Posts

Showing posts from December 10, 2023

लघुकथा : मिसकल

           ✍️ मुरारीराज मिश्र, पत्नी : फाेन बज्याबज्यै गर्‍या´थ्याे है अघिदेखि तपाईंको ! कतै जरुरी फाेन पाे हाे कि, हेर्नुस् एकपटक ! म बजार हिडें । पति : ए, त्यै रमेशले गर्‍या रैछ । आ... जरुरी भए फेरि गर्छ, कलब्याक गरेर फाेकटमा एकरूपैयाँ किन खर्च गर्नु ! (एकघण्टा पछि) पत्नी : बजारमा रमेशबाबु भेटिनु भा´थ्याे, खै कता हाे साधारणसभा सकेर आएको रे ! संगै जान फाेन गरेकाे दाइकाे फाेन नै उठेन भन्दै हुनुहुन्थ्यो ! पति : हाे त नि, कस्तो हुस्सु भएछु ! सहकारीकाे साधारणसभामा गएको भए रू. १५००।- भत्ता आउँथ्यो, व्यर्थै गुम्याे !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

मुक्तकहरु - ४

Image
आपसमा जब शंका मिसिन्छ न्यानाे सम्बन्ध एकाएक चिसिन्छ यसरी घुमाउँछ परिबन्दले पुरै जिन्दगी नराम्ररी पिसिन्छ । सबै मपाँई मात्र छन्, एकले-अर्कालाई गन्दैन राम्रो गरेछाै तिमीले, स्याबास कसैलाई भन्दैन यहाँका नेता र कार्यकर्ता, सबैका चरित्र देख्दा यस्ताे लाग्दैछ मेरो देश, पुस्ताैं सम्मलाई बन्दैन ! जवानी निकै हतारियोे, पर्खिएन बुढ्याैली फुर्सदमा थियोे, फर्किएन संधै गाली पायाे, निर्दाेष समयले उ एकनास चलिरह्याे, झर्किएन । समय अनि परिस्थितिकाे प्रभाव छ कहिँ सम्पन्नता कतै चरम अभाव छ सबैका चाहना पूरा हुँदैनन् कहिल्यै  केही न केही कुराकाे सबैलाई दवाव छ एकपटक, सुन्दरताकाे परिभाषा फेर्ने मन छ शीतलता र सुन्दरता, अंगालोभरि बेर्ने मन छ आऊ दुबैजना मिलेर, आकाशतिर चिहाऊँ प्रिये मलाई, चन्द्रमा संगै बसेर चन्द्रमा हेर्ने मन छ ।                                     बिगार्न, मास्न जानेका छन् यसैलाई विकास मानेका छन् यस्तो लाग्दैछ व्यवहार हेर्दा आफैंलाई मालिक ठानेका छन् ! कर्म, कर्तव्य र दायित्व वहन गर्नैपर्छ जेजस्तो परि आउँछ त्यो सहन गर्नैपर्छ  जरुरी नै छ कुनै पेशा, बाँच्नका लागि पनि राष्ट्र हितमा ब्यक्तिगत ईच्

लघुकथा: ऋण

Image
          ✍️ मुरारीराज मिश्र, दुई बर्षसम्म तिर्न सक्दिन भन्छस्, खै कसरी दिऊँ ! नदिउँ पनि कसरी, छिमेकी परिस् ! के गर्ने गर्ने ? धर्मानन्द साहुले आफ्नो दुबिधा पाेखे । साह्रै अप्ठ्यारो परेर हाे हजुर, जसरी हुन्छ मिलाईदिनु पर्‍यो । भाेलाले हात माड्दै भन्याे । हेर् भाेला, आफू ब्याज उठाएर खानुपर्ने मान्छे परें । सयकडा पच्चीस लाग्छ बर्सेनि । फेरि बाहिर गएर धेरै ब्याज लियो भन्न पाईन्न नि ! त्यसाे भन्ने भए यहाँ किन आउँथे र हजुर ! ल त पख्, म कागज बनाउँछु ।  कागजमा सहीछाप सकेर एक बिटा नाेट भाेलाकाे हातमा राखिदिन्छन् साहुले ।  मैले एकलाखकाे पाे कुरा गरेको थिएँ त साहुजी ! भाेलाले नाेट गन्दै भन्छ । ऋण त एक लाखै हाे नि ! त्यसमा दुई बर्षकाे ब्याज पचासहजार कटाएकाे छु क्या ! साहुले कुटिल मुस्कानका साथ भने । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

प्रार्थना

दयानिधान शंकर, म मा संधै कृपा गर म भाव-भक्ति जान्दिन, परें हजुरकै भर ।। अज्ञानी, मुढ छु प्रभु, म भित्र लाेभ-दम्भ छ । याे माेहमा डुबें किन ? म बुझ्दिन, अचम्म छ !! यी लाेभ, माेह, दम्भका, तलाउ ज्ञानले भर । म आर्त भै पुकार्दछु, प्रभु अब अघि सर ।। कुकर्मता कति गरे, यी मन्, वचन् र कर्मले । निहुरिंदैछ शिर याे, हरेक दिन शर्मले ।। म डुब्छु नर्कमा भनि, मलाई छ यही डर । प्रभु शिव, दया गर, कुकर्म, पाप सब् हर । दयानिधान शंकर, म मा संधै कृपा गर म भाव-भक्ति जान्दिन, परें हजुरकै भर ।। ✍️ मुरामि