लघुकथा : हतार
✍️ मुरारीराज मिश्र, "तीन बजे देखि निम्तोमा बाेलाएर पाँच बजिसक्दा पनि बार नखाेल्न त भएन नि !" छिमेकीको छाेराकाे विवाहको पार्टीमा साथीहरूसंग बसेर कुखुराको सपेटाे चपाइरहेकाे महेश एक्कासी भुत्भुतायाे । "साँझ परेकै छैन ! रात सिङ्गै बाँकी छ ! व्यर्थै किन हतारिएकाे हँ तँ !" दिनेशले हाँस्दै साेध्याे । "जरुरी काममा जानु छ, त्यसैले यसाे एकदुई पेग लगाएर निस्किहालुँ भनेको, हतारै भैसक्याे ! तेरो कुरा त छिमेकीले मान्छ क्यार ! बरु, बार छिटै खाेल्ने ब्यवस्था मिला न गएर !" महेशले अनुरोध गर्यो । "अहँ, जान्न म ! एकैछिन कुुर् न, खाेलिहाल्छन् नि ! हैन, हतारिएर हिँडिहाल्नुपर्ने त्यस्ताे कारण चाँहि के पर्यो हँ तेराे ? दिनेशले जवाफसंगै प्रश्न तेर्स्यायाे । "कति कुर्नु भन्या ! अहिले बेलुका पल्लो गाउँमा सत्यनारायणकाे पूजा गराईदिन जानु छ क्या मलाई !" महेशले हतारिंदै भन्याे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लहरा मा प्रेषित