Posts

Showing posts from January 28, 2024

प्रार्थना : थाहा छैन कहिले हान्छ...

थाहा छैन कहिले हान्छ, यमपाशले धक्का ! अहम् त्यागी बाँच्न सिकाैं, मर्नु पर्छ पक्का ।। हुँदैन है संधैभरी, एकैनासकाे दिन । जे हुनु छ भई नै हाल्छ, व्यर्थै चिन्ता किन ? मानिसको जिन्दगी हाे, कुमालेकाे चक्का । सुखदुःख घुमि-घुमि, आउँछ जान्छ पक्का ।। ठूलो-सानाे, धनी-गरीब, किन भेदभाव ? जानुपर्छ खाली हातै, छाेडाैं रिस-राग ।। धाउनु भन्दा- गुम्बा, मन्दिर, मदिना र मक्का । आफैंभित्र खाेज्न थालाैं, ईश्वर मिल्छन् पक्का ।। थाहा छैन कहिले हान्छ, यमपाशले धक्का ! अहम् त्यागी बाँच्न सिकाैं मर्नु पर्छ पक्का ।। ~~~~~~~~~~~ ✍️ मुरामि ~~~~

लघुकथा : हकदार

Image
✍️ मुरारीराज मिश्र, स्वर्गबाट प्रकाशित हुने दैनिक पत्रिकामा खबर छापिए बमोजिम, ताेकिएकाे दिन चित्रगुप्तकाे कार्यालयकाे हलमा मानिस जम्मा हुन थाले ।  एक, दुई ... गरी हजारौं नेपाली थुप्रिए । सानो हलमा त्यतिका मान्छे अटाउने कुरै थिएन । भित्र नअटेपछि आगन्तुकहरुले आयाेजकलाई घेराउ गरे । "सम्मानका लागि बाेलाएर हामीलाई बस्ने ठाउँ समेत नदिने !" भन्दै नारावाजी र ताेड्‌फाेड् समेत हुनथाल्याे । असहज स्थिति र अराजकता बढ्दै गएपछि चित्रगुप्तकाे मध्यस्थतामा वार्ता टाेली बनेर  तत्कालै छलफल सुरु भयो । "हामीले चारजना सहिदकाे सम्मान कार्यक्रम पाे राखेका हाैं त, तपाईंहरुलाई सम्मान गर्ने भनेर कस्ले भनेकाे थियोे र ?" छलफलकाे क्रममा आयाेजकले भने ।  याे सुनेर आन्दोलनकारी टाेलीकाे प्रतिनिधि कड्किंदै बाेल्याे "हामी पनि सहिद हाैं, त्यसैले सम्मानका हकदार हाैं !  लागूऔषध ओसारपसार, डकैती या सवारी दुर्घटनामा, जसरी मरेपनि हामीलाई सहिद घाेषणा गरेकै छ सरकारले !  (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्रकाशित