छ भन्ने त बुझ्नुपर्छ नि ! यसरी ढिला आएर पनि घर चल्छ ? यस्ता जागिरे त सबै छन् !´  `हाे भन्या आमा ! बल्लतल्ल दुईचार दिनका लागि माइती आयाे, न समयमा खाना, न कसैसँग कुराकानी !´ `ठीकै भनिस् बहिनी ! म अफिसबाट अघि नै आएर बसिसकें, यस्काे भने भर्खर दर्शन पाइंदै छ ! अब कुनबेला खाना पाक्ने हाे, यहाँ आफ्नो पेटमा मुसाे कुदिसक्याे !´ अफिस सकेर काेठामा छिर्न पाएकाे छैन, एकैपटक सासू, नन्द र पतिकाे यस्तो कुरा सुनेर सुशीला जिल्ल परिन् । एकछिन त, के गरुँ कसाे गरुँ भन्ने जस्तो भयाे उनलाई । तत्कालै सम्हालिएर `आज बजार पनि जानुपर्ने थियोे, त्यसैले केही ढिला भयाे, म एकैछिनमा पकाईहाल्छु´ भन्दै काेठामा पसिन् ।  लुगा फेरेर, हातखुट्टा धाेई हतारहतार भान्छामा छिर्दा  खाना पाकेर तैयार थियोे । उनी अचम्म मान्दै थिईन्, ढाेकाबाट सासू, नन्द र पतिले एकैसाथ हाँस्दै भने `जन्मदिनको धेरै धेरै शुभकामना सुशीला ।´ (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)