लघुकथा: जागिरे बुहारी
✍️ मुरारीराज मिश्र,
`घरमा परिवारहरु पनि छन्, समयमै खाना पकाएर खुवाउनु पर्छ भन्ने त बुझ्नुपर्छ नि ! यसरी ढिला आएर पनि घर चल्छ ? यस्ता जागिरे त सबै छन् !´
`हाे भन्या आमा ! बल्लतल्ल दुईचार दिनका लागि माइती आयाे, न समयमा खाना, न कसैसँग कुराकानी !´
`ठीकै भनिस् बहिनी ! म अफिसबाट अघि नै आएर बसिसकें, यस्काे भने भर्खर दर्शन पाइंदै छ ! अब कुनबेला खाना पाक्ने हाे, यहाँ आफ्नो पेटमा मुसाे कुदिसक्याे !´
अफिस सकेर काेठामा छिर्न पाएकाे छैन, एकैपटक सासू, नन्द र पतिकाे यस्तो कुरा सुनेर सुशीला जिल्ल परिन् । एकछिन त, के गरुँ कसाे गरुँ भन्ने जस्तो भयाे उनलाई । तत्कालै सम्हालिएर `आज बजार पनि जानुपर्ने थियोे, त्यसैले केही ढिला भयाे, म एकैछिनमा पकाईहाल्छु´ भन्दै काेठामा पसिन् ।
लुगा फेरेर, हातखुट्टा धाेई हतारहतार भान्छामा छिर्दा खाना पाकेर तैयार थियोे । उनी अचम्म मान्दै थिईन्, ढाेकाबाट सासू, नन्द र पतिले एकैसाथ हाँस्दै भने `जन्मदिनको धेरै धेरै शुभकामना सुशीला ।´
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment