नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...

✍️ मुरारीराज मिश्र,

"जाने भन्दाभन्दै दुई बर्ष पुग्न लागिसक्याे, यसपालि त पक्कै जानुपर्छ है दाइ !" पारिवारिक कार्यक्रममा भेट भएको बेला मधु न्याैपाने भाइले घच्घच्याए ।

"गुफाभित्र बाघ बस्छ भन्ने प्राचीन जनविश्वास अनुसार" जेठको गैंडुपूर्णिमाका दिन काँडेतार लगाएर गुफाको मुख बन्द गरी कार्तिककाे गाईतिहारे ओैंशीका दिनबाट मात्र खाेलिने गुप्तेश्वर महादेव गुफा जाने सन्दर्भमा हामी फुपू चेला र मामा चेलाका बिचमा यस्तो सम्वाद हुँदै थियोे ।

गुफाभित्र गुप्तेश्वर महादेवकाे दर्शन गर्दै पंक्तिकार

धेरै टाढा नभएपनि ललितपुरकाे दक्षिणी क्षेत्रमा अवस्थित "गुप्तेश्वर महादेव गुफा" पुग्ने पटकपटकको हाम्रो याेजना विविध कारणले सफल हुन सकिरहेकाे थिएन । यस्तैमा, मधुभाइकाे कुराले पुन: उत्साहित बनायो ।

"यसपाली त जसरी पनि जाने हाे बाबु, भाकल नै भईसक्याे !" नजिकै रहेकी श्रीमतीजीले पनि मधुभाईकाे कुरामा सहि थाप्दै भनिन् ।  

"पाेहाेर जाने भन्दाभन्दै समूह नमिलेपछि क्यान्सिल गर्नुपर्‍यो, अब चाँही ढिलाे नगरी जानुपर्छ" मैले भनें । तत्पश्चात सरसल्लाह गरि हामीले माघ २२ मा त्यहाँ जाने कार्यक्रम तय गर्‍यौं । १२ जनाकाे टाेली जुट्याे । माइक्रोबस रिजर्भ गरियाे । 

"तिमीहरू गुप्तेश्वर जाने बेलामा मलाई नछुटाउनु है भनेर कल्पना अर्याल दिदीले भन्नुभएको थियोे, उहाँलाई त खबर गर्नै बिर्सिएछ लाै !" भाेलिपल्ट श्रीमतीजीले सम्झाइन् ।

गुप्तेश्वर जान धेरै ईच्छा गर्ने मध्येमा छिमेकी कल्पना भाउजु पनि हुनुहुन्थ्यो । त्यसैले श्रीमतीजीले उहाँलाई यसबारेमा जानकारी गराईन् । उहाँले "त्याे दिन आफन्तकाे विहेमा जानुपर्ने भएकाले आफूलाई जान नमिल्ने र मलाई छाेडेर गयाै भने तिमीहरूलाई पाप लाग्ला है" भन्नुभएछ ! अब फसाद पर्‍यो, पापै लाग्छ भनेपछि कसरी छाेडेर जानु ? यही कारण माघ २२ गते गुप्तेश्वर जाने कार्यक्रम फेरि एकपटक स्थगित भयाे ।

कहिले कस्काे नमिल्ने, कहिले माैसम अनुकूल नहुने यस्तैमा केही दिन बिते । लाग्याे, भगवानकाे इच्छाविना उहाँको दर्शन गर्न नपाइने नै रहेछ ! उता मधुभाइले घच्घच्याउन छाडेका थिएनन् । भाइकै सल्लाहमा फागुन १९ गते शनिबारकाे मिति पुनः तय गरियाे । यसपटक भने, ग्रुप नमिले स्कुटरमै भएपनि जाने मनसाय थियोे तर १६ जनाकाे टाेली तयार भयाे ।

गुप्तेश्वर पुग्ने भएपछि, बाटोमा पर्ने लेलेकाे मनकामना र नल्लुकाे पाथिभराकाे दर्शन समेत गर्ने कार्यक्रम बन्याे । माइक्रोबस रिजर्भ गरियो । चिया, दही, चिउरा, तर्कारी, अचार, प्लेट-गिलास, पानी लगायतका सामाग्रीहरु क-कस्ले के-के ल्याउने भनेर कार्य विभाजन गरियाे ।

