लघुकथा: ऋण
✍️ मुरारीराज मिश्र,
दुई बर्षसम्म तिर्न सक्दिन भन्छस्, खै कसरी दिऊँ ! नदिउँ पनि कसरी, छिमेकी परिस् ! के गर्ने गर्ने ? धर्मानन्द साहुले आफ्नो दुबिधा पाेखे ।
साह्रै अप्ठ्यारो परेर हाे हजुर, जसरी हुन्छ मिलाईदिनु पर्यो । भाेलाले हात माड्दै भन्याे ।
हेर् भाेला, आफू ब्याज उठाएर खानुपर्ने मान्छे परें । सयकडा पच्चीस लाग्छ बर्सेनि । फेरि बाहिर गएर धेरै ब्याज लियो भन्न पाईन्न नि !
त्यसाे भन्ने भए यहाँ किन आउँथे र हजुर !
ल त पख्, म कागज बनाउँछु ।
कागजमा सहीछाप सकेर एक बिटा नाेट भाेलाकाे हातमा राखिदिन्छन् साहुले ।
मैले एकलाखकाे पाे कुरा गरेको थिएँ त साहुजी ! भाेलाले नाेट गन्दै भन्छ ।
ऋण त एक लाखै हाे नि ! त्यसमा दुई बर्षकाे ब्याज पचासहजार कटाएकाे छु क्या ! साहुले कुटिल मुस्कानका साथ भने ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment