Posts

Showing posts from June 21, 2020

"अमरावती कान्तिपुरी नगरी"

Image
यहाँ राजनीति, बिजनेस बन्यो, न लगानी कुनै, बसी नाेट गन्याे । भयाे राष्ट्र निजी, धनसार सरि, अमरावती कान्तिपुरी नगरी ।। छ संधै मुखमा, बकवास कुरा, न छ अध्ययनै, बन्याे बिज्ञ पुरा । जनता गफ सुन्छन, जिल्ल परी, अमरावती कान्तिपुरी नगरी ।। न कुनै छ खुबी, न छ तालिम नै, न छ बाेली मीठो, न त सीप कुनै । तर छन् पदमा, अति याेग्य सरी, अमरावती कान्तिपुरी नगरी ।। छ त केवल दृष्टि, संधै धनमा, कसरी लुट्ने, हरदम मनमा । न छ पीर बिकास, गराैं कसरी, अमरावती कान्तिपुरी नगरी ।। बढ्दैछ यहाँ, महंगी प्रतिदिन, न छ शान्ति कतै, खतरा छिनछिन् । पिंधिए जनता, घुन-घट्ट सरी, अमरावती कान्तिपुरी नगरी ।। अति दुर्लभ भाे, यहाँ मानवता, सब स्वार्थी भए, न दया, ममता । छ चकित, थकित, दुखी बिचरी, अमरावती कान्तिपुरी नगरी ।।                       ✍️ मुरारीराज मिश्र              ~~~~~ नाेट: साहित्यपाेष्टमा प्रकाशित याे कविता यस लिंकमा https://sahityapost.com/2020/06/10118/ पनि पढ्न सकिन्छ ।