निर्धारित दिन अर्थात् २०८० फागुन १९ गते शनिवार, बिहान ७ बजे हिंड्न कार्यक्रम थियो । त्यसै अनुरुप प्रकाश अधिकारीभाइ माइक्रोबस लिएर साँढे छ मा नै आइसकेका थिए । हामी पनि अधिकांश जम्मा भईसकेका थियौं । सरसामानहरु गाडीमा हाल्ने काम भयाे । 

भ्रमण टाेलीका केही सदस्य भने सदा झैं यसपटक पनि समयमा आईपुगेनन् । अरुलाई कुराएर ताेकेकाे समयमा नआउने मानिसका ब्यवहार देख्दा दिक्क लाग्छ, तर के गर्नु कुर्नुकाे विकल्प थिएन ! प्रकाश भाईलाई पटकपटक हर्न बजाउन लगायाैं । अन्ततः निर्धारित समयभन्दा आधाघण्टा ढिला गरी ७:३० बजे एकदिने धार्मिक यात्राको लागि हामी कुमारीगालबाट निस्कियाैँ ।

शिशिर ऋृतुकाे समय । बिहानको माैसम हल्का चिसै थियोे । बिदाको दिन भएकोले सडकमा सवारीसाधन कम चलेका देखिन्थे । माइक्रोमा सुमधुर भजन बजिरहेको थियोे । गाैशाला, सिनामंगल, काेटेश्वर, ग्वार्काे, सातदोबाटो हुँदै चापागाउँ दाेबाटाेबाट हाम्रो गाडी चक्रपथ बाहिर बायाँतर्फकाे बाटोतिर माेडियाे ।

हाम्राे आजको यात्रा मधुभाइकाे अगुवाइमा हुने तय भएकाले चापागाउँबाट भाइलाई लिएर जानु थियाे । त्यसैले यहाँबाट मैले मधुभाइलाई फाेन गरेर हामी केही समयमै चापागाउँ आइपुग्ने जानकारी गराएँ ।

सातदोवाटोबाट सुनाकोठी, ठेचो हुँदै हामी अघि बढ्यौं । बाटो राम्रै भएपनि केही ठाउँमा साँघुरा थिए । पुराना घरहरुले गाँउले जनजीवनकाे झल्को दिन्थ्याे । हाम्रो गाडी प्याङगाउँ कटेर ८:२० मा चापागाउँ, टाखेल पुग्यो । मधुभाइ हामीलाई नै कुरिरहेका थिए । उनले हामीलाई घरमा लगेर एकएक कप चिया नखुवाई नपठाउने भनेर अड्डी कसे । मलाई पनि, "भरे फर्कंदा कुन बेला हुने हाे बरु अहिले नै फुपू दिदिसंग भेटेर जानु उपयुुक्त हुन्छ" भन्ने लाग्याे । हामी सबै माथि उक्लियाैं ।

बुहारी गीता न्याैपाने चिया तयार गर्दै रहिछन् । हामी दिदिसंग गुप्तेश्वरकाे बारेमा जानकारी लिन थाल्यौं । उहाँले गुप्तेश्वर महादेवकाे गुफा गैंडु पूर्णिमादेखि गाईतिहारे ओैंशीसम्म बन्द गर्ने प्रचलन, त्यहाँको धार्मिक महत्त्व, मान्यता र किंवदन्तीकाे बारेमा बताउनुभयो । आफू बिहे गरेर यहाँ आएदेखि आफ्ना श्रीमान् स्वर्गीय नहुन्जेलसम्म प्रत्येक बर्ष रुद्री लगाउन त्यहाँ जाने गरेकाे संस्मरण समेत उहाँले सुनाउनुभयो ।

