"अमरावती कान्तिपुरी नगरी"

यहाँ राजनीति, बिजनेस बन्यो,
न लगानी कुनै, बसी नाेट गन्याे ।
भयाे राष्ट्र निजी, धनसार सरि,
अमरावती कान्तिपुरी नगरी ।।

छ संधै मुखमा, बकवास कुरा,
न छ अध्ययनै, बन्याे बिज्ञ पुरा ।
जनता गफ सुन्छन, जिल्ल परी,
अमरावती कान्तिपुरी नगरी ।।

न कुनै छ खुबी, न छ तालिम नै,
न छ बाेली मीठो, न त सीप कुनै ।
तर छन् पदमा, अति याेग्य सरी,
अमरावती कान्तिपुरी नगरी ।।

छ त केवल दृष्टि, संधै धनमा,
कसरी लुट्ने, हरदम मनमा ।
न छ पीर बिकास, गराैं कसरी,
अमरावती कान्तिपुरी नगरी ।।

बढ्दैछ यहाँ, महंगी प्रतिदिन,
न छ शान्ति कतै, खतरा छिनछिन् ।
पिंधिए जनता, घुन-घट्ट सरी,
अमरावती कान्तिपुरी नगरी ।।

अति दुर्लभ भाे, यहाँ मानवता,
सब स्वार्थी भए, न दया, ममता ।
छ चकित, थकित, दुखी बिचरी,
अमरावती कान्तिपुरी नगरी ।।
                      ✍️ मुरारीराज मिश्र
             ~~~~~
नाेट: साहित्यपाेष्टमा प्रकाशित याे कविता यस लिंकमा https://sahityapost.com/2020/06/10118/ पनि पढ्न सकिन्छ ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...