Posts

Showing posts from May 19, 2024

गजल

✍️ मुरामि चाेरलाई चाेर भन्न डराउनु पर्ने बेला आयो । ठगलाई साधु भनी सह्राउनु पर्ने बेला आयो ।। मतलवी भए सबै बिना स्वार्थ केही नगर्ने । आफ्नैलाई घुस दिई काम गराउनु पर्ने बेला आयाे ।। उ फटाहा हाे भन्ने कुरा थाहा नै छ सबैलाई  शक्तिमा छ त्यसैले मनपराउनु पर्ने बेला आयो ।। सत्य कुरा बाेल्दा जिब्रो थुतिने डर देखिंदैछ । झूटाे बाेल्न आफैंलाई अह्राउनु पर्ने बेला आयो ।। के नै पाे हुन्छ र यहाँ आफूलाई सत्यवादी बनाएर ! सत्यमा अड्छु भन्नेले अब हराउनु पर्ने बेला आयाे ।।

लघुकथा: बेवकूफ

Image
                   ✍️ मुरामि, "तेराे नेता फटाहा हाे, त्यसले हाम्राेलाई यस्तो तथानाम आराेप लगायाे ।" "अनि तेराेले हाम्रोलाई नानाथरी गाली गरेको चाँहि सुनिनस् तैंले !" तेराे नेता फटाहा हाे ... तेराे नेता छट्टु हाे .... एकै कार्यस्थल भएका एउटै टाेलका दुबैजना साथीहरू कार्यकक्षमै बाझाबाझ गर्दैथिए । लाग्थ्यो, अब केही बेरमा यी दुईका बिचमा हात हालाहाल नै हुन्छ ! "हैन, के काे झगडा हाे तिमीहरूकाे ?" अर्काे सहकर्मीले भित्र पस्दै भने । दुबैले आक्राेसित अवस्थामा आआफ्नो बेलिबिस्तार लगाए । "म भर्खरै रेष्टुरेन्टबाट फर्किंदै छु, त्यहाँको याे दृश्य हेर पहिले । अनि जति बाझ्नु छ बाझ !" आगन्तुक सहकर्मीले आफ्नो माेवाइल दुबैकाे बिचमा राख्दै भने । उनको  माेवाइलकाे भिडियोमा एउटै टेबुलमा कसेर झगडिया ती दुई नेता रक्सीको नशामा लठ्ठीएर हाँस्दै गफ गर्दै गरेका देखिए ।  उनीहरू भन्दैथे "कठै जनता ! हामी आपसमा बाझेकाे साँच्चिकै भन्ठान्दैै रैछन् ! उनीहरुलाई यसरी बेवकूफ नबनाए हामी कसरी राजनीतिमा टिक्ने !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्रेषित