चापागाउँ, टाेखेलमा फुपू दिदीकाे साथमा हाम्रो टाेली


यत्तिकैमा बुहारी गीता चिया लिएर आइन् । उनकाे मीठो चिया सहितको आतिथ्यता ग्रहण गरेर, फुपू दिदीसंग बिदावारी भयाैं । हुन त, गीताकाे पनि हामीसंगै जाने इच्छा थियोे तर अस्वस्थताका कारण उनी जान नसकेकोमा खल्लो मान्दै ९:०५ बजे मधुभाइकाे नेतृत्वमा हाम्राे टाेली त्यहाँबाट मनकामना मन्दिरतर्फ प्रस्थान गर्‍यो ।

अगाडिको बाटो राम्रो पिचराेड थियोे । बाटोमा सवारीसाधनकाे चाप थिएन । जङ्गलछेउ भएर हाेला माैसम भने चिसो चिसाे नै थियोे । पिचराेड छाेडेर केही मिनेटको कच्ची बाटो चढेपछि बिहान ९:३५ तिर मनकामना मन्दिर पुगियो । पिकनिक मनाउन आएका स्कुल, कलेज र अन्य समूहका सवारी र क्याटरिङ्का कारण यहाँ व्यापक भिडभाड देखिन्थ्यो ।

ललितपुरकाे लेलेमा २०६२ सालमा निर्मित यस मन्दिरले गर्दा लेले मनकामना क्षेत्र हिजोआज पर्यटकीय स्थल बन्दै गईरहेकाे छ । आन्तरिक पर्यटकका कारण यहाँका उत्पादनले घर छेउमा नै बजार पाउन थालेका छन् । जग्गाजमिनकाे भाउ आकाशिएकाे रहेछ । जसबाट स्थानीय जनताको आर्थिक स्तरमा क्रमश: बृद्दि हुँदै गएको देखिन्छ । पर्यटनबाट पनि विकास हुन्छ भन्ने उदाहरण हाे याे ।

हामी मन्दिर परिसरमा पुग्दा लाइन अव्यवस्थित थियोे । यस्ताे भीड हुने स्थलमा स्वयंसेवक तथा प्रहरी कतै देखिएनन् । हामी लाइनमा बस्यौं । लाइन भने फिटिक्कै सर्दैनथ्याे । मानिसमा लाइन बस्ने भन्दा विभिन्न बहानाबाजी गर्दै बेलाइनबाट छिर्न खाेज्ने प्रबृत्ति हावी देखिन्थ्यो । ढिलो सबैलाई हुन्छ भन्ने कुराकाे हेक्का कसैले राखेको पाईएन ।

लेलेकाे मनकामना मूर्ति 

यसै बेला, काठमाडौंकाे २८ नम्बर वडाबाट ४ वटा बसमा मन्दिर दर्शनका लागि आएको जेष्ठ नागरिककाे समूह आईपुग्याे । त्यस टाेलीकाे व्यवस्थापन गर्दै आएकाहरुले सबैलाई लगेर मन्दिरको ढाेकामै थुपारे । लाइन झन् भद्रगोल बन्याे । हामीले "लाइनमा बसाैं, सबैलाई सुविस्ता हुन्छ" भन्दा नमानेर, ल्याउनेहरु उल्टै "जेष्ठ नागरिककाे अधिकारकाे" ठूला कुरा गर्न थाले । तर भिडभाडबाट वृद्धहरूलाई हुने कष्ट बारे भने उनीहरूले ध्यान पुर्‍याएकाे पाईएन ।

लाइन नसरेपछि, धेरै बेरदेखि लाइनमा बसेकाहरु आक्राेशित भई कराउन थाले । केही नलागेपछि हाम्रा टाेलीका कल्पना मिश्र र मेधा मिश्र लाइन व्यवस्थित गर्न भनेर कस्सिए । एकजनाले ढाेकामा बसेर लाइनबाट दर्शनार्थी भित्र पठाउने र अर्कोले भित्रबाट चाँडै निकाल्न थाले । बल्ल लाइन सर्न लाग्याे । अन्ततः करिव १ घण्टा जतिमा हामीले पूजा र दर्शन सक्यौं । यदि दुईजनाले अघि सरेर व्यवस्थापन नगरेको भए लाइन नसरेर दर्शनका लागि २-३ घण्टा लाग्ने संभावना थियोे । यसैले, दर्शनार्थीकाे सुविस्ताका लागि यहाँ स्वयंसेवक र प्रहरी आवश्यकता खट्कियाे ।

