लघुकथा: `हत्या याेजना´
✍️ मुरारीराज मिश्र `एकदिन हैन दुईदिन हैन, कतिन्जेल सहने हँ ? अब चाहिँ केही उपाय नगरी भएन है हजुर !´ `पख न, कम्तीमा पनि याे पितृपक्षमा त कुनै पाप कर्म गर्न हुन्न क्या !´ `आ..., त्यसाे भनेर कहाँ हुन्छ र ! आफूलाई दु:ख दिनेलाई ठेगान लगाउन पनि के पक्ष, के साइत ?´ `तैपनि, पहिले घरकाे साेह्रश्राद्ध सकाैं न ! अनि चाहिँ केही सजिलो उपाय प्रयाेग गरेर, धेरै कष्ट नहुने गरी माराैंला नि !´ `त्यस्तो सजिलो उपाय त मैले पहिले नै ठीक पारिसकेकाे छु नि हजुर ।´ `ठीक पारिसक्याै रे ! हैन के हाे त त्यस्ताे ?´ `लाै याे हेर्नुस् ! भर्खरै बजारमा आएको, सानो टुक्रा खाने बित्तिकै मरिहाल्ने, "साङ्लो मार्ने" नयाँ खाले बिषादी हाे याे !´ (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)