Posts

Showing posts from February 23, 2025

गजल: अहिलेकाे मान्छे

Image
                 ✍️ मुरारीराज मिश्र अहिलेकाे  मान्छे,  मानवीय  धर्मबाट  चुक्दैछ आपसमा  लडाउने,  उपयुक्त  माैका ढुक्दैछ । मैले  पहिल्यै  भनेको   थिएँ,  बसेर  मन  माझाैं देख्यो, कसिएकाे शंकाको गाँठो कसरी फुक्दैछ ! जैले   देखि  मेराे   पक्षमा   दरिलोसंग  उभियाै  भ्रमकाे  खेती  गर्नेहरूकाे बालीनाली  सुक्दैछ । सुन्दरताकाे बयान गर्दा `फुर्क्यायाै´ भन्थ्याै तिमी  हेर,  तिम्लाई देख्दा  चन्द्रमा  लजाएर लुक्दैछ । जब  हामी   एकाकार  भयाैं   प्रेममा   बाँधिएर लाग्छ, त्यै बेलादेखि समय पनि टक्क रूक्दैछ ।                        ~~~~ कविता संसारमा प्रकाशित

लघुकथा: सजाय

       ✍️ मुरारीराज मिश्र “जस्काे कारणले क्षति हुन गएको हाे, उसैले त्यसको उचित क्षतिपूर्ति र सजाय बेहोर्नु पर्छ । त्यसैले, कार्यक्रमकाे नेतृत्वकर्ता भएका कारण पार्टी अध्यक्ष सजायका भागिदार हुने ठहर्छ ।” न्यायाधीशले फैसला सुनाउँदै भने । कुनै राजनीतिक दलले आयाेजना गरेको कार्यक्रमकाे दाैरान आफ्नो घर ताेडफाेड भएको भन्दै दुई बर्ष अघि, तत्कालीन पूर्व प्रधानमन्त्रीले हालेको क्षतिपूर्तिकाे मुद्दामा आज फैसला आएको थियोे । ती पू्र्व प्रधानमन्त्री हाल: वहालवाला थिए ।  “श्रीमान्, याे न्यायीक सिद्धान्त सबैमा लागू हुन्छ ?” पार्टी अध्यक्षले न्यायाधीशसंग प्रश्न राखे । “अवश्य लागू हुन्छ ।” न्यायाधीशबाट जवाफ आयो । “अस्तिका दिन प्रधानमन्त्री मन्दिर गएका थिए । निकै भीडभाड भएको बेला उनको सुरक्षाको नाममा एकघण्टा मन्दिर बन्द गर्दा, भीडले च्यापिएर दुईजना मान्छे मरे । याे फैसलाकाे आधारमा त यस घटनामा प्रधानमन्त्रीले पनि सजायको भागिदार हुनुपर्ला नि उसाेभए !” उसले गम्भीर हुँदै भन्यो । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)