लेलेस्थित मनकामना मन्दिरमा 

मन्दिरबाट ओर्लंदै गर्दा हाम्रो टाेलीका केहीले त्यहाँ बेच्न राखिएका स्थानीय उत्पादन तर्कारीहरु किने । यात्रुहरु आउने क्रम जारी रहेकाले भीडभाड पनि बढ्दै गएको देखिन्थ्यो । पाैने ११ बजिसकेकाले ढिला नगरीकन हामी भने अर्को गन्तव्य नवस्थापित पाथिभरा मन्दिरतर्फ प्रस्थान गर्‍यौं ।

अगाडिको बाटो निर्माणाधीन भएकोले खराव हालतमा थियोे । जताततै निर्माण सामाग्री थुपारेकाे कच्ची बाटोमा गर्मि र धुलाे खेप्दै ११:१५ मा नल्लुस्थित पाथीभरा मन्दिर परिसरमा पुुगियाे । मन्दिरमा पुग्न त्यहाँबाट झन्डै १० मिनेट जति उकालो सिंढी चढ्नु पर्ने रहेछ । यहाँ भने खासै भीड थिएन । हामीले सजिलै सँग दर्शन गर्‍यौं ।

२०६७ सालमा स्थापित यस "प्रतिकृति" पाथीभरा मन्दिरमा, मातालाई एकपाथी द्रव्य (सिक्का) चढाउने हाे भने चारहजार, धान चढाए एकसय र चामल चढाए दुईसय दस्तुर तिर्नुपर्ने रहेछ । उचाइमा रहेकाले हाेला चिसाे हावा चलिरहेको थियोे । यहाँबाट वरपरका बस्ती प्रष्ट देखिन्थे । बाटोमा मानिसहरु स्थानीय उत्पादन बेच्न बसेका थिए । तल ओर्लेर घरबाटै थर्मसमा लगेको चिया खायौं । अनि, अपरान्ह १२ बजे यहाँबाट आजको अन्तिम तथा प्रमुख गन्तव्य गुप्तेश्वर गुफातर्फ प्रस्थान गर्‍यौं । 

नल्लुस्थित पाथीभरा मन्दिरमा 

जङ्गलकाे बिचकाे कच्ची बाटाेकाे यात्रा साेचेजति सहज थिएन । बाटोमा सवारीसाधन र मानिस देख्न दुर्लभ थियोे । घर-पसल देखिन्नथे । भाेक लागिरहेको थियोे, खानेकुरा पनि थिए तर दर्शन सकेर मात्रै खाने भनेर चिया र पानी वाहेक केही पनि खाएका थिएनौं हामीले ।

करिब डेढ घण्टाकाे यात्रा पछि चाैघरे भन्ने ठाउँमा प्रहरी चेकपोस्ट देखियाे । त्यहाँ सवारीसाधनकाे विवरण दर्ता गर्नुपर्ने रहेछ । अगाडिकाे बाटो अझै खराब हालतमा थियोे । कतिपय ठाउँकाे कच्ची धुल्याैटे र ढुंगे बाटोमा हाम्रो सवारीले नतानेर ओर्लेरै हिंड्नु पर्‍यो । हिड्ने क्रममा बाटाेका दायाँबायाँ फुलेका जमानेमान्द्रो बुटी, सुनगाभा, लालीगुराँस लगायतका दृश्य चित्ताकर्षक लाग्थे । 

एकघण्टा जतिकाे यात्रा कहिले हिंड्ने कहिले गुड्ने गर्दै २:३० बजे ब्रह्मा, बिष्णु र महेश्वरकाे विशाल मूर्ति निर्माण भएकाे भारदेउ भन्ने स्थानकाे टुप्पोमा पुगियो । यहाँबाट फुलचाेकी लगायतका डाँडाहरु देखिन्थे ।

यहाँबाट गुप्तेश्वरकाे गुफा भएको ठाउँसम्म पुग्न सिंढी ओर्लनु पर्ने रहेछ । ढुंगा छापिएको सिंढीहरू व्यवस्थित थिए । २५६ वटा सिंढी ओर्लेर १० मिनेटमा गुफा परिसरमा पुग्यौं हामी । वरिपरि देवदेवीका मूर्ति र अन्य संरचना निर्माण हुँदै रहेछन् । समथर चाैरकाे दक्षिणीभागमा देवस्थान नजिकै रहेको रुखनेर  गुफाकाे प्रवेशमार्ग देखियाे । 

गुप्तेश्वर गुफाको प्रवेशद्वार 

गुप्तेश्वर गुफा

गुप्तेश्वर गुफाको प्रवेशद्वारबाट भित्र छिर्दै

"ल दाइ, यहीँबाट गुफाभित्र छिर्नुपर्छ । सबैजना एकैपटक जान सकिन्न, म अघि लाग्छु एकएकजना गरेर बिस्तारै आउनुहोस् ।" यति भनेर मधुभाइ गुफा भित्र छिरे । भित्र निष्पट्ट अँध्यारो देखेपछि पाे बिहान घरबाट निस्कंदा लगेको टर्चलाइटकाे सम्झना भयाे मलाई । टर्च त माथि गाडीमै पाे छुटेछ ! थकाइका कारण माथि पुगेर टर्च ल्याउने आँटै आएन । धन्न, मधुले पनि टर्च बाेकेका रहेछन्, नत्र आपत पर्ने रहेछ । 

म मधुलाई पच्छ्याउँदै अघि बढें । गुफाको मुखबाट दशमिटर जति छड्के लागेपछि साँघुरो चेप आयो । त्यहाँबाट छिर्न अलि मुस्किल पर्ने रहेछ । धर्मढाेका भनिने यस चेपबाट छिरेपछि ठाडै तलतिर खाल्डोमा झर्नुपर्ने रहेछ । समाउने र टेक्ने राम्रो ठाउँ थिएन । टर्च देखाउँदै मधुले सहारा दिएर टेक्ने ठाउँ देखाए । उनकै अगुवाइमा म बिस्तारै तल झरें । हतारिएर ओर्लने ठाउँ हैन रहेछ याे ! तलतिर दर्शनार्थीले चढाएका त्रिशुलका रास थियोे ।

तल करिव एक मिटर चाैडा र ३० मिटर लामाे ठाउँ थियोे । गुफाभित्र गणेशको शिर, गाईको थुनजस्ता अनौठा शीलाकृतिहरू देखिए । गुफाभित्र चमेराहरु झुन्डिएर रहेका पनि देखिन्थ्याे । छेउको कुनामा महादेव लगायतका देवाकृतिका पत्थर थिए । त्यहीँ गुप्तेश्वरकाे पूजा गरिने रहेछ । 

मभन्दा पछि लक्ष्मी पाण्डे र गीता बिष्ट हुनुहुन्थ्यो । उहाँहरु दुबैलाई आफू ओर्ले जसरी नै ओरालें मैले । त्यसपछि श्रीमतीजी कल्पना मिश्र पनि उसैगरी ओर्लिन् । धेरै मानिस एकैपटक भित्र रहने ठाउँ पनि नभएको र यसरी बस्दा गुफामा अक्सिजनकाे समस्या समेत आउन सक्ने ठानी ओर्लेकाले पूजा र दर्शन गर्दै फर्कने र बाँकी ओर्लने क्रम चल्याे । 

यसैगरी, क्रमशः सती सिलवाल, अञ्जन कट्टेल, मीना कट्टेल, यादवराज मिश्र, मेेधा मिश्र र सरस्वती कट्टेलकाे पनि सहज गुफा प्रवेश भयाे । करिब २५  मिटर लामो गुफामा अलि भित्रपट्टी अर्को सानाे गुफा पनि रहेछ । त्यहाँ गणेशकाे पूजा गरिने मधुभाइबाट जानकारी पाइयो । मैले अलि भित्रसम्म पुगेर नियालें । अँध्यारोका कारण धेरै पर पुग्ने अवस्था भएन । पूजा र गुफा अवलोकन पछि ३:३० मा हामी बाहिर निस्कियाैं । हाम्रो टाेलीका कल्पना अर्याल, नारायणराज मिश्र, शर्मिला मिश्र, मीना अर्याल, शान्ता गाैतम, कल्पना कँडेल र लक्ष्मी कट्टेलले भने गुफा प्रवेश गर्नु् भएन । 

            (गुप्तेेश्वर गुफाकाे धर्मढाेकाबाट निस्कंदै)


यस ठाउँकाे बारेमा हामी अनभिज्ञ थियौं । साँघुरो अँध्यारो गुफाभित्र पसेर गुप्तेश्वर महादेवकाे दर्शन गर्न पाउनु, मधुभाइकाे सहयाेग विना हाम्रालागि सम्भव‌ थिएन । यस दुर्लभ अवसरका लागि हामी सबैले भाइप्रति आभार प्रकट गर्‍यौं । गुफाभित्र पस्न र निस्किन त्यहाँ पहिले गईसकेका मानिसको सहयोग विना निकै कठिन हुने रहेछ ।

गुफाबाट निस्केर साेच्दा, "बाघ बस्छ भनेर गुफामा तारबार लगाएर बन्द गर्ने" परम्परागत चलनकाे पछाडि, बर्षाकाे समयमा पानीको कारण गुफा चिप्लो हुने भएकाले छिर्न सहज नहुने, गुफाभित्र छिरेको पानी निकास अभावले त्यहीँ जम्ने र साे पानी साेसिएर सुक्न निकै समय लाग्ने भएर हाेला कि जस्तो लाग्याे मलाई !

हुन त, माता पार्वतीकाे वाहन भएकोले परापूर्वकालमा महादेव-पार्वती गुफाभित्र रहँदा यहाँ बाघले पहरा दिने गरेको हुनसक्ने मत पनि स्थानीयकाे नभएको हाेइन । तर, जङ्गलकाे बिचमा रहेको गुफामा कहिलेकाहीँ बाघ आउनु कुन अनाैठाे कुरा भयो र ? कुनै जमानामा यस्तै दृश्य कसैले देखेकाले बाघ सम्बन्धि यी किंवदन्ती वा प्रचलन चलेको हुनसक्ने कुरालाई पनि नकारिहाल्न भने सकिएन !

हामी रहँदासम्म पुजारी लगायत कसैलाई देखिएन । यहाँको चकमन्न अवस्था देख्दा, उचित प्रचार प्रसार नहुँदा नजिकको तीर्थ हेलां भए झैँ लाग्याे ! सायद, लगनखेलबाट ३० किलोमिटर नजिकै प्राकृतिकरुपले अलाैकिक गुफा रहेको छ भन्ने थाहा नभएरै हाेला, गुफा हेर्न भनेर उपत्यकावासीहरु प्राय: पोखरा, खाेटाङ्ग लगायतका स्थानमा गइरहेका छन् !  

किंवदन्ती अनुसार, सत्ययुगमा भस्मासुर राक्षसले आफूले पाएकाे वरदानकाे परीक्षण गर्ने क्रममा वरदाता महादेवलाई लखेट्दा महादेव भागेर यही गुफामा आई गुप्तवास बसेका थिए रे ! यसरी ईश्वर गुप्तरुपले बसेको ठाउँ भएकाले यसलाई गुप्तेश्वर भनिएको हाे भन्ने स्थानीयकाे मत छ ।

समुद्र सतहदेखि २५१८ मिटरको उचाइमा अवस्थित यस गुफा हिन्दु र बौद्ध दुबै धर्मावलम्बीकाे आस्थाको स्थल हाे । लामा र झाँक्रीहरू दैवीशक्ति प्राप्तिको आकांक्षाले गुप्तेश्वर महादेवको दर्शन गर्न आउने गरेको पाइन्छ । यहाँको दर्शनले सबै प्रकारकाे संकटबाट मुक्त मिल्ने तथा मनाेकांक्षा पूरा हुने जनविश्वास छ ।

यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमा र माघे संक्रान्तिमा मेला लाग्ने रहेछ । साउनको साेमबार र माघ महिनामा पनि दर्शनार्थीहरु आउने गरेका छन् । बाटो, पिकनिक स्पट, पसल, खानेपानी, बिजुली, सुरक्षा आदिको उचित व्यवस्थापन गर्न सके आन्तरिक थप पर्यटकलाई लोभ्याउन सकिने देखिन्छ । दक्षिणी ललितपुरमा रहेका कालेश्वर लगायतका अन्य देवस्थल सहितकाे एकदिने "गुप्तेश्वर भ्रमण प्याकेज" ल्याएर पनि स्थानीय निकायले यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सक्छन् ।

भाेकले आलसतालस पारिरहेकोले हामी सिंढी चढ्न थाल्यौं । माैसम बिग्रिएर आकाशमा कालाे बादल मडारिन थालेका थिए । माथि आएपछि नवनिर्मित ब्रह्मा, बिष्णु र महेशकाे ४५ फिट अग्लाे भव्य र विशाल मूर्ति अगाडि तस्बिर लियाैं । ब्रह्मा, बिष्णु र महेश भनिएपनि बिष्णुकाे भनिने मूर्ति बुद्धकै  देखिन्थ्यो भने, ब्रह्मा र शिवकाे आकृतिमा पनि बुद्धाकारकै बाहुल्यता थियोे ।  

भारदेउमा निर्मित ४५ फिट अग्लाे त्रिदेव मूर्ति 

भारदेउमा निर्मित ४५ फिट अग्लाे त्रिदेव मूर्ति 

यस क्षेत्र काेन्ज्याेसाेम गाउँपालिकामा पर्ने रहेछ । तामाङ भाषामा काेन्ज्याे भनेकाे देवतासाेम भनेकाे तीन अङ्क बुझाउने कुरा त्यहाँ भेटिएका माइला तामाङबाट थाहा भयाे । यहाँ त्रिदेवकाे मूर्ति बनाएकाे कारण पनि सायद यही नै रहेछ । 

यति जानकारी बटुल्दै गर्दा, उतातिर खानाकाे भाग तैयार भईसकेकाे थियाे । पानी पर्ने संकेत देखिएकोले बाटोकाे अवस्था सम्झेर त्यहाँ धेरै बेर बसिरहन उपयुुक्त ठानेनाैं । छिटोछिटो खाना र चिया खायौं । खाएको फाेहाेर व्यवस्थापन गर्‍यौं । अनि, गुप्तेश्वर महादेवलाई स्मरण गर्दै  ४:५० बजे हाम्रो फिर्ती यात्रा उहीँ बाटो हुँदै सुरु भयाे ।

           (टाेलीका सदस्यहरु खाना खाँदै गर्दा)


फर्कदा ओरालो भएकाले गाडीलाई आउँदाजस्ताे गाह्रो भएन । याे बाटोमा कार, ट्याक्सी र माइक्रो भन्दा फाेरह्विलर वा ठूलाे गाडीमा आउनु सहज हुने महसुुस भयाे । बाताबरणमा अँध्यारोकाे साम्राज्य बढ्दै थियोे । कच्ची बाटो सकिएपछि गाडी फिलिलि कुद्न थाल्यो । टाखेलमा आएर मधुभाइ उत्रिए । हाम्रो यात्राको सहजीकरण गरिदिएकाेमा हामीले पुन: आभार प्रकट गर्‍यौं । रात परिसकेकोले, बिहान आउँदा नै फुपू दिदीलाई भेटेर राम्रो गरेछाैं भन्ने लाग्याे । 

हाम्राे गाडी प्याङ्‌गाउँ, ठेचाे, सुनाकाेठी, सातदोबाटो हुँदै काेटेश्वरतर्फ बढ्दै गयाे । गाैशालामा आईपुग्दा सवारी जाम थियोे । साे जाम छिचोल्दै राति ८ बजे घर आइपुगेर, घरबाट करिव ४० कि.मि. टाढा ललितपुर जिल्लाकाे भारदेउमा पर्ने प्राचीन गुप्तेश्वर महादेवकाे १२ घण्टे राेमाञ्चक र अविस्मरणीय यात्रा सम्पन्न गरियो । 🙏

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: